मंगलबार, कात्तिक २६, २०७६

समाज

भीरलाई लडाएकी लक्ष्मी

छाउनीको सैनिक अस्पतालसम्मको यात्रा तय गर्दा उनको जीवनको यात्राले अर्कै मोड लिइसकेको थियो। बेताली गाउँको एउटा निष्ठुर भीरले लक्ष्मीको जीवनलाई नै भीर बनाइदिएको थियो। 

भीरलाई लडाएकी लक्ष्मी
बिस्तारै लक्ष्मीका आँखा खुल्दा उनी अलमल्ल परिन्। केही थाहा थिएन, उनी कहाँ थिइन्। छाउनीस्थित सैनिक अस्पतालमा आँखा खुल्दा लक्ष्मीको जीवन महिना दिन अघिजस्तो थिएन। उनका ठूला र उज्याला आँखाले जीवन अँध्यारो देख्दै थियो।
 
चलमलाउन खोजिन्, शरीर चल्दैन। केही बोल्न खोजिन्, वाक्य फुट्दैन। खुट्टा चलाउन खोजिन् तर उनको निर्देशन मान्न खुट्टाले अस्वीकार गरिरहेका थिए। मानौँ लक्ष्मीको शरीरमा जोडिएका पाउहरु अर्कैका थिए। आफ्नै ज्यानका अंगहरु आफ्नै नियन्त्रणमा थिएनन्। भएको के हो? 
 
विस्मृतिको गर्भमा हराएकी लक्ष्मी घिमिरेले वरिपरि आँखा घुमाइन्। उनको आँखाको वरिपरि निन्याउरो अनुहार लगाएका परिवारजन थिए। आमा, बुबा, दाजु र दिदीबहीनीहरु उनको होसको प्रतीक्षामा थिए। एक महिनाभन्दा बढी समयदेखि बेहोस लक्ष्मीलाई होस आउनु मात्र पनि परिवारको लागि सानो खुसीको रेखा थियो।
 
सैनिक अस्पतालको सानो बेड, वरिपरि पीडाले कराइरहेका बिरामीहरु, आफ्नो अशक्त शरीर र आफन्तजनको मलिन अनुहार। होस आएपछि उनको अगाडिको दृश्य अस्वाभाविक थियो। उच्चाटलाग्दो स्वरमा उनले सोधिन् म कहाँ छु ? छाउनीको सैनिक अस्पतालसम्मको यात्रा तय गर्दा उनको जीवनको यात्राले अर्कै मोड लिइसकेको थियो। बेताली गाउँको एउटा निष्ठुर भीरले लक्ष्मीको जीवनलाई नै भीर बनाइदिएको थियो। 

रामेछाप जिल्लाको बेताली गाविस। स्थानीय निकायको पुनर्संरचना भएपछि हाल गोकुलगंगा गाउँपालिकामा लक्ष्मी घिमिरेको घर थियो। आमाबुवा, पाँच दिदीबहीनी र एक जना दाजुसहितको रमाइलो परिवार थियो। बुबा नेपाली सेनामा जागिरे थिए। लक्ष्मीको एक मात्र सपना नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्छु भन्ने थियो। 
 
उनी पढ्न जान्थिन्। पढाइमा उनको राम्रो लगाव थियो। खेल्न भनेपछि पनि हुरुक्कै। गाउँमा केटाकेटीहरु फुटबल र भलिबल मात्र खेल्थे। लक्ष्मीको रोजाइ भलिबल हुन्थ्यो। उनी राम्रो ‘सट’ हान्थिन्। उनको शारीरिक उचाइ र स्फूर्तिले पनि कुशल भलिबल ‘सटर’ को रुपमा स्कुलमा चिनिन्थिन्। सैनिक बन्ने उनको सपनाले खेलकुदमा रुचि, सक्रियता र जोस त भरेकै थियो। 
 
