बुधबार, कात्तिक २७, २०७६

विचार

गोयबल्सको प्रचारजस्तो समृद्धिको भाषण

चीनका राष्ट्रपतिले दिएको सन्देश हो– नेपाली सपना बुन्छन्, योजना बनाउँछन् तर कार्यान्वयन गर्दैनन्। यसलाई बदल्न नेपाल सरकारको इमानदार प्रयत्नको खाँचो छ।

गोयबल्सको प्रचारजस्तो समृद्धिको भाषण
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि सरकार ज्यादै उत्साहित देखिन्छ। केही दशकअघिसम्म अमेरिका र रुसका राष्ट्रपति आउँदा नेपाली शासक गर्व गर्थे। समय परिवर्तनसँगै अमेरिका र चीनले सद्भाव राखेका देशहरुले आफूलाई भाग्यमानी देख्न थालेका छन्।

चीनले नेपाललाई जुन सद्भाव देखायो, त्यो अत्यन्त सराहनीय छ, नेपाली जनताले धन्यवाद दिनैपर्छ।  भ्रमण सफल बनाउन सक्रिय सरकार तथा अन्य सबै पक्ष कदरयोग्य छन्। तर चीनका राष्ट्रपतिको भ्रमण सकिएलगत्तै प्रधानमन्त्री र सञ्चारमन्त्रीले दिएका वक्तव्यले नेपाली जनतामाथि मजाक गरेको अनुभूति हुन पुगेको छ।

प्रधानमन्त्री भन्छन्– ‘नेपाल समृद्धिको मार्गमा अघि बढिसकेको छ, जनताले समुन्नतिको अनुभूति गर्न थालेका छन्।’ सञ्चारमन्त्री भन्छन्– ‘नेपालीको सपना योजनामा बदलिएका छन्। मुलुकले अग्रगति लिन्छ।’

विदेशी राष्ट्रप्रमुख र तिनका प्रतिनिधिले नेपालको भ्रमण गरेको यो पहिलोपटक होइन। नेपालले सहयोग र आश्वासन प्राप्त गर्न थालेको लामो समय बितिसकेको छ। वैदेशिक सहायताले नै देश माथि उठ्ने भए आव २०१६–१७ मा करिब १३९५ मिलियन डलर नेपालले मित्रराष्ट्रबाट प्राप्त गरेको थियो।

त्यसअगाडिका ६ वर्षमा ९६० देखि ११०० मिलियन डलरसम्म नेपाललाई वार्षिक रुपमा प्राप्त भएको थियो। यसबाट के पुष्टि हुन्छ भने विदेशबाट अनुदान, ऋण या सहयोग लिएर मात्रै देश उन्नतिको मार्गमा अग्रसर हुन सक्दैन। देश र जनतालाई समृद्ध बनाउने आफैँले हो।

भगवान् कृष्णले अर्जुनलाई भनेका थिए– मैले गर्नु पर्ने कुनै कर्म बाँकी छैन, न त मैले प्राप्त गर्नुपर्ने कुनै चिज बाँकी नै छ तथापि म निरन्तर कर्मशील छु। 

अमेरिका, चीन जस्ता राष्ट्रले हासिल गर्नुपर्ने कुनै कुरा बाँकी नभए जस्तो लाग्छ तर पनि ती राष्ट्रका शासक तथा जनता तल्लीन भएर देश, समाज तथा व्यक्तिगत उन्नतिमा क्रियाशील देखिन्छन्। कृष्णले नै भनेका थिए – मैले कर्म छाडेँ भने सबै लोक नासिने सम्भावना हुन्छ, यसो गरेमा म प्रजालाई नाश गर्ने व्यक्ति हुन जानेछु, त्यसैले कर्म गरी रहन्छु। 

