मंगलबार, मंसिर ३, २०७६

समाचार

यसकारण विशेष हुन्छ जनकपुरको दसैं

नेपालीहरुको महान चाड दसैंको रौनक र चहलपहल मुलुकभर छाएको छ। घर बाहिर रहेकाहरु परिवारकासाथ दसैं मात्र धमाधम घर फर्कदैं छन्।

यसकारण विशेष हुन्छ जनकपुरको दसैं
जनकपुरधाम- नेपालीहरुको महान चाड दसैंको रौनक र चहलपहल मुलुकभर छाएको छ। घर बाहिर रहेकाहरु परिवारकासाथ दसैं मात्र धमाधम घर फर्कदैं छन्। बस गाडीमा घर पुग्नेहरुको घुइँचो छ।

‘दसैं आयो, खाउँला पिउँला’ दसैंको बेला बोलिने पुरानो भनाइ हो यो। दसैं आएसँगै नयाँ लुगा लगाउने र मिठामिठा कुरा खाने भएकोले नेपालमा चर्चित छ यो पुरानो भनाइ। चाडपर्वमा राम्रो लाउने र खाने रहरलाई  स्वभाविक मात्र सकिन्छ। खास गरेर दसैंको माहौलमा यो भनाइ सान्दर्भिक पनि हो।

तर जनकपुरमा भने दसैंको छुट्टैखाले माहोल देखिन्छ। दसैंमा खानपानभन्दा पनि पूजाअर्चनामा बढी रमाउने गरेका छन् जनकपुवासी। खँसी र मासुको लागि पनि दसैंको महत्व रहेको छ। तर जनकपुरसहित यस क्षेत्रका अधिकांशले महाअष्टमीसम्म माछामासु बारने गर्दछन्। जनकपुरस्थित राजदेवी मन्दिरमा बोकाबली नभएसम्म माछामासु खान नहुने मान्यता अझै कायम छ।

वर्षमा एकपटक अष्टमी तिथिको राती राजदेवी मन्दिरमा हुने बोकाबलीपछि मात्र माछामासु खान सकिने जनविश्वासको आधारमा यसो गरिएको बताइन्छ। अष्टमी तिथिको राजदेवी मन्दिरमा हरेक वर्ष १४ हजारदेखि १५ हजारसम्म बोकाबली हुने गरेको छ। यस वर्षपनि बोकाबलीको संख्या १५ हजारभन्दा बढी हुने आंकलन गरिएको छ।

दसैं लागेसँगै जनकपुरको चहलपहलसमेत बढेको छ। अन्य वर्षहरु झैं पूजाअर्चना गर्नेहरुको भिड छ, यहाँका मन्दिरहरुमा।धर्म र संस्कृतिको थलो मानिएको जनकपुर अहिले भक्तिमय बनेको छ।

विभिन्न मन्दिरहरुमा बिहान ४ बजेदेखि बज्ने माता दुर्गाको स्तुति र भजनहरुले यहाँका सर्वसाधारणमा भक्तिभावको वातावरण बनाएको छ। र, दसैंको मौसममा गरिने पूजाआरधनाले जनकपुरको दसैंलाई विशेष बनाउने गरेको छ।

जनकपुरस्थित राम मन्दिर परिसरमा रहेको राजदेवी मन्दिर अहिले बेहुली झैं सजाइएको छ। राजा जनकको कुलदेवता भनिएकी राजदेवी मन्दिरमा पूजागर्न बिहान ४ बजेदेखि श्रद्धालुहरुको घुइँचो हुन्छ।राजदेवी मन्दिर झैं जनकपुरको दर्जनौं स्थानमा दसैंमा दुर्गा पूजा गरिन्छ।

यहाँको रामानन्द चोक, मुरली चोक, भ्रमरपुरा चोक, बौधीमाई लगायतका स्थानमा माटोको प्रतिमा बनाएर दुर्गा पूजा मनाइन्छ। आकर्षक तरिकाले निर्माण गरिएका दुर्गालगायतका प्रतिमाको पुजागर्न सर्वसाधारणको व्यापक भिड हुने गर्दछ।

जनकपुरमात्र नभएर वरिपरीका ग्रामीण क्षेत्रहरुमा समेत दुर्गाको प्रतिमा तयार गरी पूजा गर्ने पुरानो परम्परा रहेको छ।दसैं अवधिभर दुर्गापूजा हुने स्थानहरुमा बिहान र साँझ हुने आरती तथा भजनले सर्वसाधारणलाई आकर्षित गरिरहेको हुन्छ।

अन्य स्थानमा मनाइने दसैंभन्दा जनकपुरको दसैं विशेष रहेको बताउँछन् केन्द्रीय मैथिली विभागका पूर्व प्रमुख प्राध्यापक परमेश्वर कापडि। अन्य स्थानभन्दा जनकपुरको दसैं तात्विक र सांस्कृतिक हिसाबले फरक रहेको कापडि बताउँछन्।

दसैंमा पूजामात्र नभएर विभिन्न खाले पाठहरु गरेर दैवी शक्तिलाई जगाउने गरिएकोले यस क्षेत्रको दसैं अन्य ठाउँभन्दा विशेष रहेको भन्दै कापडिले दसैं जागरणको माध्यम रहेको बताए।

अहिले आधुनिकताको प्रभाव बढी रहेकोबेला जनकपुरका युवाहरुको प्रयासले धर्म संस्कृति जगेर्नागर्न ठूलो मद्दत पुगेको स्थानीय राम युवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरी बताउँछन्।

सरकारी स्तरबाट खासै पहल हुन नसकेको अवस्थामा यहाँका युवाहरुले जनकपुरको दसैंलाई भव्यता प्रदान गर्न कुनै कसर बाँकी नराखेको उनको भनाइ छ।

जनकपुरका अधिकांश स्थानहरुमा स्थानीय युवा क्लबहरुको पहल र सक्रियतामा दसैंमा दुर्गा पूजा हुने गरेको छ। 
प्रतिक्रिया दिनुहोस्