बुधबार, कात्तिक २७, २०७६

समाचार

दसैं बजारमा पाँच करोडभन्दा बढीको कारोबार

दसैंको अवसरमा जनकपुरमा सञ्चालन भएको दसैं बजार (सस्तो बजार) मा पाँच करोडभन्दा बढी आर्थिक कारोबार भएको छ।

दसैं बजारमा पाँच करोडभन्दा बढीको कारोबार
जनकपुरधाम - दसैंको अवसरमा जनकपुरमा सञ्चालन भएको दसैं बजार (सस्तो बजार) मा पाँच करोडभन्दा बढी आर्थिक कारोबार भएको छ। जनकपुर उद्योग वाणिज्य संघको पहलमा दसैं लक्षित गरी सञ्चालन हुने सस्तो बजारमा दैनिक उपभोग्य वस्तुलगायतको खरिदबिक्री गरी पाँच करोडभन्दा बढीको कारोबार भएको अनुमान छ।

वाणिज्य संघले दसैंको अवसर पारेर हरेक वर्ष जनकपुरको गोपाल धर्मशालामा सस्तो बजार सञ्चालन गर्दै आएको छ। सयभन्दा बढी स्टल लगाइएका सस्तो बजारबाट व्यवसायी उत्साहित देखिएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले बताए। साहका अनुसार अन्य वर्षहरुको तुलनामा यस वर्ष सस्तो बजारबाट उत्साहजनक कारोबार भएको छ।

सुरुको दुई–तीन दिन वर्षाका कारण व्यवसायी केही निराश देखिए पनि पछि सस्तो बजारमा ह्वात्तै उपभोक्ताको भीड बढेको उनले बताए। ‘लगातार वर्षा हुँदा सुरुमा हामी केही निराश थियौं,’ उनले भने, ‘तर बिस्तारै यहाँबाट उत्साहजनक कारोबार भएको छ।’

वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले सस्तो बजारबाट हालसम्म पाँच करोड भन्दा बढीको आर्थिक कारोबार भएको बताए। बाहिर बजारमा आर्थिक कारोबार सुस्त रहेको अवस्थामा दसैं लक्षित सस्तो बजारबाट राम्रो कारोबार हुँदा व्यवसायीहरुमा उत्साह थपिएको उनको भनाइ छ।
‘जनकपुर बजारमा विगत केही दिनयता व्यवसाय ठप्प छ। आर्थिक कारोबार मन्द छ,’ महासचिव महासेठले भने, ‘सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीको कारोबारमात्र हुने गरेको छ। तर पनि सन्तोषजनक कारोबार भएको छ।’ बाहिर बजारभन्दा यहाँ सस्तो मूल्यका साथै उपहारहरुको समेत व्यवस्था हुँदा उपभोक्ताहरु बढी संख्यामा आउने गरेको उनको भनाइ छ।

सस्तो बजारबाट सामान खरिद गर्न दैनिक हजारौंको संख्यामा उपभोक्ताहरु पुग्ने गरेको बताउँदै उनले भीड बढ्न थालेपछि सुरक्षाकर्मीसमेत थप्नुपरेको बताए।
वाणिज्य संघको पहलमा सञ्चालन हुने दसैं बजारमा विशेषतः दैनिक उपभोग्य सामग्री बिक्री हुने गरेको छ। दसैं बजारमा खाने तेल, चिनी, साबुन, सर्फ, चियापत्ती, अगरबत्ती, प्लास्टिकका भाँडाकुँडा, कपडालत्तालगायतका दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण हुने गरेको छ। यहाँबाट ग्रामीण भेगका कतिपय उपभोक्ताले तीन–चार महिनासम्म पुग्ने उपभोग्य सामग्रीसमेत खरिद गर्ने गरेका छन्।
उपभोक्तालाई सस्तो र सुलभ मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यले घटस्थापनादेखि सुरु भएको सस्तो बजार आइतबारसम्म सञ्चालन हुनेछ।

 
प्रतिक्रिया दिनुहोस्