मंगलबार, कात्तिक २६, २०७६

समाचार

ज्यान मुद्दामा किन पक्राउ परेनन् नेकपा सांसद गुरुङ ?

जिल्ला अदालत काठमाडौंको आदेशमा असोज ८ गते नै पक्राउ पूर्जी जारी भए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङ अझै पक्राउ परेका छैनन्।

ज्यान मुद्दामा किन पक्राउ परेनन् नेकपा सांसद गुरुङ ?
काठमाडौं- जिल्ला अदालत काठमाडौंको आदेशमा असोज ८ गते नै पक्राउ पूर्जी जारी भए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङ अझै पक्राउ परेका छैनन्।

सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा बैशाख २९ गते नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो। 

जिल्ला अदालत काठमाडौंले भदौ १२ मै अदालतमा उपस्थित हुन सांसद गुरुङको नाममा पत्र जारी गरेको थियो। 

०७४ को स्थानीय तहको निर्वाचनपछि दोलखाका धीरध्वज खड्कामाथि काठमाडौंको गौशलामा आक्रमण भएको थियो। 

सोही घटनामा सांसद गुरुङसहित सात जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

यता सांसद गुरुङले आफूमाथि मुद्दा रहेको स्वीकार गरेका छन्। उनले नेपालसमयसँग कुराकानी गर्दै आफूविरुद्ध राजनीतिक प्रतिशोधका कारण मुद्दा दर्ता भएको दाबी गरे। उनले अब आफै अदालतमा उपस्थित हुने बताए।

तर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले भने गुरुङविरुद्धको पक्राउ पूर्जीबारे आफूलाई कुनै जानकारी नभएको नेपालसमयलाई बताए।
प्रतिक्रिया दिनुहोस्