मंगलबार, मंसिर ३, २०७६

समाचार

नेपाल समय मिडियाका अध्यक्ष शाहद्वारा निःशुल्क भोजन

श्रद्धालुका लागि नेपाल समय मिडिया प्रालि, जनकपुरस्थित रेडियो मिथिला एवं मिथिला डटकम दैनिकका अध्यक्ष विश्वनाथ प्रसाद शाहले निःशुल्क भोजनको व्यवस्था गरेका छन्।

नेपाल समय मिडियाका अध्यक्ष शाहद्वारा निःशुल्क भोजन
जनकपुरधाम- विजया दशमीअन्तर्गत आइतबार महाष्टमी श्रद्धापूर्वक मनाइँदै छ। महाष्टमीको अवसरमा जनकपुरस्थित शक्तिपीठका साथै दसैं पूजा हुने मन्दिरमा पूजाअर्चना गर्ने श्रद्धालुको बिहानैदेखि भीडभाड छ।
राजा जनकको कुलदेवता भनिएकी जनकपुरको राजदेवी मन्दिरमा आज राति बोका बलि दिने तयारी छ । 

जनकपुर बाहिरबाट बोका बलि दिन आएका श्रद्धालुका लागि नेपाल समय मिडिया प्रालि, जनकपुरस्थित रेडियो मिथिला एवं मिथिला डटकम दैनिकका अध्यक्ष विश्वनाथ प्रसाद शाहले निःशुल्क भोजनको व्यवस्था गरेका छन्।
अध्यक्ष शाहले बोका बलि र राजदेवी मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुका लागि महाष्टमीको दिन हरेक वर्ष निःशुल्क भोजनको व्यवस्था गर्दै आइरहेका छन्। जनकपुरस्थित राम युवा कमिटीको प्रांगणमा आयोजना गरिएको निःशुल्क भोजन कार्यक्रममा जनकपुरका मेयर लालकिशोर साहसमेत सहभागी भएका छन्।

नेपाल मिडिया प्रालिका अध्यक्ष शाह र मेयर साहले श्रद्धालुलाई आफैंले पस्केर खाना खुवाएका छन्। महाष्टमीको दिन राजदेवीसहित यहाँका अन्य मन्दिरमा पूजाअर्चना र बोका बलिका लागि आउने श्रद्धालुलाई निःशुल्क भोजनको व्यवस्था गर्नु प्रशंसनीय काम रहेको मेयर साहले बताए।

अध्यक्ष शाहले बोका बलिका साथै पूजाअर्चनाका लागि जनकपुर बाहिरबाट आउने श्रद्धालुको सुविधालाई ध्यानमा राख्दै महाष्टमीको दिन हरेक वर्ष निःशुल्क भोजनको व्यवस्था गर्ने गरेको बताए।
‘राजदेवी मन्दिरमा बोका बलिका लागि टाढाटाढाबाट भक्तजन आउने गरेका छन्,’ अध्यक्ष शाहले भने, ‘एक दिनअघि उहाँहरु लाममा बस्नु हुन्छ । खानपिनको समस्या नहोस् भनेर हरेक वर्ष निःशुल्क भोजनको व्यवस्था गर्ने गरेका छौं।’

तीर्थालुहरुको सुविधालाई दृष्टिगत गरी अध्यक्ष शाहले १० वर्षदेखि महाष्टमीका दिन निःशुल्क भोजनको व्यवस्था गर्दै आइरहेका छन्। निःशुल्क भोजनमा हरेक वर्ष पाँच हजारभन्दा बढी श्रद्धालु सहभागी हुने गरेका छन्।
 
प्रतिक्रिया दिनुहोस्