शुक्रबार, मंसिर २७, २०७६

समाचार

अब्बल बन्दै सामुदायिक विद्यालय

शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन्।

अब्बल बन्दै सामुदायिक विद्यालय
सांकेतिक तस्बिर।
कञ्चनपुर- शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन्। कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका छन्।

शुक्लाफाँटा नगरपालिकाको कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ को बोर्ड परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयबाट परीक्षामा सहभागी भएका ५६ विद्यार्थी सबै उत्तीर्ण भएका हुन्। विद्यालयमा कक्षा १२ मा भर्ना भएका ७८ मध्ये ६१ ले रजिस्ट्रेसन फर्म भरेका थिए । तीमध्ये परीक्षामा सहभागी ५६ मात्रै भएका छन्। 

उत्तीर्ण भएकामध्ये नियमिततर्फ २५ र सवलीकरणमा अन्य परीक्षार्थी उत्तीर्ण भएका विद्यालयका निमित्त प्रअ वीरेन्द्रबहादुर सिंहले बताए। तीन वर्षअघि आएको नयाँ विद्यालय व्यवस्थापन समितिको चुस्त व्यवस्थापन र शिक्षाको गुणस्तरका लागि खेलेको अथक प्रयासले सामुदायिक विद्यालयमध्ये यो विद्यालय अब्बल रहेको उनको भनाइ छ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउदले भने, “हामी आउनुभन्दा अगाडि विद्यालय पूरै कर्जामा थियो, नौ लाख रूपैयाँभन्दा बढी रकम तिर्नुपर्ने थियो, निजी स्रोतमा कार्यरत शिक्षक न्यून तलबमा काम गर्दै आएका थिए।” कर्जा पूरै तिरेर निजी स्रोतका शिक्षकको मनोबल बढाउन ६ हजार रूपैयाँमा काम गर्ने शिक्षकको तलब २३ हजार रूपैयाँ पु¥याइएको उनले बताए। 

उनले भने, “पुस्तकालय, कम्प्युटरको व्यवस्थासँगै, विज्ञान प्रयोगशालाको व्यवस्थाले विद्यार्थी र शिक्षकको दक्षता बढेको छ ।” सबै कारोवार बैंकमार्फत् गर्न लगाइएपछि फजुल खर्च रोक्न सकिएको उनको भनाइ छ । खानेपानीसँगै छात्रामैत्री शौचालय निर्माण भएपछि विद्यार्थी संख्यासमेत बढेको छ।  

विगतका वर्षमा विद्यालयमा चार सयको हाराहारीमा विद्यार्थी भर्ना हुने गरेका थिए । हाल विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तरमा सुधार आएपछि विद्यार्थी संख्या ६३२ पुगेको छ । विद्यालय भर्ना हुनेमा छात्रभन्दा छात्राको संख्या बढ्दो छ। “सबै विषयका शिक्षक नहुँदा निकै समस्या थियो,” अध्यक्ष साउदले भने, “निजी स्रोतबाटै भए पनि पूरै विषयका शिक्षक राखेर पठनपाठनको व्यवस्था गर्न सकेका छौं, माध्यमिक तहमा पढ्ने विद्यार्थीले दिने शुल्कमा समेत एक हजार रूपैयाँ घटाएका छौं।”
 
सोही नगरपालिकाको वडा नं ११ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा समेत कक्षा ११ को परीक्षामा तीन दशमलव ४३ जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको संख्या पाँच रहेको छ। कक्षा १२ मा समेत तीन दशमलव १६ जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको संख्या एक छ। विद्यालयमा पठनपाठनका लागि जोड दिइएपछि निजीभन्दा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी अब्बल हुन थालेका विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताए।  

विद्यालयमा पढ्दै आएका विद्यार्थीको उत्तीर्ण संख्या ७५ प्रतिशत रहेको उनले जानकारी दिए। विगतमा उत्तीर्ण संख्या ४० प्रतिशतको हाराहारीमा रहँदै आए पनि हाल दक्ष शिक्षकसँगै पठनपाठनका लागि राम्रो वातावरण कार्य गरिएपछि विद्यार्थीको उत्तीर्ण प्रतिशत बढ्दै जान थालेको उनले बताए। 

विगतमा विद्यालयमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतको व्यवस्थासँगै निजी स्रोतमा कार्यरत शिक्षकको मनोवल बढाउन स्थायी शिक्षकसरह तलबको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर साउदले बताए। 
प्रतिक्रिया दिनुहोस्