बाल्यकालदेखि नै लक्ष्मीलाई गाउँका भीरपाखाहरुले धेरै आकर्षित गर्दैनथे। तर सुसाउँदै बगेका खोलामा गएर पौडी खेल्न भने उनलाई रमाइलो लाग्थ्यो। पहाडमा अवसर छैनन् त्यसैले सहर गएर पढ्ने र सेनामा भर्ती हुने कल्पनाले मनको गहिरो कुनामा सपनाको सानो संसार निर्माण भइरहेको थियो। 
 
लक्ष्मीको सपनाले उनलाई हुर्काउँदै थियो वा उनले सपनालाई हुर्काउँदै थिइन्, लक्ष्मीलाई थाहा थिएन। तर उनी बाबुको सैनिक जीवन, आकर्षक पोशाक र व्यक्तित्व हेर्दै हुर्किइन्। सैनिक पोशाकमा सजिएका बाबुको आभामा आफूलाई प्रतिस्थापन गर्दा लक्ष्मीमा अपार आनन्दको अनुभूति हुन्थ्यो।
 
वि.सं. २०६६ सालमा उनले एसएलसी पास गरिन्। एसएलसी पास गरिसकेपछि गाउँकै जनजागृत उच्च माविमा ११ कक्षामा भर्ना भइन्। उनलाई शहर जाने र आफ्नो लक्ष्य पुरा गर्ने समय नजिकै आइरहेको अनुभूति हुन्थ्यो। 

.....................
 
त्यो वर्षको लक्ष्मीको दसैं रमाइलोसँग वित्यो। 

आजभन्दा ठ्याक्कै दश वर्षअघिको कोजाग्रत पूर्णिमा। दश वर्षअघिको कोजाग्रत पूर्णिमाले लक्ष्मीको जीवनको महत्वपूर्ण खुसी खोसेको थियो। उनको सैनिक बन्ने सपनामाथि बज्रपात परेको थियो। 

उनको घर नजिकै बाग्लो खर उम्रिएको सामुदायिक घाँसे भीर थियो। वर्षको एक पटक मात्र उक्त भीरमा घाँस काट्न गाउँलेलाई खोलिन्थ्यो। उनी कहिल्यै त्यसरी घाँस काट्न जाने मान्छे त थिइनन्। तर त्यस दिन उनका बुबाले नजान भन्दा भन्दै पनि उनी घाँस काट्न घाँसे भीरतर्फ लागिन्। 
 
भीरमा घाँस भर्खरै पलाउँदै मात्र थियो। बिहानै उनका दाई–भाउजु भीरभन्दा तल रहेको उनको खेतमा काम गर्न गएका थिए। लक्ष्मीले थोरै घाँस काटेर डोकोमा राख्दै थिइन्। तर डोको अलिकति गुल्टियो, उनले डोकोलाई त समातिन्। तर घाँस भने सबै भूँईमा पोखियो। 
 
उनले फेरि अलिकति भए पनि घाँस लिएरै घर फर्किने विचार गरिन्। र, घाँस काट्नै थालेकी मात्र के थिईन्, उनलाई आफ्नो चप्पल खोलेर अलिकति हिँडेजस्तो लाग्यो। त्यसपछि कुनै सम्झना भएन। 
 
छाउनीस्थित सैनिक अस्पतालमा एक महिनापछि मात्र लक्ष्मी घिमिरेको होस खुल्यो।  
 
लक्ष्मी भीरबाट झण्डै ४ सय मिटर तल खसेकी थिईन। वास्तवमा भीरबाट नगुल्टिकनै लक्ष्मी एकचोटी ४ सय मिटर तल खसेर काँडैकाँडा हुने हात्तीवारको झ्याँङमा घोप्टो पर्दै बज्रिन पुगिन्। आँखा वरिपरि र शरीरमा ससानो चोट मात्र लागेको भए पनि लक्ष्मीको ढाँड भने भाँचिएको थियो। स्थानीय हेल्थपोष्टमा उपचार नहुने भएपछि उनलाई काठमाडौंको ‘बिएण्डबी’ अस्पतालमा ल्याइयो। र, केही दिनपछि सैनिक अस्पतालमा उपचार गरियो।
 
