मंगलबार, कात्तिक २६, २०७६

समाचार

गृहयुद्धको पीडाबाट उठेर मुस्काउँदै रुवान्डा

मेरो नाम मारियटा। अहिले म ५० वर्षकी भएँ। २५ वर्ष अगाडिको त्यो भयावह साँझ मलाई राम्रोसँग याद छ।

गृहयुद्धको पीडाबाट उठेर मुस्काउँदै रुवान्डा
रुवान्डा - मेरो नाम मारियटा। अहिले म ५० वर्षकी भएँ। २५ वर्ष अगाडिको त्यो भयावह साँझ मलाई राम्रोसँग याद छ।

त्यसदिन साँझ हामी परिवारका सबै १० जना घरमै बसेर गफिइरहेका थियौं। बाहिर कल्याङमल्याङ सुनियो, पर्दा उघारेर हेर्दा छिमेकीहरु देखेपछि मैले ढोका खोलिदिएँ। उनीहरुले हतियार लुकाएर ल्याएका रहेछन्। भित्र छिर्नेवित्तिकै जेठा दाइलाई खुँडा प्रहार गरेर ढालिदिए। त्यसपछि भकाभक सबैलाई सिद्ध्याउँदै गए। म खाटामुनी लुकें।

नजिकै ठूल्दिदी लडेकी थिइन्, रगतले लतपत। उनको रेटिएको शरीरबाट बगेको रगतले मेरो अनुहार लछप्पै थियो। सम्पूर्ण परिवारको हत्या गरेपछि मलाई पनि मरेको ठानेर उनीहरु गए। त्यसको लामो समयसम्म पनि म हलचल गर्न सकेकी थिइन। पछि रेडक्रसका मानिसहरु आएर मेरो उद्धार गरे। 

विक्षिप्त थिएँ म। रेडक्रसको सेल्टरमा मजस्ता पीडितको घुइँचो लाग्न थालेको थियो। सबैको अनुहारमा उस्तै त्रास, पीडा र बदलाको भावना। हामीलाई काउन्सिलिङ गर्न विभिन्न संस्थाका मानिसहरु आउँथे। जहिल्यै सकारात्मक सोच्न र क्षमा दिन हामीलाई प्रेरित गरियो। 
करिब १० लाख नागरिक मारिएको युद्धले थिलोथिलो भएको रुवान्डा राष्ट्रपति पल कागामेको नेतृत्वमा तीव्र विकासको बाटोमा अघि बढेको छ।
दिन, महिना हुँदै वर्षहरु विते। युद्ध रोकियो। मैले आफूजस्तै पीडितसँग विवाह गरें। अहिले म अस्पतालमा जागिर गर्छु। तर अझै पनि नरसंहारको त्यो दिन सम्झदा अत्यास लाग्छ। मेरो शरीरका धेरै अंगहरुले काम नगरेजस्तो अनुभूति हुन्छ। म अझै ‘जीवन’ खोजिरहेकी छु। 

मुलुकमा शान्ति स्थापना गर्नमा राष्ट्रपति पल कागामेको ठूलो भूमिका छ। दोषिलाई क्षमा दिन र हामीलाई सकारात्मकतातर्फ प्रेरित गर्न कागामेले ठूलो प्रयास गरेका छन्। उनीहरु सबैलाई भगवान्ले कल्याण गरुन्। 

अफरोलक्स केनेडी सन् १९९४ मा म तीन वर्षको थिएँ। एक दिन विहानै घरका सबै हतार हतारमा देखिन्थे। यताउता दगुरिरहेका। केही बेरमा आमाबुवा मिठाई ल्याइदिउँला भन्दै हतारहतार निस्कनुभयो। कहाँ जानुभयो भन्ने मलाई अहिलेसम्म थाहा छैन। त्यसको केही दिनपछि, केही मानिसहरुले मलाई पनि लगे। बुवाआमालाई भेट्न पाउने आशामा थिएँ तर, अझै भेट भएको छैन। अझैपनि मलाई आमा मिठाई बोकेर आउनुहुन्छ की जस्तो लाग्छ। त्यसबेलाको जातीय नरसंहारबाट बच्न कतै लुक्दै गर्दा मेरा सबै आफन्त मारिए भन्ने अनुमान गर्छु। 

