मंगलबार, कात्तिक २६, २०७६

विचार

सी भ्रमण : नेपाली कूटनीतिको परीक्षण

सरकार र सत्ताधारी नेकपामा पछिल्लो समय देखिएको चुरिफुरी उदेकलाग्दो छ । चुरिफुरीको कारण हो, चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमण । कार्यक्रममा कुनै फेरबदल नभए ...

सी भ्रमण : नेपाली कूटनीतिको परीक्षण
सरकार र सत्ताधारी नेकपामा पछिल्लो समय देखिएको चुरिफुरी उदेकलाग्दो छ । चुरिफुरीको कारण हो, चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमण ।
 
कार्यक्रममा कुनै फेरबदल नभए सी असोज अन्त्यमा नेपाल आउनेछन् । लामो अन्तरालपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि महत्त्वपूर्ण छ ।
 
नेपालको कनेक्टिभिटी विस्तार, चीनबाट प्राप्त हुने भौतिक सहयोग, छिमेकीसँगको सन्तुलित सम्बन्ध र यसका अन्तर्राष्ट्रिय आयामका कारण  यो भ्रमण आम चासोको विषय बनेको छ ।
 
सीको भ्रमणलाई नेपाली कूटनीतिको सफलता मान्न सकिन्छ। केपी ओलीले पछिल्लो समय सत्ता सम्हालेदेखि नै चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउन परराष्ट्र मन्त्रालयले निकै कसरत गरिरहेको थियो।
 
तर, राष्ट्रपति सीको भ्रमणअघि चीनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताबाट नेकपा नेतृत्वले जे जसरी प्रशिक्षण लिएको छ र, गएको मंगलबार जसरी दुवै देशका कम्युनिस्ट पार्टीको विदेश विभागबीच ६ बुँदे सहमति भयो, त्यसले नेकपा र वर्तमान सरकारप्रति शंका बढाएको छ ।

यस्तो आशंकाको मुख्य कारण हो सीपीसीसँगको अन्तरक्रियालाई नेकपाले सी विचारधारा बुझाउने प्रशिक्षण कार्यक्रमका रुपमा गरेकोे अति प्रचार । त्यही सन्देहकै परिणाम हुनुपर्छ, उक्त कार्यक्रमलगत्तै पश्चिमा राजदूतको कूटनीतिक सक्रियता बढ्यो।
 
सीलाई जसरी पनि नेपाल ल्याएर त्यसलाई आफ्नो सफलताका रूपमा व्याख्या गर्न लालायित नेकपा र वर्तमान सरकारका नेताहरुले सीपीसीबाट प्रशिक्षण लिने मात्रै होइन, चीनलाई खुसी पार्न बेलाबेला विवादास्पद अभिव्यक्तिसमेत दिइरहेका छन् । 

देशको एकीकरणकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरु नेपालको विकास र कूटनीतिका सन्दर्भमा निकै सामयिक र महत्त्वपूर्ण मानिन्छन् । उनको मृत्युको दुई शताब्दीपछि दिव्योपदेशको सान्दर्भिकता झन् बढेको छ ।
 
नेपाललाई दुई ढुंगाबीचको तरुल भन्ने शाहले दुवै ढुंगातर्फको सन्तुलन मिलाउन पनि प्रेरित गरेका छन् । तर, सत्ताधारी दल र सरकारले यो सन्तुलनलाई बेवास्ता गरिरहेको छ ।

त्यसो त सीको नेपाल भ्रमणबाट अरु देशहरु झस्किनुपर्ने कुनै कारण छैन । तर, सार्वभौम मुलुकको सत्ताधारी दलले कुनै अर्को मुलुकको दलसँग विचारधाराको प्रशिक्षण लिन थालेपछि प्रश्न त उठ्छ नै ।  

हाम्रा दुवै छिमेकी चीन र भारत अहिले विश्वका सर्वाधिक जनसंख्या भएका मुलुकहरु मात्र होइनन्, यी दुबै देशको भूगोल र अर्थतन्त्र विश्वकै ठूलोमध्येमा पर्छन् ।
 
दुवै देशको प्रतिव्यक्ति आयको आकारले पछिल्लो दशकमा ठूलो रुप धारण गरेको छ । भौतिक विकासमा पनि यी दुवै देशले विश्वलाई आश्चर्यचकित बनाएका छन् । यति हुँदाहुँदै पनि यी दुवै देशबीच ठूलो प्रतिस्पर्धा छ र आपसी सहकार्य पनि । 

तर यी देशको द्रुत विकासबाट हामीले केही सिक्ने कि लोकतन्त्रका लागि लामो संघर्ष/अभ्यास गरिरहेका मुलुकको सत्ताधारी दलले कम्युनिस्ट विचारधाराको प्रशिक्षण लिने र त्यसको अतिशयोक्तिपूर्ण प्रचार गर्ने ?