कृष्णले कर्तव्य पालना नगर्दा जगतै नासिन्थ्यो भने प्रधानमन्त्री कर्तव्यच्यूत भए देश भासिन्छ। तसर्थ भाषण भन्दा कर्ममा तल्लीन हुन पद, योग्यता, क्षमता र दक्षताअनुरुप सबै सक्रिय हुन आवश्यक छ।

विभिन्न मठ मन्दिर अगाडि माग्ने बसेका हुन्छन्। भक्तजनले तिनीहरुलाई पैसा या खाद्यान्न केही न केही दिएकै हुन्छन्।  तर तिनीहरुको जीवनस्तर कहिल्यै उठेको देखिँदैन। दैनिक गुजारा मात्र चलिरहेको हुन्छ। राष्ट्रिय अर्थतन्त्रमा पनि त्यही नै हो। हामी आफैंले विकासको मार्ग कोर्न सक्यौँ भने मात्र सफलता हात लाग्ने हो अन्यथा भिखारीको भन्दा भिन्न परिचय स्थापित हुन सक्दैन।

सरसर्ती हेर्दा केही बाटाघाटा बनेका छन्, ठूल्ठूला भवन बनेका छन्, सडकमा करोडौँ पर्ने गाडी दौडेको देखिन्छ। नेपालीहरु धनी भएको अनुभूति हुन सक्दछ तर कति प्रतिशतले यो सुविधा भोगेका छन् त भन्ने प्रश्न गम्भीर छ। महँगा शैक्षिक संस्था र स्वास्थ्य संस्था प्रशस्तै देखिन्छन तर, तिनमा कति जनताको सहज पहुँच छ भन्ने मूल्यांकन नगरी नेपाली जनता समुन्नत भए भन्नु अभद्र मजाक नै हुन्छ।

बीस वर्षअघि तीन तोला सुन किनेर छोराछोरीको बिहे गर्न सक्ने अभिभावकको हैसियत आज त्यही परिमाणमा सुन किन्न सक्ने छ कि छैन? तीन दशकअघि एउटा अधिकृतको तलबले एक परिवार जेनतेन दुई छाक खाएर छोराछोरी पढाउन पुग्थ्यो भने आज त्यही तहको अधिकृतको तलबले कति धान्छ? यो निम्न मध्यम बर्गको कुरा भयो। तल्लो तहको जीवन यापन गरी रहेका जनताको अवस्थामा कति परिवर्तन आएको छ ? समृद्धिको मापन त्यहीँबाट सुरु गरिनुपर्दछ। 

विदेशबाट आएको सहयोग रकम प्रयोग गर्ने निकायलाई ‘आयोजना’ नाम दिने गरिएको छ। आयोजनाको प्राथमिकता सुविधा सम्पन्न गाडीहरु मगाउने हुन्छ। आयोजना सम्पन्न गर्न दाताराष्ट्रबाटै माथिल्ला तहका दर्जनौँ कर्मचारी आउँछन् र तिनको तलब डलरमा तोकिन्छ।

गाडी विदेशको, लाखौँ तलब प्राप्त गर्ने कर्मचारी विदेशकै हुँदा आएको सहयोगको ठूलो हिस्सा विदेशमै जाने गरेको हाम्रो भोगाइ छ। त्यहाँ काम गर्न मौका प्राप्त गर्ने केही सीमित नेपाली कर्मचारीको तलबभत्ता अस्वाभाविक हुन्छ। बचेखुचेको केही रकम मात्र जनताका लागि प्रयोग हुन्छ। 

काठमाडौँकै बिरामीले अस्पतालमा आईसीयू कक्ष खोज्नुपर्‍यो भने निजी अस्पतालमै पुग्नुपर्दछ। वीर, त्रिवि शिक्षण जस्ता अस्पतालमा अपरेसनका लागि कति समय कुर्नुपर्दछ ? प्रधानमन्त्री, मन्त्रीहरुलाई निश्चय नै जानकारी होला। जिल्लाजिल्लाबाट राम्रो उपचारका लागि राजधानी आएर सरकारी अस्पतालमा बेड नपाएर निजी अस्पतालमा उपचार गराई घर फर्कँदा भएभरको जायजेथा बेच्न परेका घटना सरकारमा रहेका सबैलाई थाह नै होला। 