अहिले म राजधानी किगालीको होटेल टु थाउजेन्डमा काम गर्छु। आम्दानी राम्रै छ, श्रीमती र दुई सन्तानको भरणपोषण राम्रैसँग भइरहेको छ। 

तर पनि, आफन्त भइदिएको भए अवस्था बेग्लै हुन्थ्यो जस्तो लाग्छ। आफू एक्लिएको घटना र त्यसपछिका दर्दनाक समय सम्झेर एक्लै रुन्छु। जे हुनु भइसक्यो, अबको मेरो सपना एउटा सानो घर बनाएर स–परिवार त्यसमै बस्ने हो। 

१९९४ को दुई जातीय समुदायको युद्धमा पेट्रिकले पनि आफ्ना बुवा गुमाए। उनका बाबुलाई अर्कै समुदायकी महिलासँग विवाह गरेको भन्दै आफन्तले नै हत्या गरेका थिए।

त्यसबखत पेट्रिक तीन वर्षका थिए र आमा गर्भवती थिइन्। पेट्रिक भन्छन्, “गर्भवती भएकाले आमालाई मारेनन् तर, बुवालाई उहाँका भाइले नै हत्या गरे।” 

अहिले उनी किगाली कन्फेरेन्स हलमा सफाई कर्मचारी छन्। भन्छन्, “म अब नयाँ परिवारको खोजीमा छु।”
 
सय दिनमा १० लाखको हत्या

तुत्सी र हुतु समुदायबीच भएको भयानक नरसंहारमा एक सय दिनभित्रै करिब १० लाख व्यक्तिको हत्या भयो। अल्पसंख्यक तुत्सी समुदायका तमाम महिलाहरुलाई यौन दासी बनाइयो।
 
यो नरसंहारमा हुतु समुदायका चरमपन्थीले तुत्सी समुदाय र आफ्ना राजनीतिक विरोधीलाई निशाना बनाएका थिए।

रुवान्डाको कुल जनसंख्यामा ८५ प्रतिशत हिस्सा हुतु समुदायको छ तर, त्यहाँ लामो समयदेखि अल्पसंख्यक तुत्सी समुदायको दबदबा चलिरहेको थियो।
 
सन् १९५९ मा हुतुले विद्रोहमार्फत तुत्सी राजतन्त्र अन्त्य गरे। त्यसपछि हजारौं तुत्सीहरुले आफ्नो ज्यान जोगाएर युगान्डा लगायत अन्य देशमा पलायन भए। त्यसपछि निस्कासित तुत्सीमध्येको एउटा समूहले विद्रोही संगठन रुवान्डाप्याट्रेएक फ्रन्ट (आरपीएफ) गठन गर्‍यो।


 
सन् १९९० मा रुवान्डाप्रवेश गरेको यो समूहले त्यहाँ सशस्त्र संघर्ष सुरु गर्‍यो जुन सन् १९९३ मा शान्ति सम्झौतासँगै समाप्त भयो।
 
तर, ६ अप्रिल १९९४ राति तत्कालीन राष्ट्रपति जुवेनल हाबयारिमाना र बुरुण्डीका राष्ट्रपति केपरियल नतारयामिरा सवार विमानमाथि किगालीको आकाशमा आक्रमण भयो। यो घटनामा विमानमा सवार सबै मारिए।
 
यो विमानमा कसले आक्रमण गरेको थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। तर, हुतु र तुत्सी समुदायले एकअर्कालाई आक्रमणको दोष दिइरहँदा बल्लतल्ल शान्तितर्फ अघि बढ्दै गरेको रुवान्डामा अर्को युद्ध सुरु भयो। मारिएका दुबै नेताहरु हुतु समुदायका भएकाले पनि हुतु चरमपन्थीले आरपीएफलाई यसको जिम्मेदार ठहर गरे।
 
त्यसपछि हुतु चरमपन्थीहरुले सरकारका आलोचक र तीनका परिवारलाई मार्न थाले। हुतु समुदायले तुत्सी समुदायका छिमेकीमात्र होइन, युवकहरुले तुत्सी समुदायका आफ्नै श्रीमतीको समेत हत्या गरे। त्यसो नगर्दा आफू पनि नबाँच्ने उनीहरुको भनाई हुन्थ्यो।
 
