मंगलबार, कात्तिक २६, २०७६

समाचार

खेलमा भन्दा प्रशिक्षणमा अब्बल दीपक

खेल र प्रशिक्षण दुवैमा सफलता पाउने कमैमध्येमा पर्छन् करातेका दीपक श्रेष्ठ। उनले कराते खेलेर धेरै पदक र पुरस्कार त पाए नै, त्योभन्दा बढी प्रशिक्षक बनेर धेरै खेलाडीलाई पदक दिलाए ।

खेलमा भन्दा प्रशिक्षणमा अब्बल दीपक
काठमाडौं– खेल र प्रशिक्षण दुवैमा सफलता पाउने कमैमध्येमा पर्छन् करातेका दीपक श्रेष्ठ। उनले कराते खेलेर धेरै पदक र पुरस्कार त पाए नै, त्योभन्दा बढी प्रशिक्षक बनेर धेरै खेलाडीलाई पदक दिलाए ।

तीन पटकसम्म राष्ट्रिय खेलकुदमा स्वर्णपदक जितेका मुकुन्द महर्जन श्रेष्ठलाई अभिभावकका रुपमा चिनाउन चाहन्छन् उनी। एक दशकसम्म एपीएफको प्रशिक्षक रहेका श्रेष्ठले एपीएफलाई लगातार टिम च्याम्पियन बनाए।
 
लगातार ९ पटक राष्ट्रिय च्याम्पियन एवम् सागमा रजत पदक विजेत अनु अधिकारी दीपकलाई खेलाडी भन्दा प्रशिक्षकका रुपमा सफल रहेको बताउँछिन्। उनी भन्छिन्, "उहाँले प्रशिक्षण दिएको खेलाडी राष्ट्रिय टोलीमा नपरेको रेकर्डै छैन।" प्रशिक्षणका साथै खेलाडीलाई प्रतिस्पर्धाका लागि उत्साहित बनाउन पनि श्रेष्ठ सिपालु छन्।
 
दीपक नेपाली कराते क्षेत्रमा सबैभन्दा बढी सम्मान पाउने व्यक्तित्व हुन्। श्रेष्ठले ११ पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएका छन्।
 
उनी चार पटक त राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाटै सम्मानित भए। त्यस्तै एकपटक युवा तथा खेलकुद मन्त्रालय, दुई पटक विभागीय टोली एपीएफ र चारपटक अन्य संघसंस्थाबाट वर्षको उत्कृष्ट प्रशिक्षकका रुपमा सम्मानित भएका छन्। 

२०६२ मा श्रीलंकामा आयोजना भएको १० औं दक्षिण एसियाली खेलकुद (साग) र २०६७ मा बंगलादेशमा आयोजना भएको ११ औं सागमा सफल प्रशिक्षक र २०६८ मा नेपाली करातेमा २० वर्षे प्रशिक्षकको सेवा भन्दै राखेपले सम्मान गरेको थियो। उनी नेपाल खेलकुद पत्रकार मञ्चको स्पोर्ट्स अवार्ड ०६६ मा उत्कृष्ट प्रशिक्षक भए। 



सफल खेलाडी

काठमाडौंमा जन्मिएका कराते प्रशिक्षक दीपक श्रेष्ठले कराते यात्रा टोलबाटै सुरु गरेका थिए। छिमेकमा बस्ने दार्जिलिङका शिक्षकले कराते सिकाउँदा उनी पनि सामेल भए। २०३८ सालसम्म टोलमै सीमित श्रेष्ठ २०४० पछि दशरथ रंगशाला धाउन थाले। त्यहाँ उनले करातेका प्रशिक्षक गोपाल गुरुङसँग प्रशिक्षण लिए । त्यसको दुई वर्षपछि उनी राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थाले। 

पहिलोदेखि चौथो राष्ट्रिय खेलमा सहभागी श्रेष्ठले तीन पटक स्वर्ण र एक पटक रजत पदक जितेका थिए। 

