मंगलबार, कात्तिक २६, २०७६

समाचार

एसपी मल्ल भन्छन्, शाहीका आक्रमणकारी भागे

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने समूह भागेकाले समाउन नसकिएको जबाफ चितवन प्रहरीले दिएको छ।

एसपी मल्ल भन्छन्, शाहीका आक्रमणकारी भागे
काठमाडौं- भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने समूह भागेकाले समाउन नसकिएको जबाफ चितवन प्रहरीले दिएको छ।

उक्त घटना भएको २४ घन्टा बितिसक्दासम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले शाहीमाथि सांघातिक आक्रमण गर्ने समूह भागिसकेकाले समाउन नसकिएको बताए। शाहीमाथि नेकपा कार्यकर्ता अविरल पोखरेलको नेतृत्वमा आक्रमण भएको थियो।

प्रत्यक्षदर्शी भने आक्रमण गर्दा प्रहरी नजिकै रहे पनि घटना रोक्न कुनै पहल नगरेको बताउँछन्। घटनाका बेला शाहीसँगै रहेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने, ‘नेकपा कार्यकर्ता पोखरेल नेतृत्वको समूहलाई हामीले प्रतिकार गर्न खोज्यौँ। प्रहरी त्यहीँ थियो। तर केही गरेनन्।’ 

शाहीमाथि शनिबार दिउँसो चितवनको चौबीसकोठीस्थित होटल ग्लोबलमा एक समूहले आक्रमण गरेको थियो। होटलका मजदुर तथा प्रत्यक्षदर्शीले खिचेको तस्बिरमा भाला र रड प्रहार गरेको देखिएको छ। 

‘नेपालका लागि नेपाली’ नामक संस्थामार्फत अभियानमा संलग्न शाही, माओवादीका पूर्व बाल लडाकु लेनिन विष्ट, शक्ति शाही, शंकर देउजामाथि आक्रमण भएको थियो।

भरतपुर महानगरपालिकामा भएको एक अर्ब बढीको भ्रष्टाचारको तथ्यांकसहित पर्दाफास गर्ने तयारीका साथ चितवन पुगेका अभियन्ताले प्रहरी आग्रहपछि कार्यक्रम स्थगित गरेका थिए।

शनिबार २ बजेका लागि निर्धारित कार्यक्रममा १२ बजेदेखि नै आयोजकहरु भेला भइसकेका थिए। कार्यक्रम स्थल पुग्दा माइक र ब्यानर हटाइसकेको थियो। प्रहरीले पनि ‘यहाँ कार्यक्रम नगर्नुस्, तपाईंहरूमाथि प्रतिकार हुन्छ’ भनेको वरिष्ठ अधिवक्ता भण्डारीले जानकारी दिए। 

आयोजकका तर्फबाट शान्तिपूर्ण कार्यक्रम गर्न किन नदिने ? शान्तिपूर्ण कार्यक्रममा रोक लगाउने कि आक्रमणकारीलाई नियन्त्रण गर्ने भन्ने प्रश्न गर्दा त्यहाँ खटिएका प्रहरीले ‘हामीलाई माथिबाट यस्तै आदेश छ’ भन्ने जबाफ दिएका थिए। त्यसपछि आयोजकले होटेलमै पत्रकार सम्मेलनको तयारी गर्दा आक्रमण भएको थियो।

एसपी मल्लले भने, ‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण हुँदै छ भन्ने सूचना हामीले पहिल्यै पाएका थियौं। यसको खबर शाहीलाई गराएर कार्यक्रम रोक्न अनुरोध गरेका थियौं। तर उहाँहरूले अटेर गर्दा आक्रमण भयो।’

आक्रमणबाट शाहीको घाँटी पछाडिको हड्डी भाँच्चिएको छ भने टाउको, छाती, खुट्टामा गम्भीर चोट लागेको छ। काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गराइरहेका शाहीको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।

अभियन्ताले घटनाका सम्बन्धमा छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

पछिल्ला केही घटनाक्रमलाई लिएर नेकपाको भ्रातृसंस्था युवासंघले शाहीलाई चितवन प्रवेशमा रोक लगाएको भन्दै वक्तव्य निकालेको थियो।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले शाहीले आफूविरुद्ध गलत प्रचारबाजी गरेकाले चितवन आए ठेगान लगाउने अभिव्यक्ति दिएको दुई साता नबित्दै शाहीमाथि आक्रमण हुनुले दाहालकै योजनाअनुसार आक्रमण भएको आशंका अभियन्ताको छ। 

यस्तो थियो घटना 

‘नेपालका लागि नेपाली’ संस्थाले शनिबार २ बजे कार्यक्रम गर्ने तयारी गरेको थियो। अभियन्ताहरू १ बजे नै कार्यक्रम स्थलमा पुगेका थिए। माइक र ब्यानर निकाल्न प्रयास गर्दा समर्थकले प्रतिकार गरेका थिए। प्रहरीले पनि ‘कार्यक्रम नगर्नुस्। माथिको आदेश छ। तपाईंहरुमाथि प्रतिकार हुन सक्छ’ भनेको थियो।

आयोजकले शान्तिपूर्ण कार्यक्रम गर्न दिने कि प्रतिकार्य रोक्ने भनेर प्रहरीसँग जबाफ मागेका थिए। त्यसपछि कार्यक्रम स्थलमा प्रहरी प्रवेश गर्‍यो। आयोजकलाई तितरबितर पारिदियो र केहीलाई नियन्त्रणमा लियो। अनि अभियन्ताहरूले कार्यक्रम स्थगन गरेर होटलमै पत्रकार सम्मेलन गर्ने तयारीमा थिए। त्यो थाहा पाएपछि केही व्यक्ति होटलमा प्रवेश गरे।

पार्किङमा स्थलमा माइक्रोबसबाट ओर्लंदै गरेका शाहीमाथि आक्रमण सुरु गरे। होटलबाहिर प्रहरी तैनाथ थियो। तर घटना रोक्न प्रयास गरेन। आक्रमणकारीले भाला, खुकुरी र छडले माइक्रोबसमा छिरेर शाहीलगायतमाथि आक्रमण गरे।

केही व्यक्तिले ‘यसो नगर्नुस्’ भन्दा आक्रमणकारीले निरन्तर प्रहार गरिरहे। आक्रमणमा घाइते भएका शाही आधा घन्टा बेहोस भएका थिए। त्यसपछि मात्र प्रहरी घटनस्थलमा पुगेको थियो। प्रहरी पुग्दा आक्रमणकारी भागिसकेका थिए।
प्रतिक्रिया दिनुहोस्