हजारौं तुत्सी महिलाहरुलाई अपहरण गरी यौनदासी बनाइयो। त्यसबेला सरकारको नेतृत्वमा रहेको दल एमआरएनडीको युवा शाखा नै लडाकु संगठनमा रुपान्तरित भएर नृशंश हत्यामा सहभागी भयो।
 
हुतु चरमपन्थीले रेडियो र अखबारमा नियन्त्रण गरेर सार्वजनिक रुपमै तुत्सी समुदायमाथि घृणा फैलाउने र उनीहरुको हत्याका लागि प्रोत्साहित गर्ने काम गर्न थाले।
 
१०० दिनको नरसंहारमा करिब १० लाख तुत्सी र उदारवादी हुतु समेत मारिए। रुवान्डा जेनोसाइड मेमोरियलका अनुसार मारिनेमध्ये ७० प्रतिशत तुत्सी समुदायका थिए।
 
कसरी अन्त्य भयो हिंसा ?

युगान्डा सेनाको समर्थन रहेको आरपीएफले विस्तारै आफ्ना गतिविधि बढाउन थाल्यो र रुवान्डाका विभिन्न भूभागमा कब्जा जमाउँदै गयो। ४ जुलाई १९९४ मा राजधानी किगालीमा प्रवेश गरेपछि करिब २० लाख हुतु छिमेकी देश कंगो देशमा भागे। केही तान्जानिया र बुरुन्डीतर्फ गए।



मानवअधिकार संस्थाहरुको दाबी अनुसार आरपीएफले सत्ता कब्जा गरेपछि उसका लडाकुहरुले हजारौं हुतु नागरिकहरुको हत्या गरेका थिए। यद्यपि, आरपीएफले यो आरोप अस्वीकार गर्छ। कंगोमा विस्थापित हजारौं हुतुहरु हैजाका कारण मारिए।
 
यो समुदायबीचको युद्ध कंगो हुँदै आसपासको ६ देशमा समेत फैलँदा सन् २००३ सम्म करिब ५० लाख व्यक्ति मारिएको अनुमान छ।
 
रुवान्डामा अहिले आरपीएफ सत्तामा छ। आन्तरिक संघर्षबाट थिलोथिलो भएको यो देशलाई विकासका तर्फ अगाडि बढाएको श्रेय राष्ट्रपति पल कागामेलाई जान्छ। कागामेकै नीतिका कारण रुवान्डा अहिले तीव्र आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको छ। 

तीन कार्यकाल राष्ट्रपति भइसकेका कागामेले सन् २००७ को निर्वाचनमा ९८.६३ प्रतिशत मत पाएका थिए।
 
रुवान्डामा नरसंहारको घटनाबारे कुरा गर्नु अहिले पनि निकै संवेदनशील मानिन्छ। मानिसहरुमा फेरि त्यही अवस्था दोहोरिने हो कि भन्ने त्रास कायमै छ। जातजातिका कुरा गर्नु यहाँ गैरकानूनी छ। व्यक्तिको परिचयपत्रमा समेत उसको जातीयता उल्लेख हुँदैन। यही त्रासका बीच पनि रुवान्डाले राष्ट्रपति पल कागामेको नेतृत्वमा विकासकातर्फको पाइला अघि बढाएको छ।
 
अहिले रुवान्डाको आर्थिक बृद्धिदर ७.८ प्रतिशत छ भने अफ्रिकामा सबैभन्दा चाँडै र धेरै विकास गर्ने देशमा रुवान्डा पर्दछ। विषेषगरी चिनियाँ र भारतीय लगानीकर्ताहरुको बर्चस्व देखिन्छ। खाद्यान्नमा आत्मनिर्भरतातर्फ उन्मुख रुवान्डामा पूर्वाधार विकास पनि तीव्रतर छ।



सरकारले स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिएको, लगानी प्रोत्साहनका लागि विभिन्न नीतिहरु लागू गरिएको र वैदेशिक लगानी आकर्षण गर्न त्यससम्बन्धी प्रक्रियालाई अत्यन्तै सहज बनाइएको उद्योग तथा वाणिज्य मन्त्री सोराया हाकुजियारेमी बताउँछिन्।
 
रुवान्डालीहरु देशलाई शान्ति र विकासका तर्फ डोर्‍याउने आफ्ना राष्ट्रपतिको नाम श्रद्धापूर्वक लिन्छन्।
प्रतिक्रिया दिनुहोस्