बिहिबार, मंसिर ५, २०७६

अर्थ

रुवान्डाको अर्थतन्त्रमा सहकारीको योगदान ३० प्रतिशत 

रुवान्डामा सहकारीले कुल अर्थतन्त्रमा ३० प्रतिशत योगदान दिएको छ। तर, नेपालमा सहकारीले ५ प्रतिशत दिएको छ।

रुवान्डाको अर्थतन्त्रमा सहकारीको योगदान ३० प्रतिशत 
अन्तर्राष्ट्रिय सहकारी महासंघको विश्व सम्मेलनमा रुवान्डाको राजधानी किगालीमा सहभागी भएका विश्वभरका प्रतिनिधिलगायत।
अन्तर्राष्ट्रिय सहकारी महासंघको विश्व सम्मेलनमा यसपटक मलाई पनि पत्रकारका तर्फबाट भाग लिन जाने अवसर जु¥यो। नेपाली टोलीमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल, महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघकै सदस्य रमेशप्रसाद पोखरेल र म थियौं। 

हामी अक्टोबर १२ मा रुवान्डाको राजधानी किगालीमा उत्रियौं। तर, कार्यक्रम सम्मेलन १४ अक्टोबरदेखि थियो। त्यसैले बाँकी समय हामी रुवान्डाको सहकारी अभियानबारे बुझ्न निस्कियौँ। त्यस क्रममा केही सहकारीको अवलोकन भ्रमण र सहकारी अभियन्तासँग अनुभव साटासाट गर्यौं। 

किगाली बहुद्देश्यीय सहकारी संस्थाले काठ कारखाना सञ्चालन गरेको छ। यसले काठका हरेक सामग्री उत्पादन गरी रुवान्डाभर बिक्री गर्छ। सहकारीले काठका सामग्री बनाउन चाहिने कच्चा पदार्थका जंगलको विकास गरेको छ। उसले आफ्ना सदस्यलाई समयसमयमा अध्ययन भ्रमण र तालिमको व्यवस्था गरेको छ। 

सन् १९९० मा रुवान्डा कोअपरेटिभ एजेन्सीमा दर्ता भएको सो सहकारी सन् १९९४ सम्म चल्यो। तर, गृहयुद्धका कारण सहकारीका अधिकांश सदस्य मारिए। सहकारी बन्द भयो। १९९७ पछि फेरि सञ्चालनमा आयो। सहकारीले सन् २०१५ सम्म हातैले काठका सामग्री बनाउँथ्यो। २०१५ मा राष्ट्रपति पल कागामेले सो सहकारीको भ्रमण गरेपछि सरकारले काठ कारखानाका लागि अत्याधुनिक मेसिन उपलब्ध गरायो। सो सहकारीले सञ्चालन गरेको काठ उद्योग रुवान्डाकै सबैभन्दा ठूलो उद्योग हो। यसले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएको छ।
 
अर्को सहकारी हाउजिङ सिल्भिया कोअपरेटिभ लिमिटेडले हाउजिङमा लगानी गरेको छ। सो सहकारीले ४७ सय कोठाको हाउजिङ निर्माण गरेको छ। गृहयुद्धपीडित ४७ सय परिवारलाई हाउजिङमा आश्रय दिएको सहकारीका अधिकारीहरूले बताए। सो हाउजिङ निर्माणका लागि सहकारीलाई राज्यले जमिन उपलब्ध गराएको थियो। सहकारीले हार्डवेयर व्यवसाय पनि गरिरहेको छ। सहकारीले घर आफैं बनाउँछ भने सहकारी सदस्य नै कामदार छन्। सहकारीमा ४५ लाखले रोजगारी पाएका छन्। 

