शनिबार, कात्तिक ३०, २०७६

समाचार

भीमदत्त राजमार्गका मृत्यु स्तम्भ

तराईबाट प्रदेश–७ का सात वटा पहाडी जिल्लाको प्रवेशद्वार कैलालीको गोदावरी पुल तरेर उकालो लाग्नेबित्तिकै सडकका दुवैतिर देखिने स्तम्भले सबैको ध्यान तान्छन् । विभिन्न आकारका स्तम्भमा ठूलो अक्षरमा मानिसका नाम कुँदिएको छ । ती हुन्, मृत्यु स्तम्भ । कैलाली सदरमुकाम धनगढीबाट डडेलधुरा जोड्ने राजमार्गका दायाँ–बायाँ राखिएका छन्, ती स्तम्भ । जसले, सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको स्मरण गराउँछन् । 

भीमदत्त राजमार्गका मृत्यु स्तम्भ
धनगढी- तराईबाट प्रदेश–७ का सात वटा पहाडी जिल्लाको प्रवेशद्वार कैलालीको गोदावरी पुल तरेर उकालो लाग्नेबित्तिकै सडकका दुवैतिर देखिने स्तम्भले सबैको ध्यान तान्छन् । विभिन्न आकारका स्तम्भमा ठूलो अक्षरमा मानिसका नाम कुँदिएको छ । ती हुन्, मृत्यु स्तम्भ ।

कैलाली सदरमुकाम धनगढीबाट डडेलधुरा जोड्ने राजमार्गका दायाँ–बायाँ राखिएका छन्, ती स्तम्भ । जसले, सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको स्मरण गराउँछन् । 

दुई दशकदेखि सडक मर्मतमा खटिएका छन्, कैलाली चुरे गाउँपालिका–३ का ६० वर्षीय रणबहादुर राना । उनी भन्छन्, ‘पुराना धेरै स्तम्भ त भत्किसके ।’ 

एक सय ३० किलोमिटरको राजमार्गको कैलालीमा पर्ने गोदावरी–फलटुडेको ५० किमि क्षेत्रमा सबैभन्दा बढी दुर्घटना भएको उक्त खण्डमा निर्मित मृत्यु स्तम्भहरूले पुष्टि गर्छन् । 

निकै घुमाउरो, चिप्लो सतह रहेको सोही खण्डमा भासुको भीरसमेत पर्छ । त्यहाँ पुग्ने चालक र यात्रु सधैं त्रसित देखिने गर्छन् । 

‘जहाँनेर सडक अप्ठ्यारो छ, त्यहीं मृत्यु स्तम्भ देखिन्छन् । मन त्यसै झसंग हुन्छ,’ धनगढी–अछाम रुटमा चल्ने ना४ख ७९०४ बसका सहचालक सुदीप बिष्ट भन्छन्, ‘कुनै–कुनै स्तम्भमा त मृत्यु भएका मानिसको फोटो नै टाँसिएको छ । त्यो देख्दा मनमा डर पैदा हुन्छ ।’

२०२६ सालमा निर्माण शुरु भएको भीमदत्त राजमार्गमा करिब ५० वर्षमा सवारी दुर्घटनामा परी कतिले ज्यान गुमाए भन्ने यकिन तथ्यांक कसैसँग छैन । दुर्घटनाकै यकिन तथ्यांक नरहेका निकायसँग मृत्यु स्तम्भको आँकडा हुने कुरै भएन । सडक दायाँ–बायाँ करिब डेढ सय स्तम्भ छन् । 

दुई दशकयता ठूला दुर्घटना भएका छन्, उक्त राजमार्गमा । सडक पक्की भएपछि बढी दुर्घटना भएको आसपासका बासिन्दा बताउँछन् । 

२०३३ सालतिर डोजर चालक मैते पुन भासु भीरमा दुर्घटनामा परेपछि उनको स्मृतिमा पहिलो मृत्यु स्तम्भ निर्माण गरिएको अत्तरियाका रामचन्द्र अवस्थी बताउँछन् । उनी सडक विभागमा मेसिन अपरेटर थिए । 

त्यसयता नै हो, दुर्घटनाको दर उकालो लागेको पनि । दुर्घटना कम गर्न सडक किनारामा पर्खाल लगाउनुपर्ने नागरिक आवाज नआएको पनि होइन । त्यही निर्माण नगर्दा दुर्घटना दर कम हुन नसकेको अवस्थीको ठम्याइ छ । 

उक्त खण्डमा हुने करिब ९० प्रतिशत दुर्घटनामा चालकको लापरवाही देखिने गरेको अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरीका निरीक्षक टेकबहादुर जोरा बताउँछन् । राम्रोसँग सवारी चलाउन नजानेका कम उमेरका चालकले तीव्र गतिमा दौडाउँदा दुर्घटना बढेको उनको भनाइ छ । 

धनगढीका बस व्यवसायी पदम सापकोटा भने केही घटनामा चालक दोषि देखिए पनि लामो समयदेखि सडकको स्तरोन्नती नहुँदा दुर्घटना बढेको बताउँछन् । भन्छन्, ‘भीरको बाटो, साँघुरा मोड र खाल्डाखुल्डीका कारण दुर्घटना बढेको हो ।’ 

सोही खण्डमा बढी दुर्घटना हुनुको वैज्ञानिक कारण खोजी गर्नुपर्ने उनको सुझाव छ । निकट भविष्यमा सेती राजमार्ग र धनगढी–दिपायल द्रुतमार्गमा सवारी चाप बढ्ने र भीमदत्त राजमार्गको उक्त खण्डमा दुर्घटना दर कम हुने सापकोटाको ठम्याइ छ । 

तीन वर्षयता लागू गरिएको ‘टाइम कार्ड’को व्यवस्थाका कारण पछिल्ला दिनमा दुर्घटनामा कमि आएको ट्राफिक प्रहरीको भनाइ छ । 
प्रतिक्रिया दिनुहोस्