सोमबार, मंसिर ३०, २०७६

समाचार

चाडपर्वको शुभकामना

नेतृत्वमा बस्नेहरू, मुलुक र जनताको सेवा गर्ने कसम खाएकाहरू र प्रशासनमा रहेकाहरू आइन्दा सदाचारमा रहन सकून्। सबैलाई शुभकामना!

चाडपर्वको शुभकामना
हामी सबैको घरआँगनमा पर्व आगमन भएको छ। दसैं, तिहार, नेपाल संवत् नयाँ वर्ष र छठ नेपालीका मौलिक पर्व बन्न पुगेका छन्। दसैं हिन्दुको मात्र चाड मानिन्थ्यो। अहिले आएर यो सम्पूर्ण नेपालीको पर्व बनेको छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दसैँं मान्ने मिथक रहे पनि समय परिवर्तनसँग यो चाड मेलमिलाप, भाइचारा र सहअस्तित्वको पर्व बन्न पुगेको छ। यसले भूगोल, जाति, क्षेत्र, धर्मभन्दा माथि हामी नेपालीलाई एउटै सूत्रमा आबद्ध हुन सहयोग गरेको छ। त्यसैले नैै यो राष्ट्रिय पर्व बन्न पुगेको हो। विगतमा आपसमा खिचातानी, वैमनस्य र ईष्र्या भए पनि दसैं–तिहार लगायत अन्य पर्वले सबैलाई जोड्ने गरेको छ चाहे परिवार होस् वा गाउँ टोल। 

दसैं आयो खाऊँला पिऊँला भनेर कृषिप्रधान समाजमा विशेष खानपान र नयाँ कपडा लगाउने विगत रहे पनि सामाजिक क्षेत्रमा भएको विकाससँगै अब खानलाउन दसैं कुर्नुपर्ने अवस्था छैन। तर, देशका केही विकट बस्तीमा खान त के टिको टाँस्न र पूजा गर्न अक्षता अभाव भएको समाचारले भने सहरी क्षेत्रका बासिन्दा र राजनीतिको उपल्लो तहमा रहेका व्यक्तित्वलाई नमिठो गरी गिज्याइरहेको छ। त्यसो त समाज जति विकसित हुँदै छ, धनी र गरिबको खाडल पनि गहिरिँदै छ। मुलुकको अर्थतन्त्र सबल बनाउन यस्तो खाडल नपुरी सुखै छैन। गरिबी उन्मूलन भएमात्र समृद्ध नेपालको परिकल्पना साकार हुन सक्छ। महँगीले जनताको दैनिकी निकै कठिन बनेको छ। सामान्य आम्दानी भएका मानिसका लागि चाडपर्व अभिशाप बन्नु किमार्थ राम्रो होइन।

नागरिक सुरक्षामा सरकारका गतिविधि कमजोर देखिन थालेका छन्। सत्ताको आडमा सत्तासीन दलका कार्यकर्तामा उन्माद देखिएको छ। जनताले यस्तो दम्भ हेर्न बहुमत दिएका हैनन् भन्ने हेक्का सत्तासीनमा नहुने हो भने अर्कोपटक नतिजा उल्टिन सक्छ। नेपाली जनता सचेत भइसकेका छन् भन्ने यथार्थ जुनसुकै दलले बुझ्नैपर्छ। त्यसैले जनताले दिएको म्यान्डेटमा गम्भीर हुनैपर्छ। प्रतिपक्षी कमजोर हुँदा पनि सत्ताधारी दल नियन्त्रण बाहिर जान सक्नेछ। अहिले प्रमुख प्रतिपक्षी दलको भूमिका इतिहासमै कमजोर देखिएको छ। प्रतिपक्षी दल नै लोभानीपापानीमा फस्ने हो भने सत्तासीन दल झन् नियन्त्रण बाहिर जान सक्नेछ। जिम्मेवार प्रतिपक्षीले यसमा हेक्का राख्नैपर्छ।

मुलुकको राजनीति र प्रशासनमा सदाचार भन्ने शब्द हराउँदै गएको छ। राजनीति गर्नेहरू आर्थिक नाफा घाटाको हिसाब किताब गर्न थालेका छन्। जनताको सेवाभन्दा ‘कताबाट कति आउँछ’ भन्नेमै उनीहरू केन्द्रित छन् भने प्रशासनमा बस्नेको त टेबुलमुनिबाट लिने पुरानो रोग नै हो। विकास निर्माणमा चरम भ्रष्टाचार भएको कुरा दलका शीर्ष नेताहरूले ठेकेदारहरूलाई काखी च्यापेको घटनाबाट स्पष्ट हुन्छ। प्रशासनको उपल्लो तहमा रहनेहरू नै नेताको पछि लागेपछि भ्रष्टाचार नियन्त्रण हुनुको सट्टा मौलाउँदै जानेछ। तसर्थ सेवाको भाव नभएका मानिस राजनीति र प्रशासनमा बस्न लायक हुँदैनन्। नाफा घाटा त व्यापारमा पो हुन्छ, राजनीति र प्रशासनमा सेवाभाव हुनुपर्ने होइन ? 

नेपाली समाजमा रहेका यस्ता विकृति कोट्याउँदै जाने हो भने बृहत् कायको महाकाव्य नै बन्न सक्छ। चाडपर्वका बेला यस्ता बेथितिमाथि टिप्पणी गर्ने अवस्था आउनुचाहिँ पक्कै पनि राम्रो होइन। नेतृत्वमा बस्नेहरू, मुलुक र जनताको सेवा गर्ने कसम खाएकाहरू र प्रशासनमा रहेकाहरू आइन्दा सदाचारमा रहन सकून्। सबैलाई शुभकामना !





 
प्रतिक्रिया दिनुहोस्