यी दुई सहकारी त उदाहरण मात्र हुन्। रुवान्डामा सहकारीले कुल अर्थतन्त्रमा ३० प्रतिशत योगदान दिएको छ। तर, नेपालमा सहकारीले ५ प्रतिशत दिएको छ। रुवान्डामा ३८ लाख १६ हजार ५९१ मानिस सहकारीका सदस्य छन्। नेपालमा ६४ लाख मानिस सहकारीका सदस्य छन्। रुवान्डाको कुल जनसंख्या एक करोड २० लाख छ। नेपालको जनसंख्या २ करोड ८० लाखभन्दा बढी रहेको तथ्यांक छ। रुवान्डामा ८ हजार ९९५ वटा सहकारी संस्था छन्। नेपालमा सहकारीको संख्या ३४ हजार ७ सय छ। 

गृहयद्धअगाडि रुवान्डाको सहकारी अभियान कमजोर थियो। युद्धले थङथिलो भएका मानिसमा एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने चेतना भयो र सहकारी अभियानले गति लियो। सन् २००६ मा सहकारी अभियानले मूर्त रुप लियो। सहकारी प्रवद्र्धनका लागि विभिन्न संघ र युनियन सक्रिय भए। उनीहरुले सहकारीमार्फत आर्थिक वृद्धि कसरी हुन्छ र यसले मूल्य शृृंखलामा कसरी असर गर्छ भनेर सरकारलाई बुझाउन सफल भए। परिणामस्वरूप सन् २००६ मा रुवान्डामा पहिलोपटक सहकारी प्रवद्र्धनका लागि सहकारी नीति पास भयो। 

सहकारीले लैंगिक असमानता कम गर्न र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका खेलेको त्यहाँको आईसीए अफ्रिकाकी क्षेत्रीय सञ्चालक डा.चियोगी सिफाले जानकारी दिइन्। यस्तै व्यापार तथा उद्योगमन्त्री सोराया हाकुजियारेमैले सहकारीले सामाजिक आर्थिक रुपान्तरण र दिगो विकासमा ठूलो भूमिका खेलेको दाबी गरिन्।  

रुवान्डामा रुवान्डा राष्ट्रिय सहकारी महासंघ, १५ वटा विषयगत सहकारी संस्था छन् भने १४२ वटा जिल्ला संघ छन्। तीमध्ये २७% कृषि, १८.४% पशुपक्षी, १३.४% व्यापार, १०.१% सेवा १०.९% हस्तकला, १.८% हाउजिङ, १.३% खानी, १.१% यातायात १% माछापालन र अन्य २.२% छन्। रुवान्डामा बचत तथा ऋण सहकारी ५.३ प्रतिशत मात्र छन्।
 
रुवान्डाको सहकारीमा पुरुष ५९.१ प्रतिशत र महिला ४०.९ प्रतिशत सहभागी छन्। नेतृत्व तहमा महिलाकै वर्चस्व छ। रुवान्डामा सहकारीका लागि कर छुटको व्यवस्था छैन। १० करोड रुवान्डान फ्रान्स (रुवान्डाको मुद्रा) भन्दा माथि कारोबार भएपछि कर लाग्ने व्यवस्था छ। एक लाख ८ हजार भन्दा बढी कारोबार भएमा ३० प्रतिशतका दरले कर तिर्नुपर्ने व्यवस्था छ। 

सहकारी दर्ता प्रक्रिया

सदस्यहरुको भेलाले दर्ता गर्ने निर्णय गरेपछि सदस्यको नामावली, संस्थाको नाम, विधान, आन्तरिक नियमन विधि, दर्ता शुल्क तिरेको प्रमाण र सहकारी सञ्चालकको शपथ खुवाएको पत्रसहित सहकारी अधिकृतकहाँ गएर निवेदन दिनुपर्छ। उसले सम्पूर्ण कागजपत्र रुजु गरेपछि ७ दिनमा स्वीकृति दिन्छ। त्यसपछि फाइल जिल्ला सहकारी अधिकृतकहाँ जान्छ। त्यहाँबाट १५ दिनभित्र रुवान्डा कोअपरेटिभ एजेन्सीमा फरवार्ड गरिन्छ। त्यहाँबाट पास भएपछि मात्र संस्था दर्ता हुन्छ। 
 
प्रतिक्रिया दिनुहोस्