बिहिबार, मंसिर ५, २०७६

अर्थ

रातो माटो : मानाको ३० रुपैयाँ 

गत वर्ष एक मानाकाे १५ रुपैयाँ रहेकाे राताे माटाे अहिले २५ देखि ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।  

रातो माटो : मानाको ३० रुपैयाँ 
काठमाडौं- राजधानीका सडक तथा पसलमा तिहारकोे चहलपहल बढेको छ। फूलमाला, सप्तरंगी टीका, दियो, ढाका टोपी, मसला, लत्ताकपडा, रातो माटो किनबेच गर्नेको भीड छ।  
गाउँघरतिर दैनिक घर लिपपोतमा प्रयोग हुने रातो माटो काठमाडौंमा भने लक्ष्मीपूजाका दिन मात्रै प्रयोग गरिन्छ।

भक्तपुरकी मैया कार्कीले विगत चार वर्षदेखि तिहारका बेला रातो माटो व्यापार गरिरहेकी छन्। उनी भक्तपुरबाट माटो खनेर काठमाडौंका बजारमा ल्याएर बेच्छिन्।  मैयाँ भन्छिन्, ‘पोहोर भन्दा अहिले माटोको व्यापार बढेको छ।’ 

उनले गत वर्ष तिहारमा १५ हजारको माटोको व्यापार गरेकी थिइन्। उनी भन्छिन्, ‘यस वर्ष २ दिनमै १० हजारको व्यापार भएको छ। गत वर्षभन्दा बढी व्यापार हुने आस गरेकी छु।’

गत वर्ष एक माना माटाको मूल्य १५ रुपैयाँ थियो। अहिले मानाको २५ देखि ३० रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताइन्।  

लक्ष्मीपूजाका दिन आँगन, तुलसीको मठ, घरको मूलढोका हुँदै भण्डारसम्म रातो माटोको घेरा बनाएर पोत्ने चलन छ। गोवद्र्धन पूजा र भाइटीकामा पनि रातो माटो प्रयोग गरिन्छ। 

साँखुका रामेश्वर तुलाधर पनि रातो माटो व्यापारी हुन्। तिहारमा ७ देखि १२ हजारको व्यापार हुने उनी बताउँछन्। रामेश्वर भन्छन्, ‘तिहारखर्च माटो बेचेरै जुट्छ।’ 

रातो माटो व्यापारकै लागि धादिङबाट काठमाडौं आएकी सीता चेपाङ भन्छिन्, ‘हाम्रोतिर जताततै पाइने माटो काठमाडौंमा बिक्री हुँदो रहेछ। साथीहरूले काठमाडौंमा माटोको बिक्री हुन्छ भनेपछि धादिङबाटै माटो ल्याएर बेचेको छु।’ उनले पनि २ दिनमा ५ हजार कमाई भएको बताइन् । 

वरिष्ठ लोकसंस्कृतिविद् तुलसी दिवसका अनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता छ। त्यसैले रातो माटोले पोत्ने गरिएको हो। लक्ष्मीपूजाका दिन घरका झ्याल, ढोका, कोठा, संघार, कौसी, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। 

लक्ष्मी पूजामा आँगनदेखि मूलढोका हुँदै पूजाकोठासम्म चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाइन्छ। लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिन्छ।  
प्रतिक्रिया दिनुहोस्