"पहिलोदेखि चौथो राष्ट्रिय खेलमा सहभागी हुँदा म कुनै पनि प्रतियोगितामा पदकविहीन भइन", श्रेष्ठले भने, "एउटा प्रतियोगिता खेल्न १६ भन्दा बढी फाइट खेल्नुपर्थ्यो।" 

श्रेष्ठले सन् १९९१ मा नेपालमा आयोजना भएको एसियन एसकेएफएस शिखर कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाए। उनी पाचौं राष्ट्रिय खेलकुदमा भने प्रशिक्षकको भूमिकामा देखा परे ।

सफल प्रशिक्षक

श्रेष्ठ २०५२ सालमा राखेप प्रशिक्षकमा नियुक्त भएपछि डोल्पा पुगे। उक्त जिल्लालाई क्षेत्रीयस्तरमा पहिलो बनाए। 

डोल्पामा केही वर्ष बिताएर काठमाडौं फर्किएका उनले १२ वर्षसम्म विभागीय टोली एपीएफको कराते टोलीमा प्रशिक्षक रहे । उनी एपीएफ कराते टोलीको प्रशिक्षणमा रहुन्जेल राष्ट्रिय प्रतियोगितामा अरु टिमलाई पहिलो हुन दिएनन्। 

त्यसैले उनलाई एपीएफको इतिहासमा सबैभन्दा सफल प्रशिक्षक मानिन्छ । उनले भने, “मैले एपीएफको कराते टोली सम्हाल्दा लगातार टिम च्याम्पियन बनाएँ। तिनै खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।”

उनले १०औं र ११औं साग खेल्ने टोलीको जिम्मेवारी पनि सम्हालिसकेका छन्। 

श्रीलंकामा भएको १० औं सागमा उनको प्रशिक्षणमा रहेको नेपाली कराते टोलीले दुई स्वर्ण पदक जितेको थियो। त्यतिबेला कुशल श्रेष्ठ र सुलोचना सिजाखूले स्वर्ण जितेका थिए। त्यसपछि उनी राष्ट्रिय कराते टोलीको प्रशिक्षकमा छनोट भए।

बंगलादेशमा भएको ११ औं सागका लागि पनि उनी राष्ट्रिय टोलीको प्रशिक्षक थिए। ११ औं सागमा नेपालले करातेमा तीन स्वर्ण जितेको थियो। 

अहिले श्रेष्ठ घरेलु भूमिमा आयोजना हुने १३ औं साग खेल्ने टोलीको प्रशिक्षक छन्। उनी १३ औं सागमा पनि उत्कृष्ट नतिजा ल्याउन सक्रिय छन्।
 
करातेमय परिवार 

श्रेष्ठको परिवार नै करातेमय छ। श्रीमती सुनीता श्रेष्ठ नेपाली कराते टोलीकी सहायक प्रशिक्षक हुन्। उनी अन्तर्राष्ट्रिय एकेएफ प्रतियोगितामा सहभागिता जनाउने पहिलो महिला खेलाडीसमेत हुन्। 

त्यति मात्र हैन उनी  सुनिता नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेफ्रीसमेत हुन्। दीपक र सुनिताका दुई छोरा दिवस र दिवान पनि कराते र किक–बक्सिङका खेलाडी हुन्। 

दिवानले भर्खरै करातेको राष्ट्रिय प्रतियोगिता खेले । श्रेष्ठले भने, “धेरैलाई खेल खेलेर के हुन्छ भन्ने लाग्छ। तर, मैले खेलबाट नयाँ जीवन पाएको छु। मानसम्मान पाएको छु।”

अचेल झिसमिसेमै प्रशिक्षणका लागि सातदोबाटोस्थित कराते हल पुग्ने उनी भन्छन्, “जीवनले साथ दिएसम्म खेलाडीलाई पदक ल्याउन हौसला दिइरहनेछु ।” 
प्रतिक्रिया दिनुहोस्