मंगलबार, मंसिर ३, २०७६

मनोरञ्जन

'सांड की आंख' : साँच्चिकै परीकथा यस्तै हुन्छ !

‘सांड की आंख’ कुनै काल्पनिक कथा हुँदो हो त, यस्तो हुनसक्छ भन्ने कसैलाई विश्वास नै हुँदैनथ्यो ।

'सांड की आंख' : साँच्चिकै परीकथा यस्तै हुन्छ !
यदि तपाईंले अमिर खानको लोकप्रिय टेलिभिजन शो ‘सत्यमेव जयते’ नियमित हेर्नु भएको थियो भने, तोमर हजुरआमाहरुलाई तपाईंले पहिलोपटक यही ‘शो’ मा देखेको हुनुपर्छ । 

करिब ५ वर्षअघि यही शोमा प्रकाशी तोमर र चन्द्रो तोमरले भनेका थिए, उनीहरुको उपलब्धिबारे पत्रिकामा समाचार प्रकाशन भइसक्दा पनि आफ्ना परिवारबाट यो कुरा लुकाउन उनीहरुले त्यसदिनको पत्रिका नै लुकाउनु परेको थियो । 

त्यसबेलाका पत्रिकामा यी हजुरआमाद्वयको कथा पढ्न नपाएकाहरुले ‘सत्यमेव जयते’ मार्फत थाहा पाए र जसले त्यो कार्यक्रम हेर्न पाएनन् उनीहरुसम्म यी हजुरआमाहरुको कथा हिन्दी फिल्म ‘सांड की आंख’ ले पुर्‍याएको छ ।

‘सांड की आंख’ को बारेमा स्पष्ट के भन्न सकिन्छ भने उमेरको वार्धक्यमा पुगेका यी महिलाको गैरपरम्परागत कथा यदि काल्पनिक हुँदो हो त यस्तो सम्भव हुनसक्छ भन्ने कसैले विश्वास गर्ने थिएनन् । त्यस्तो अवस्थामा कोही पनि यस्तो विषयमा फिल्म बनाउन तयार हुँदैनथ्यो होला । 

तर सत्य हो, ६ दशक उमेर पार गरेपछि शुटिंग सिक्ने चंद्रो तोमर र प्रकाशी तोमरले कल्पना पनि गर्न मुश्किल हुने काम गरेरै देखाए । फिल्ममा सत्यको कल्पनाभन्दा बढी नाटकीय लाग्ने र निकै दुस्साहसी तर मनोरञ्जक तमोर हजुरआमाहरुको कथा रोचक तरिकाले देखाइएको छ । 

महिलाको कथा भन्न पुरुषको साहरा लिने परम्पराभन्दा भिन्न ‘सांड की आंख’ ले यी हजुरआमाको कथा कुनै ‘महान निस्वार्थी’ नायकलाई सुम्पिएको छैन । 

‘फिरंगी’ र ‘मुबारकां’ जस्ता फिल्म लेख्ने बलविन्दर जनुजाले ‘सांडकी आंख’ को रुपमा एउटा प्रेरक र भरोषायोग्य पटकथा लेखेकी छन् । 

उनको लेखनले  पात्रहरु मार्फत केही सन्देश दिएको मात्र छैन,  पितृसत्तात्मक व्यवस्था र त्यसमा पन्पिएको खराबीलाई पनि निशाना बनाएको छ । 

यद्यपि, यि सबै विषयलाई संगसंगै अघि बढाउन नसक्दा मध्यान्तरपछिको एउटा भाग बढी नै तन्किएको जस्तो लाग्छ । 

तर पनि फिल्म दर्शकहरुलाई भावुकता, प्रेरणा र मनोरञ्जन दिनमा असफल भने छैन । 

जगदीप सिंधुको संवाद सटिक र मनोरञ्जक छ । 

फिल्मको ट्रेलर रिलिज भएलगत्तै धेरैले कम्तिमा पनि ६० वर्ष उमेर पुगिसकेका महिलाको भूमिका निर्वाह गर्न त्यही उमेरका अभिनेत्रीलाई लिइनु उपयुक्त हुने भनेका थिए । फिल्म हेरिसक्दा पनि लाग्छ संभवतः निना गुप्ता, दीप्ति नवल वा शवाना आजमी जस्ता अभिनेत्रीहरु हजुरआमाको भूमिकाका लागि उपयुक्त हुन्थे की । 

फिल्ममा ग्ल्यामरका लागि उनीहरुको युवावस्थाको भूमिका तापसी पन्नू र भूमि पेडनेकरसँग गराएको भए जाति हुन्थ्यो । 

यस्तो भन्नुको अर्थ तापसी र भूमिको अभिनय कमजोर भयो भन्ने होइन, त्यसको कारण हो, उनीहरुको प्रोस्थेटिक मेकअप । प्रत्येक सिनमा अनुहारको चाउरी फरक फरक देखिनु र कुनै बेला पनि खस्ला कि जस्तो मेकअपले यस्तो सोच्न वाध्य बनाउँछ । 

भूमि पेडनेकरले अपेक्षाकृत आफूलाई सम्हालेरै अभिनय गरेकी छन् तर तापसीको युवापन पटक पटक उनको अनुहार र एक्सप्रेशन्समा झल्किन्छ । यसका बावजुद पनि तापसी र भूमि दुबैले ‘सांडकी आंख’ लाई न्याय गरेका छन् । 

पश्चिमी उत्तर प्रदेशको स्थानीय बोली, आपसी केमिस्ट्री र कतिपय मौकमा उच्चकोटीको एफर्टलेस अभिनयका कारण उनीहरु दर्शकलाई आकर्षित गरिराख्छन् । 

भूमि सम्पूर्ण रुपमा र तापसी केही कम, उनीहरुको फिल्मी चरित्रलाई बिना शर्त प्रेम र इज्जत दिलाउन सफल भएका छन् । 

फिल्ममा पितृसत्ताको प्रतिनिधि र घरको मुखियाको भूमिका निर्वाह गर्ने प्रकाश झाले दर्शकहरुमा गहिरो छाप पार्छन् ।  प्रत्येक पटक जब उनले ‘ये तो होणा ही था’ भन्छन्, उनीप्रतिको दर्शकको आक्रोश थप एक डिग्री बढ्छ । 

हजुरआमाहरुका कोच बनेका विनित कुमारले पनि राम्रो काम गरेका छन् । 

सही टाइमिंगसँगै बज्ने मूड अनुसारका गीतले फिल्मको सौन्दर्य बढाएका छन् । आशा भोसलेले गाएको ‘आसमां’ को प्रस्तुतीले आँखा रसाउँछ । लामो समयपछि फिल्ममा आशालाई सुन्दा पनि बेग्लै मजा आउँछ । 

‘मस्ती’ र ‘हाउसफूल’ सीरीजका फिल्महरु लेखेका स्थापित पटकथा लेखक तुषार हीरानंदानीले यो फिल्मा निर्देशकका रुपमा डेब्यू गरेका छन् । 

‘सांड की आंख’ का माध्यमबाट उनी प्रेरक, मनोरंजक र भावुक फिल्म बनाउन सफल भएका छन्, जसले दीपावलीको छुट्टीलाई सार्थक बनाउन मद्दत गर्छ । 

सत्याग्रहबाट 

 
प्रतिक्रिया दिनुहोस्