बुधबार, कात्तिक २७, २०७६

समाचार

राजपा-समाजवादी एकीकरण : वरियतामा विवाद

लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीचको एकीकरण नयाँ मोडमा पुगेको छ।

राजपा-समाजवादी एकीकरण : वरियतामा विवाद
काठमाडौं - लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीचको एकीकरण नयाँ मोडमा पुगेको छ।

तिहारअघि नै एकीकरण घोषणा गर्ने तयारीमा रहेका दुवै पार्टीका शीर्ष नेताहरुको शुक्रबार राति भएको छलफलपछि एकीकरण केही दिनका लागि पर धकेलिएको हो।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा भएको छलफलमा यादव, बाबुराम भट्टराई र राजपाका तर्फबाट राजेन्द्र महतो सहभागि थिए। बैठकमा राजपा संयोजक महन्थ ठाकुर सहभागी हुने भनिए पनि स्वास्थ्यमा समस्या आएपछि ठाकुर छलफलमा सहभागी हुन सकेनन्।

यसैगरी, शुभकामना तथा चियापान कार्यक्रममा सहभागी हुन सुनसरी गएकाले अशोक राई पनि बैठकमा सहभागी हुन सकेनन्।

बैठकमा समाजावादीको तर्फबाट नयाँ प्रस्ताव आएको थियो, जसलाई महतोले पार्टीभित्र छलफल गर्ने भन्दै पन्छिए। प्रस्ताव थियो– 'शीर्ष तहमा जातीय कलस्टर मिलाउने।'

यसअघि एकीकृत पार्टीको पहिलो वरियतामा महन्थ ठाकुर रहने अडान राजपाको थियो।  तर, समाजवादीले बाबुराम भट्टराईलाई पहिलो वरियतामा राख्ने प्रस्ताव गरेको थियो। 

तर, शुक्रबारको बैठकमा ठाकुर पहिलो वरियतामा रहने विषयमा दुवै पक्ष सहमत भए। त्यससँगै चौथो वरियतामा रहने भनिएका राजेन्द्र महतोलाई पाँचौमा राखेर चौथोमा अशोक राईलाई राख्ने प्रस्ताव समाजवादीले राख्यो। 

आदिवासी जनजाति कलष्टरबाट अशोक राईलाई चौथो वरियतामा राख्नु पर्ने प्रस्ताव उपेन्द्र यादवको थियो। 

वरियता क्रममा एक स्टेप तल झरे पनि महतोलाई संसदीय दलको नेताको जिम्मेवारी दिने विषयमा सबै सहमत थिए।

शुक्रबार राति भएको छलफल अनुसार वरियताक्रममा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो क्रमशः रहने प्रस्ताव गरिए पनि महतोले यसमा सहमति जनाइसकेका छैनन्। 

शुक्रबार रातिको छलफल सकारात्मक भन्दै अब छठपछि फेरि छलफल गरी एकीकरणको विषय टुंग्याउने नेताहरुबीच सहमति भएको छ।

समाजवादीले कार्तिक अन्तिम साता बोलाएको केन्द्रीय समितिको बैठकबाट दुई पार्टीबीच एकीकरणको प्रस्ताव अनुमोदन गराउने तयारी गरेको थियो। यसैक्रममा पार्टीका आदिवासी जनजाति नेताहरुले असन्तुष्टि जनाएपछि वरियता क्रममा अशोक राईलाई माथि राख्ने प्रस्ताव गरिएको हो।

समाजवादीले केन्द्रीय समिति बैठक अघि पनि पुनः राजपासँग छलफल गर्ने जनाएको छ। 

राजपाको तयारी

राजपासँग एकीकरणको विषयमा छलफल भइरहँदा समाजवादीले भने आफ्नो पार्टीको समायोजन तथा समितिहरु गठन प्रक्रियालाई निरन्तरता दिइरहेको छ।

यता संगठनको काममा निस्क्रियजस्तो रहेको राजपाले पनि आफ्नो सांगठनिक क्रियाकलापलाई अगाडि बढाउने तयारी थालेको छ।

यसअघि कार्तिक २८, २९ र ३० गतेका लागि तोकिएको महाधिवेशन हुने सम्भावना टरेपछि राजपाले वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको तयारी थालेको छ।

पर्सी शुक्रबार हुने राजपा अध्यक्ष मण्डलको बैठकमा उक्त प्रस्ताव राखिनेछ।

कार्तिक महिनाको अन्तिम साता पदाधिकारी बैठक बोलाउने तयारी गरेको राजपाले उक्त बैठकमा अधिवेशनका विषयमा निर्णय गर्ने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्