मंगलबार, मंसिर ३, २०७६

समाचार

किर्ते हस्ताक्षर गरी दुई करोड चोर्ने सीटीईभीटीका कर्मचारी पक्राउ

किर्ते हस्ताक्षर गरी बैंकबाट करिब दुई करोड रुपैयाँ चोरी गरेको आरोपमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का एक कर्मचारी पक्राउ परेका छन्।

किर्ते हस्ताक्षर गरी दुई करोड चोर्ने सीटीईभीटीका कर्मचारी पक्राउ
जनकपुरधाम – किर्ते हस्ताक्षर गरी बैंकबाट करिब दुई करोड रुपैयाँ चोरी गरेको आरोपमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का एक कर्मचारी पक्राउ परेका छन्।

सीटीईभीटीको प्रदेश २ अन्तर्गत धनुषाको लक्ष्मीनिया–४ सपहीमा सञ्चालित बीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युटका कर्मचारी प्रवीणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

महोत्तरीको महोत्तरी गाउँपालिका–३ घर भएका ठाकुर करार सेवामा कार्यरत थिए। ठाकुरले कार्यालयको चेक चोरेर सीटीईभीटी प्रदेश कार्यालयका लेखापाल ब्रम्हदेव ठाकुर र इन्स्टिच्युटका लेखापाल सन्तोषकुमार यादवको किर्ते हस्ताक्षर गरी विभिन्न मितिमा पैसा झिकेको प्रहरीले जनाएको छ।

इन्स्टिच्युटको रकम बैंकबाट झिकेर फरार भएका ठाकुरलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो। भारतमा लुकेर बस्दै आएका ठाकुर नेपालतर्फ छिरेको सूचनाको आधारमा प्रहरीले घेरा हाली धनुषाको मुखियापट्टी मुसहरिनया गाउँपालिका–३ तुलसियाहीबाट नियन्त्रणमा लिएको डीएसपी रामेश्वर कार्कीले जनाए।

प्रहरीकाअनुसार ठाकुरले इन्स्टिच्युटका लेखापाल सन्तोष यादवको हस्ताक्षर गरी विभिन्न व्यक्तिहरुको नाममा चेक काटेर विभिन्न बैंकबाट ६२ लाख ५६ हजार ९ सय रुपैयाँ झिकेका छन्। यसैगरी उनले सीटीईभीटीको प्रदेश कार्यालयका लेखापाल ब्रम्हदेव ठाकुरको हस्ताक्षर किर्ते गरी १ करोड १५ लाख ४५ हजार रुपैयाँ झिकेका थिए।

खाताबाट रकम हिनामिना भएपछि सीटीईभीटीको प्रदेश कार्यालयका पदाधिकारीले ठाकुरविरुद्ध करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले ठाकुरलाई खोजीको सूचीमा राखेको थियो। 

पक्राउ परेका ठाकुरविरुद्ध चोरी तथा लिखतसम्बन्धी कसुर मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्