मंगलबार, मंसिर ३, २०७६

समाचार

प्रदेशमा पर्यटकीय गन्तव्य स्थल बनाइँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक प्रदेशमा पर्यटकीय गन्तव्यस्थल निर्माण गर्ने सरकारले तयारी गरेको बताएका छन्। 

प्रदेशमा पर्यटकीय गन्तव्य स्थल बनाइँदै
जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक प्रदेशमा पर्यटकीय गन्तव्यस्थल निर्माण गर्ने सरकारले तयारी गरेको बताएका छन्। 
भट्टराईले आगामी बजेटमा सबै प्रदेशमा एक÷एक पर्यटकीय गन्तव्यस्थल निर्माण गर्ने गरी रकम विनियोजन गरिने जानकारी दिएका छन्।

नेपाल भ्रमण वर्ष प्र्रवद्र्धन कार्यक्रममा सहभागी हुन आएका भट्टराईले बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन्।
मन्त्री भट्टराईले वर्ष २०२० भ्रमण वर्षको थालनीमात्र रहेको भन्दै आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने सरकारको रणनीति रहेको जानकारी दिए।
‘भ्रमण वर्ष २०२० को थालनी बिहीबार जनकपुरबाट औपचारिक रुपमा सुरु हुँदैछ,’ उनले भने, ‘एक वर्षमा पचास लाख पर्यटक भित्र्याउने लक्ष्य रहे पनि पूर्वाधारको कमीले समस्या देखिएको छ ।’ पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासतर्फ जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

‘पर्यटक आएर मात्र हुत्र, पर्यटकलाई टिकाउनु जरुरी हुन्छ,’ उनले भने, ‘जनकपुरसम्म पुगेका पर्यटकलाई प्रदेशभित्रको अन्य स्थानतर्फ कसरी आकर्षित गर्न सकिन्छ त्यसको वातावरण निर्माणमा जुटौं।’
पर्यटन प्रवद्र्धनका लागि अन्तर प्रदेशीय हवाई सेवा सञ्चालन गर्ने सरकारको तयारी रहेको उनले सुनाए। प्रदेश २ पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको भन्दै उनले प्रदेशको विकासतर्फ संघीय सरकार गम्भीर रहेको बताए।

मैथिली साहित्यकार विद्यापतिलाई मिथिला–मधेशमा मात्र सीमित पारिएको भन्दै उनले भने, ‘विद्यापति मिथिलाको मात्र नभएर देशकै महाकवि हुन्। हामी इलाम, दोलखालगायतका पहाडी जिल्लामा उनको सालिक निर्माण गर्ने तयारीमा छौं।’

प्रदेशमन्त्रीको गुनासो : संघीय सरकारले कर्मचारी पठाएन
कार्यक्रममा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले संघीय सरकारले कर्मचारी नपठाएको आरोप लगाए। उनले वनतर्फका कर्मचारी आफूहरुसँग रहे पनि संघीय सरकारले पर्यटनका कर्मचारी नपठाउँदा विधेयक निर्माणमा समेत समस्या आएको गुनासो गरे।
 
प्रतिक्रिया दिनुहोस्