सोमबार, मंसिर ३०, २०७६

अर्थ

पूर्वी नाकाबाट सात महिनामा सात हजार पर्यटक भित्रिए

प्रदेश १ मा काँकडभिट्टा हुँदै पछिल्लो सात महिनामा ७ हजार पर्यटक भित्रिएका छन्।

पूर्वी नाकाबाट सात महिनामा सात हजार पर्यटक भित्रिए
इटहरी- प्रदेश १ मा काँकडभिट्टा हुँदै पछिल्लो सात महिनामा ७ हजार पर्यटक भित्रिएका छन्।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाका अनुसार २०१९ को जनवरीदेखि जुलाईसम्ममा ७ हजार २ सय २९ पर्यटक नेपाल प्रवेश गरेका छन् भने ६ हजार ७ सय ५३ जना बाहिरिएका छन्। कोइरालाका अनुसार यसरी आवागमन गर्नेमा भिसा नचाहिले भारतबाहेकका पर्यटक हुन्। 

अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१९ को जनवरी, फरवरी, मार्चमा क्रमशः १ हजार २४, ८ सय २७ र १ हजार २ सय ४७ पर्यटन नेपाल भित्रिए भने क्रमशः १ हजार ३ सय ११, ७ सय ४२ र १ हजार १ सय ९ पर्यटक बाहिरिएका छन्। 

अप्रिल, मे, जुन र जुलाईमा क्रमशः १ हजार १ सय २, १ हजार ६ सय ७५, ८ सय ३ र ५ सय ५१ पर्यटक नेपाल प्रवेश गरेका छन्। सोही समयमा नेपालबाट बाहिरिनेमा क्रमशः ८ सय ८६, ६ सय ८०, १ हजार ६ सय २५ र ४ सय पर्यटक छन्। 

अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१८ मा ११ हजार ३ सय ९ जना तेस्रो देशका पर्यटक पूर्वी नाकाबाट नेपाल प्रवेश गरे। भारतबाहेकमा मुलुकबाट नेपाल प्रवेश गरेका उनीहरुको संख्या सन् २०१७ भन्दा ३ हजार ७ सय ८१ जना धेरै हो।

सन २०१९ को जुलाईसम्म ७ हजार २ सय २९ जना पर्यटक तेस्रो देशबाट पूर्वी नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय प्रमुख कोइरालाले बताए।

कोइरालाका अनुसार पूर्वी नाकाबाट भित्रिने र बाहिरिने पर्यटकको संख्या थोरैमात्र फरक छ। ‘सन् २०१८ मा ११ हजार ३ सय ९ जना पर्यटक भित्रिए भने १० हजार २ सय ९६ बाहिरिए’, कोइराला भन्छन्, ‘भारत, बंगलादेश र भुटान जान–आउनेसमेत काँकडभिट्टा ट्रान्जिट भएकाले आउने र जाने उस्ताउस्तै देखिन्छ।’

पूर्वोत्तर भारत, भुटानदेखि बंगलादेश जान काँकडभिट्टा नाका पायक पर्ने भएकाले यो नाकालाई ट्रान्जिट बनाएर यात्रा गर्नेहरु धेरै भएको प्रदेश १ का पर्यटन व्यवसायी वासुदेव बराल बताउँछन्।
प्रतिक्रिया दिनुहोस्