विश्वका दुई ठूला अर्थतन्त्रबीच सन्तुलन कायम गर्दै उनीहरुको विकासलाई मुलुकको अधिकतम हितका लागि प्रयोग गर्ने कि नगर्ने ?



चीनको विकास यात्रा 

विकासक्रमका दृष्टिले हेर्ने हो भने चीनले माओको पालादेखि अर्थात् सन् १९४९ बाट विकास यात्राको थालनी गरेको मानिन्छ । अझ विश्लेषकहरु त देङ सियाओ पिङको सत्तारोहण (सन् १९७८) देखि चीन वास्तविक विकासमा अघि बढेको दाबी गर्छन् ।
 
नेपालले पनि त्यसै समयमा राणा शासनबाट मुक्ति पाएको हो । तर आज चीन आधुनिक विकासको द्रुत यात्रामा छ भने हामी अझै पनि विकास पथमा वामे सर्ने योजना बनाइरहेका छौं । चीनको विकास शृंखलामा सीको योगदान निकै महत्वपूर्ण छ ।
 
विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको चीनको प्रतिव्यक्ति आय करिब २६ हजार युआन छ जो प्रतिवर्ष ७.३ प्रतिशतको अनुपातमा वृद्धि भइरहेको छ । 

२०१७ को अन्त्यमा यहाँको जीडीपी ८२.७१ खर्ब (ट्रिलियन) पुगेको छ जो प्रतिवर्ष ६.९ प्रतिशतले बढिरहेको छ । चीन अहिले विश्वकै दोस्रो सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति र जीडीपी भएको देश बन्न पुगेको छ ।
 
२०१७ को अन्त्यमा चीनसँग ३.१३९९ खर्ब अमेरिकी डलर सञ्चित थियो जो प्रतिवर्ष १२९.४ चार खर्ब अमेरिकी डलरका दरले बढिरहेको छ ।
 
यी केही यस्ता तथ्यांक हुन् जसले चीनको आर्थिक विकास कुन गतिमा भइरहेको छ भनेर देखाउँछ । 

सीको नेपाल भ्रमणको कुरा गरिरहँदा रेल्वेको कुरा पनि सँगै आउँछ । नेपालीलाई रेल समृद्धिको सपना देखाइरहेका प्रधानमन्त्री केपी ओली सीको भ्रमणका क्रममा नेपाल–चीन रेलमार्ग बारे कुनै न कुनै सम्झौता होस् भन्ने चाहन्छन् ।
 
चीनको द्रुत गतिको रेल सेवाले विश्वलाई नै आश्चर्यचकित बनाइरहेको छ । सन् २००८ देखि नै चीनले ३५० किलोमिटर प्रतिघण्टा गतिको रेल सञ्चालनमा ल्याएको हो । जसलाई पछि ४०० किलोमिटर प्रतिघण्टा पुर्‍याइएको छ ।
 
चीनका सरकारी अधिकारीहरुको दाबीअनुसार अहिले विश्वमा ३५ हजार किलोमिटर हाई स्पिड ट्रेनको रेल्वे ट्र्याक छ । २०१७ को अन्त्यसम्म यसमध्ये २५ हजार किलोमिटर चीनमा मात्र थियो । 

चीनले यही रेलको गतिसँगै युरोप र बाँकी विश्वको यात्राको गति तय गर्न खोजेको छ । भारतले पनि द्रुत गतिको रेल सेवा विकासको योजना थालिसकेको सन्दर्भमा नेपालमा पनि रेल्वे विकासको अवधारणालाई मूर्तरुप दिनु जरुरी हुन्छ ।
 
दुवैतर्फको द्रुत गतिका बीचमा हामी कछुवा गतिमै विकास गर्छौ भन्ने सोच्नु गलत हुनेछ । 

निश्चय पनि नेपालको विकासमा चीनको साझेदारी खोजिनुपर्छ र सीको भ्रमणलाई फलदायी बनाउन सरकारी सक्रियता अपेक्षित छ ।
 
तर यो भ्रमणलाई दलीय आवरणमा सीमित गर्ने र चीनको बीआरआईको रणनीतिका रुपमा मात्र सीमित गर्न खोज्ने हो भने त्यो नेपाली कूटनीतिको असफलता हुनेछ । 
प्रतिक्रिया दिनुहोस्