बिहिबार, मंसिर ५, २०७६

अर्थ

७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर

इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धुलो धुवाँका कारण दीर्घ रोग लाग्ने बारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरु रहेको पाइएको छ। 

७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर
काठमाडौं- इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धुलो धुवाँका कारण दीर्घ रोग लाग्ने बारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरु रहेको पाइएको छ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले काठमाडौं उपत्यकाका इँटा भट्टाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र न्यूमोनिया भएको देखिएको छ। 

सो सम्वन्धमा शुक्रवार आयोजना गरेको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्वन्धी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोजीजूले भने,‘नेपालमा व्यवसायजन्य दुर्घटनामा वर्षेनी २ सयभन्दा वढीको मृत्यु हुन्छ तर विभाग वा मन्त्रालयमा रिपोर्ट नै आउँदैन।’

हरेक उद्योग प्रतिष्ठानले श्रम अडिट र व्यवसायजन्य स्वास्थ्यमा वर्षेनी अडिट गरेको खण्डमा मजदुरहरुको स्वास्थ्य र जीवन सुरक्षित हुने उनको कथन थियो। 

मजदुरहरुमा सचेतना नहुँदा व्यवसायजन्य सुरक्षा नभएको र रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न नसक्दा धेरै मजदुरहरु अंगभंग भइरहेको उनले जानकारी दिए। 

उनले भने, ‘उद्योग प्रतिष्ठानमा दुर्घटना भइ मजदुर अशक्त भएमा वा व्यवसायजन्य रोग लागेमा उनले खाइपाइ आएको ६० प्रतिशत बराबरको मासिक पेन्सन दिनु पर्ने प्रावधान छ। यसैंले यो अवस्था आउनै नदिनका लागि उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनुपर्छ। ’

अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदुरहरुको स्वास्थस्थिति भयावह रहेको र मजदुरहरुले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको बताए। 

उनले भने, ‘६९.५ प्रतिशत मजदुरले कामकै कारण स्वास्थ्य विग्रिएमा उपचार खर्च आफैले व्यहोर्दै आएको र दुर्घटना भएको अवस्थामा पनि रोजगारदाताले केही अंश मात्र व्यहोर्दै आएका छन्। ’

अध्ययनमा सहभागी ३२.५ प्रतिशत उद्यमीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका बारेमा जानकारी नै नभएको र ७.५ प्रतिशतले यससम्वन्धमा सुन्दै नसुनेको पाएको उनले बताए।

मजदुरहरुको वासस्थान ४ फिटभन्दा अग्लो नभएको र भुइँको चिसोमा सुत्न भएको पनि उनले अध्ययनको क्रममा पाएको बताए। शौचालय पनि अव्यवस्थित र खानेपानी पनि स्वस्थकर नभएको पाइएको अध्ययनकर्ता दुवालले जानकारी दिए। 

कार्यक्रममा नेपाल इँटा उद्योग व्यवसायी महासंघका महासचिव केपी अवालले इँटाभट्टामा मजदुरहरु मौसमी हुने गरेकाले र वर्षेनी कामदार फेरिने गरेकाले श्रम ऐन अनुसार मजदुरहरुलाई बुझाउन गाह्रो भइरहेको बताए। उनले भने,‘ सरकारको नीति नियम एकातिर छ र वस्तुस्थिति अर्कै हुँदा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न समस्या भइरहेको छ।’

इँटा भट्टाबाट हुने प्रदुषण अत्यन्तै कम भइसकेको र सरकारी मापदण्डअनुरुप काम भइरहेको बताउँदै उनले ५ ओटा प्रदेशमा इँटा प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको बताए। व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा इँटा उद्योग महासंघ एकदमै संवेदनशील रहेको र यसमा सवैपक्षको उत्तिकै सहयोग आवश्यक रहेको उनको टिप्पणी थियो।

व्यवसायमा संलग्न भएकै कारण काम वा पेशाको प्रकृति अनुसारको लाग्ने अल्पकालिन तथा दिर्घकालिन विभिन्न रोगहरु व्यवसायजन्य रोग भएको जानकारी दिए। यस्तो किसिमको रोग बैंकमा काम गर्ने कर्मचारीदेखि उद्योगमा काम गर्ने मजदुरसम्मलाई लाग्ने जानकारी उनले दिए। 

जनस्वास्थ्य अभियन्ता प्राडा शरदराज वन्तले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका सम्वन्धमा नेपालमा खासै अध्ययन नभएको र रेस्फेकले गरेको अध्ययन नीति निर्मातादेखि मजदुरसम्मका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए।
प्रतिक्रिया दिनुहोस्