मजदुरीका लागि वर्षौँदेखि जसरी खाडीको यात्रामा नेपालीको लर्को जान्थ्यो, आज पनि त्यो घटेको छैन। सुदूरपश्चिमका युवा रोजगारीको खोजीमा भारततर्फ जान बाध्य छँदैछन्। नेपालमै भविष्य देखेर विदेशबाट स्वदेश फिर्ती भएको कुनै युवा देखिएको छैन। ठूला उद्योगहरु खुल्न सकेका छैनन्। कसरी देश समृद्धिको यात्रामा छ भन्ने ? जबसम्म सरकारले युवाहरुमा आफ्नो भविष्य स्वदेशमै सुनिश्चित देख्दैननु तबसम्म समृद्धि भाषणमा मात्रै रहन्छ।

जर्मनीमा हिटलरका प्रोपागान्डा मन्त्री थिए– जोसेफ गोयबल्स। उनको काम नै प्रोपागाण्डा मच्चाउनु हुन्थ्यो। कुनै असत्य कुरालाई सयौं पटक  पनि सत्य हो भन्ने हो भने त्यो सत्य हुन पुग्छ भन्ने उनको मान्यता थियो। हिटलरकै चाहनाअनुसार हिटलरको पतनपछि एक दिनका लागि गोयबल्स जर्मनीका चान्सलरसमेत बनेका थिए। लगत्तै उनले आफ्ना छ सन्तानलाई विष हालेर मारे र पत्नीका साथै उनले समेत आत्महत्या गरे। सायद, झूटप्रतिको पश्चात्तापले हो कि ?

अरू मन्त्रीहरूले नेपाल समृद्धिको मार्गमा छ भन्ने गरेको त्यति सुनिँदैन, लाजको मात्रा केही भएर हो कि ? प्रधानमन्त्री र सञ्चारमन्त्रीको एकोहोरो भनाइ आइरहन्छन्। जनतामा उत्साह वृद्धिका लागि यसरी भनिएको हो भने त्यसलाई सकारात्मक रुपमा लिनु पर्दछ।

निराशाका कुरा मात्र गरी रहँदा मानिस डिप्रेसनमा पुग्दछ। यसबाट बचाउने प्रयास हो भने प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्दछ। होइन, सत्तामा टिकी रहन झुट कुरा मात्र गर्ने बानी परेको हो भने नेपाली जनताबाट कहिल्यै क्षम्य हुँदैन।

सरकार साँच्चै इमानदार छ भने, विदेशिएका युवालाई नेपालमै बस्ने वातावरणको सृजना गर्नुपर्दछ। बिचौलियाको अन्त्य गरी कृषकले सही मूल्य प्राप्त गर्ने अवस्था सृजना गरेमा नेपालका खेतीयोग्य जमिन बाँझा हुने थिएनन्। 

नेपाली जनताको उद्यमबाट उत्पादित वस्तु बजारमा नबिके सरकारले जिम्मा लिने व्यवस्था गरियो भने पनि विदेशिएका आधा युवा स्वदेश फर्किन्छन्। यसो भएमा आयात घटी आर्थिक विकासमा सहयोग पुग्दछ।

युवा बिनाको देशको विकास सम्भव हुँदैन। भाषणमा मात्र होइन, कार्यान्वयनमै नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउने हो भने विदेशिने युवालाई नेपालमै रोक्ने योजना ल्याइयोस्। चीनका राष्ट्रपतिले दिएको सन्देश पनि त्यही हो– नेपाली सपना बुन्छन्, योजना बनाउँछन् तर कार्यान्वयन गर्दैनन्। यसलाई बदल्न सरकारको इमानदार प्रयत्नको खाँचो छ।
प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप