बिहिबार, मंसिर ५, २०७६

अर्थ

दसैंमा सबा ८ खर्ब कारोबार, ३ खर्ब रेमिट्यान्स

अधिकांश नेपालीले अझै पनि नयाँ चिज किन्न दसैं पर्खने गरेका छन्। गाडी वा मोटरसाइकल, वासिङ मेसिन, फ्रिज लगायतका सामग्री तथा नयाँ लुगा दसैंमै किनिन्छिन्।

दसैंमा सबा ८ खर्ब कारोबार, ३ खर्ब रेमिट्यान्स
काठमाडौं- महान् चाड दसैंमा मुलुकको आर्थिक क्षेत्रमा निकै चहलपहल हुने गरेको छ। दसैं दिल खोलेर खाना, नाना र उपभोग्य वस्तु खरिदमा रकम खर्च गर्ने समय हो। 

दसैं लक्षित गरेर विभिन्न उत्पादन कम्पनीले छुटैछुट दिएका छन् भने सामानमा अफर राखेका छन्। 

अधिकांश नेपालीले अझै पनि नयाँ चिज किन्न दसैं पर्खने गरेका छन्। गाडी वा मोटरसाइकल, वासिङ मेसिन, फ्रिज लगायतका सामग्री तथा नयाँ लुगा दसैंमै किनिन्छिन्। यसैकारण अर्थतन्त्र चलायमान हुने गरेको अर्थविद् डा.केशव आचार्य बताउँछन्। “दसैंमा अन्य समयमा भन्दा बढी उपभोग्य वस्तुमा खर्च हुन्छ। पहिलेपहिले दसंै साहुबाट ऋण लिएर भए पनि मनाइन्थ्यो। वर्षभरि काम गरे पनि ऋण तिर्न पुग्दैनथ्यो। तर, समय बदलिएको छ। मानिसको आय वृद्धि भएको छ,” डा.आचार्यले भने। 

अर्का अर्थविद् डा.डिल्लीराज खनालका अनुसार दसैंमा आर्थिक क्षेत्र उथलपुथल हुन्छ। उनले भने, “विभिन्न कम्पनीले कर्मचारीलाई बोनस दिन्छन् सो रकम उनीहरूले उपभोग्य वस्तु खरिदमा खर्च गर्छन्। व्यापारीले नाफा कमाउँछन्। सामान बिक्री भएपछि उत्पादन बढ्छ। उद्योगीले नाफा कमाउँछ। उद्योगीले कमाए सरकारलाई कर तिर्छ। यसरी दसैंमा आर्थिक चक्रीय प्रणालीमै उथलपुथल हुन्छ।” 

विदेश गएका नेपालीले पनि दसैंका लागि अन्य समयमा भन्दा धेरै रकम पठाउँछन्। उद्योग व्यपारीका अनुसार दसैंमा अन्य समयको भन्दा तेब्बर सामग्री बिक्री हुन्छ। दसैंमा भएको व्यापारले वर्षभरको व्यापार धान्न सहज हुने गरेको उनीहरुको अनुभव छ। 

नेपालको कुल जिडिपीको ३० प्रतिशत रकम दसैंमा कारोबार हुने गरेको छ। तथ्यांक विभागका अनुसार नेपालको कुल जिडिपी ३४ खर्ब ६४ अर्ब छ। त्यसको ८० प्रतिशत रकम अर्थात् २७ खर्ब ७१ अर्ब रुपैयाँ उपभोग्य वस्तुमा खर्च हुने गरेको छ। सो उपभोग्य वस्तुमा गरिएको खर्चमध्ये एक तिहाइ खर्च दसैंको बेलामा मात्र हुने गरेको राष्ट्र बैंकको तथ्यांक छ। यसरी हेर्दा २७ खर्ब ७१ अर्बको ३० प्रतिशतले खर्च हुँदा पनि ८ खर्ब ३१ अर्ब रुपैयाँ दसंैको उपभोग्य वस्तु खरिदका लागि मात्र खर्च हुने गरेको छ। 

साढे तीन अर्बको अटो व्यापार

दसैंले अटो व्यवसायलाई बढी छुने गरेको छ। नेपालमा बिक्री भइरहेका मोटरसाइकल कम्पनी बजाज, हिरो होन्डा, टिभिएसलगायतले दसंैलाई लक्षित गरेर विभिन्न उपहार र छुट दिएको छ। त्यस्तै स्याकार, हुन्डाई, टोयोटालगायतका गाडी कम्पनीले पनि दसैं लक्षित गरी विभिन्न छुट दिएर गाडी बिक्री गरिरहेका छन्। त्यस्तै अटोमोबाइल्स एसोसिएसनले दसैंका ग्राहकलाई लक्षित गरी भदौमै नाडा आटो सो आयोजना गर्छ। विशेष गरी दसैंका लागि गाडी बुक गरेर मगाउन उनीहरुले नाडा अटो सोको आयोजना गर्ने गरेका छन्। दसैंमा गाडीको मार्केट ह्वात्तै बढ्ने गरेको छ। यस वर्षलाई आधार मान्ने हो भने साढे तीन अर्बको गाडी नाडा अटो सोमा बुक भएका छन्। ती सबै दसैंलाई नै लक्षित गरेर मगाइएको हुनाले पनि दसैमा सो रकम बराबरको गाडी बिक्री हुने गरेको छ भन्न सकिने अटो मोबाइल्स एसोसिएसनले जनाएको छ। 

मात्र ३ खर्ब २५ अर्ब रेमिट्यान्स

रेमिट्यान्सको ३७ प्रतिशत रकम दसैंका बेला भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। गत वर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। सो रकमको ३७ प्रतिशत अर्थात् ३ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स दसैंका बेलामा मात्र भित्रिएको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिए। उनका अनुसार दसंैका लागि भित्रिएको रकमको ८० प्रतिशत रकम उपभोग्य वस्तु खरिदमा सकिन्छ। 
 
प्रतिक्रिया दिनुहोस्