बुधबार, कात्तिक २७, २०७६

समाचार

शिक्षक बन्लान त वडाध्यक्ष विएम ?

सल्यानका एक जनप्रतिनिधि शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएपछि अब शिक्षक बन्छन् की जनप्रतिनिधि नै हुन्छन् भन्ने चर्चा सुरु भएको छ। 

शिक्षक बन्लान त वडाध्यक्ष विएम ?
सुर्खेत - सल्यानका एक जनप्रतिनिधि शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएपछि अब शिक्षक बन्छन् की जनप्रतिनिधि नै हुन्छन् भन्ने चर्चा सुरु भएको छ। 

सिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दिनेशकुमार विएमले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा उत्तिर्ण भएका हुन्। उनले मुस्ताङ जिल्लाबाट आदिवासी जनजाति कोटामा नाम निकालेका छन्। 

‘मुस्ताङ्मा जनजातिको नौ जनाको कोटा थियो, भाग्यले मेरो नाम नौं नम्बरमै निस्किएछ’ वडाध्यक्ष विएमले भने ‘जनप्रतिनिधि छोड्ने रहर त छैन, तर नाम निस्केपछि के गर्ने भनेर दोधारमै छुँ।’ आफन्त र परिवारसँग सल्लाह गरेर निर्णय लिने उनको भनाई छ। 

‘भर्खर २८ वर्षको भए, जागिर खाएपछि पनि राजनीति गर्न सकिन्छ’ उनले थपे ‘जनप्रतिनिधि भएर सोचे अनुसार काम गर्न सकिएको छैन, पार्टी र परिवारसँग सल्लाह गर्न बाँकी नै छ।’ गाउँपालिका अध्यक्ष फरक पार्टीको हुँदा वडामा सोचेअनुसार विकास निर्माण गर्न नसकिएको उनको तर्क छ। 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी गोलाप्रथाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्ष विएम र तत्कालिन नेकपा एमालेका उम्मेदवार देबेन्द्र रोकाले समान ३ सय २१ मत प्राप्त गरेका थिए। सहमतिमा गोलाप्रथा गर्न तयार भएपछि वडाध्यक्षको पद विएमको हातमा परेको थियो।
प्रतिक्रिया दिनुहोस्