छाउनी अस्पतालमा लक्ष्मीले पुरै वर्षदिन बिताइन्। उनलाई ‘स्पाइनल कर्ड इन्जुरी’ भएको थियो। अब उनी कहिल्यै पनि आफ्नो खुट्टाले दौड्न सक्ने छैनन् र ह्वील चेयरको सहाराले मात्र हिड्न सक्नेछन् भन्ने कुरा सुन्दा लक्ष्मीलाई आफ्नो जीवन नै समाप्त भएको जस्तो लाग्यो। बाँकी सपनाको त के कुरा रह्यो र ? 
 
अशक्त भएर अस्पतालमा बस्दाबस्दा डिप्रेसनको सिकार भइन्। जीवनप्रति घोर निराशाभाव थियो। एक्लै रुन्थिन् र एक्लै सम्हालिन्थिन्। एक वर्षपछि उनले अस्पताल नबस्ने निर्णय गरेर घर गइन्। तर सबै साथीहरु हिँडेको, खेलेको र स्कुल गएको देख्दा उनलाई खल्लो महशुस हुन्थ्यो। एक पटक त उनी विष पिएर जीवन समाप्त पार्छु भन्नेसम्मको नकारात्मक निर्णयसम्म पुगिन्।
 
लक्ष्मीलाई घर बस्न असह्य हुन थालेको थियो। उनलाई जसरी भए पनि मैले पढ्नैपर्छ भन्ने लाग्थ्यो। तर कसरी ? खुट्टा चल्दैनन्। कहाँ पढ्न जाने ? उनको छट्पटी बढ्दै गइरहेको थियो। उनले काठमाडौंमा लगेर पढाउन आग्रह गरिन्। उनका बुबाले लक्ष्मीलाई काठमाडौंस्थित खगेन्द्र नवजीवन केन्द्र, जोरपाटीमा भर्ना गरिदिए। तर कहिल्यै घर बाहिर नबसेकी लक्ष्मीलाई त्यहाँ एक्लै बस्न गाह्रो भयो।
 
बुबाले फेरि उनलाई साँगास्थित सुधार केन्द्रमा पुर्याए। त्यहाँ उनी एक महिना बसेर डिस्चार्च भइन्। त्यहाँ बसेर आत्मनिर्भर बन्ने केही उपाय सिकेपछि उनमा बिस्तारै आत्मविश्वास पलाउन थाल्यो। त्यहाँबाट उनी कीर्तिपुरमा रहेको अर्को संस्थामा स्थानान्तर भईन्। त्यहाँ आफ्नो सबै काम आफै गर्नुपथ्र्यो। जसले लक्ष्मीको जीवनलाई नयाँ लय दिन थालेको थियो।
 
त्यहाँ धेरै साथीहरु थिए। दिनभरि विभिन्न खालका सीपहरु सिकाइन्थ्यो। लक्ष्मीले पनि कम्प्युटर सिक्न थालिन्। त्यसबाहेक अफिस व्यवस्थापन र अंग्रेजी बोल्न पनि सिक्न थालिन्। उनले निकै मेहनत पनि गरिन् र सबै विषयमा ‘ए’ ग्रेड ल्याइन्। करिब ६ महिनासम्म सीप सिकेपछि उनी आमा बुबासँगै जोरपाटीमा बस्न थालिन्। 
 
उनलाई अब आफ्नो पढाईलाई निरन्तरता कसरी भन्ने चिन्ता थियो। उनको बुबा यसमा दत्तचित्त बनेर लागिरहेका थिए। अन्नतः उनले जोरपाटीस्थित चामुण्डा उच्च माध्यमिक विद्यालयमा बिजनेस स्टडिज् लिएर पढिन्। उनलाई त्यहाँ निकै माया दिएर शिक्षकहरुले पढाए। 
 
