मंगलबार, मंसिर ३, २०७६

खेलकुद

नेपाल तजिकिस्तानसँग पराजित

एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ। बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोलले पराजित भएको हो।

नेपाल तजिकिस्तानसँग पराजित
इरान - एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ। बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोलले पराजित भएको हो।
 
पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो। सुरुवाती समय देखि निकै नै दबाबमा देखिएको नेपालले पहिलो हाफमा तजिकिस्तानको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो। तजिकिस्तानका खेलाडीले बारम्बार नेपालको पोस्टमा आक्रमण गरिरहँदा गोलरक्षक सुमित कुमार आलेले केही उत्कृष्ट बचाउ गरेका थिए। तर, दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै ताजिकिस्तानका खेलाडीले थप तीन गोल गर्दा उनको स्थानमा अनिस श्रेष्ठ मैदान प्रवेश गरे। दोस्रो हाफको पहिलो मिनेटमा नै ताजिकिस्तानले गोल गर्दै नेपालमाथी ४-० को अग्रता बनायो। त्यसपछी चौथो मिनेटमा दुई गोल गर्‍यो। 

पहिलो हाफ भन्दा दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको नेपालले केही अवसरसमेत श्रृजना गरेको थियो। तर पाएको अवसरलाई नेपालले सही सदुपयोग गर्न सकेन।

पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै सह-प्रशिक्षक गौरभ बस्नेतले नेपाली खेलाडीको प्रदर्शनमा आफू खुसी भएको बताए। 'हामीले अन्तर्राष्ट्रिय फुटसल खेल्न थालेको दुई वर्ष मात्र भएको छ। पछिल्लो नतिजासँग यो नतिजालाई हेर्ने हो भने नतिजामा सुधार आएको मान्नु पर्छ', सह-प्रशिक्षक बस्नेतले भने, 'ताजिकिस्तानसँग हामीले धेरै सिक्ने मौका पायौं। यस खेलमा सिकेका कुरा अर्को खेलमा प्रयोग गर्ने छौं।'

त्यस्तै ताजिकिस्तानका प्रशिक्षक डिजान डेडोभिकले पनि नेपाली टिमको प्रदर्शन राम्रो रहेको बताए। 'सुरुवाती समयमा नेपालको डिफेन्स उत्कृष्ट थियो। तर पहिलो हाफको अन्त्य तिर नेपालको डिफेन्स कमजोर हुँदा हामीले फाइदा लियौं,' ताजिकिस्तानका प्रशिक्षक डेडोभिकले भने।

सेन्टर तथा दक्षिण एसियाली छनोटको समूह ए मा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ। यता खराब सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बिहीबार उज्वेकिस्तानसँग खेल्ने छ।
प्रतिक्रिया दिनुहोस्