पढाईले निरन्तरता पाउन थालेपछि उनलाई आफ्नो खेलकुदको करिअर पनि अगाडि बढाउन सकिन्छ भन्ने आत्मविश्वास जाग्यो। उनले बास्केटबल खेल्न थालिन्। विद्यालयमा अपांगहरुले समेत खेल्न सक्ने अवस्था थिएन। त्यसकारण उनले विद्यालयभन्दा बाहिरका अपांगमैत्री क्लबहरुसँग सम्पर्क बढाइन्। विभिन्न क्लबहरुको बीचमा हुने बास्केटबल प्रतियागिताहरुमा भाग लिन थालिन्।



लक्ष्मी ‘इस्पाइनल कर्ड इन्जोरी स्पोर्टस एशोसिएन’ को तर्फबाट खेल्थिन्। विभिन्न अपांगमैत्री क्लब तथा संघ/संस्थाको बीचमा हुने राष्ट्रिय स्तरका खेलहरुमा पनि खेल्न थालिन्। र, दुई वर्षको अवधिमा उनले दर्जनौँ पटक प्रथम भएर मेडलहरु जितिन्। पढाईको साथसाथै अब्बल बास्केटबल खेलाडीको रुपमा लक्ष्मीले आफूलाई नयाँ धरातलमा उभ्याईन्। उनको आत्मविश्वास पूर्णत पहिलेजस्तै भइसकेको थियो। 
 
पढाईलाई निरन्तरता दिन उनी पदमकन्या कलेजमा स्नातक तहमा भर्ना भएर होस्टेलमा बस्न थालिन्। त्यहाँबाट उनले बिबिएस उत्तिर्ण गरिन्। बास्केटबल खेलमा पनि उनको सहभागिता सँगसँगै थियो। देशका विभिन्न स्थानहरुमा भएका बास्केटबल प्रतियोगिताहरुमा प्रथम भइन्। 
 
उनलाई विभिन्न संघ/संस्थाहरुबाट अपांगता सम्बन्धि कार्यक्रमहरुमा उत्प्रेरकको रुपमा सहभागिताको लागि निमन्त्रणा आउन थाल्यो। उनले धेरै अपांगता भएका व्यक्तिहरुलाई निराश नहुन र डटेर काम गरे सबै काम गर्न सकिने उत्प्रेरणा दिइन्। देशभित्र मात्र होइन, लक्ष्मीले दक्षिण कोरियाको सिओलमा गएर पनि आफ्नो अनुभव र क्षमताको प्रदर्शन गरिन्। 
 


हाल लक्ष्मी बास्केटबलको साथसाथै ‘पावर–लिफ्टिङ’ की समेत खेलाडी हुन्। केही समय अगाडि ‘पावर–लिफ्टिङ’ को प्रतिष्पर्धाको लागि दुबई गइन्। नेपालमा भएको राष्ट्रिय स्तरको ‘पावर–लिफ्टिङ’ प्रतियोगितामा दोस्रो भइन्। लक्ष्मीसमेत सहभागी भएको सार्कस्तरीय अपांग बास्केटबल टुर्नामेन्टमा नेपाल प्रथम भएको थियो। 
 
लक्ष्मी घिमिरेलाई भीरले निर्ममतापूर्वक लडाएको भए पनि आफ्नो संघर्ष र आत्मविशवासले भीरलाई लडाइदिइन्। आज उनको आत्मविश्वास बलियो मात्र छैन, अरुलाई आत्मविश्वासी बनाउनसमेत प्रेरणा दिन्छिन्। उनी पढाई र खेलकुदमा मात्र नभएर राजनीतिमा समेत रुची राख्छिन्। र, अहिले उनी साझा यूवा संगठनको केन्द्रीय सदस्यको भूमिकामा समेत छिन्।
प्रतिक्रिया दिनुहोस्