मंगलबार, मंसिर ३, २०७६

समाचार

यार्सागुम्बा बिकेन,  संकलकहरु चिन्तित 

पोहोर प्रतिकिलो २० लाखसम्ममा बिक्री भएको यार्सागुम्बा यसवर्ष ४ लाखमा समेत बिक्री नहुँदा संकलकहरु चिन्तित छन् ।

यार्सागुम्बा बिकेन,  संकलकहरु चिन्तित 
अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । 

यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ ।    

"तीन महीनाको कडा परिश्रमबाट सङ्कलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुन सकेको छैन्," अपिका उमेश बोहराले भने, “ यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा सङ्कलकहरु बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् ।” 

अघिल्लो वर्षसम्म यार्सागूम्बाको सिजनपछि स्थानीय खण्डेश्वरी बजारमा चहलपहल बढ्थ्यो । तर यो पटक भने खण्डेश्वरी बजार सुनसान जस्तै छ । 

यार्सागुम्बा बिक्री नहुँदा अधिकांश स्थानीयवासीले यार्सागुम्बा सङ्कलनको लागि लिएको ऋण तिर्न सकेका छैनन् । 

लामो समयसम्म यार्सा सङ्कलकहरुको घरमा यर्सागुम्बा थन्किएपछि यार्सागुम्बा सड्ने अवस्थामा पुगेको ब्यास गाउँपालिकाका सङ्कलक धीरेन्द्रसिंह धामी बताउँछन् । यार्सागुम्बा सुरक्षित राख्ने तरिका जानकारी नहुँदा पनि सड्ने अवस्थामा पुगेको हो ।

व्यासकै दानसिंह कार्की व्यापारीले मूल्य निर्धारण नगरेरै यार्सागुम्बा बिक्री गरेको बताउँछन्नु ।  "घरमै यार्सागुम्बा सडाउनुभन्दा व्यापारीलाई उधारोमै दिएका छौं,"  उनले भने, “ व्यापारीले बिक्रीका लागि काठमाडौं लगे पनि मूल्य छैन भनिरहेका छन् ।”

गत वर्ष यार्सागुम्बा प्रतिकेजी रु १७ लाखदेखि रु २० लाखसम्म खरीदबिक्री भएको थियो । 

 “काठमाडौंमा मोटो यार्सागुम्बाको रु सात आठ लाख प्रतिकिलो भन्छन्,"  व्यापारी धनसिंह जागरी भने, “सामान्य यार्सागुम्बा पनि प्रतिकिलो रु तीन चार लाखमा बिक्री हुने अवस्था छैन् ।”

यार्सागुम्बाको चीनमा समेत मूल्य नभएको कारण बिक्री हुन नसकेको यार्सा व्यापारी जागरी बताउँछन् । 

यो वर्ष अहिलेसम्म जिल्लाबाट सबै यार्सागुम्बा बाहिरिइ सक्नुपर्नेमा जम्मा ४० किलोग्राम यार्सागुम्बाको मात्र छोडपूर्जी जारी गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरले जानकारी दिए । 

विगतमा हरेक वर्ष अपि नाम्पा संरक्षण क्षेत्रबाट छुट पूर्जी जारी भएर ६ देखि आठ क्वीन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको थियो । 

दार्चुलाको अपि हिमालको लोलु, रोखापु, सात गङ्गा चाइमटेला, धरमघर, काटै, क्षत्ति, ब्यासको अपिफेद, दूधीवनलगायतका दर्जन बढी ठाउँमा यार्सागुम्बा पाइने गर्छ् । यार्सागुम्बा सङ्कलनको लागि यहाँका विद्यालयसमेत एक महीनाका लागि बन्द हुन्छन् ।

यार्सागुम्बा सङ्कलनको लागि हरेक वर्ष जिल्लाका पाटनमा पाँचदेखि १० हजार सङ्कलक जाने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

जडीबुटीको राजश्व घटाइयो

अपि नाम्पा संरक्षण व्यवस्थापन परिषद्ले जिल्लामा सङ्कलन हुने जडीबुटीको राजश्व शुल्क घटाएको छ । उद्योग वाणिज्य सङ्घ दार्चुला र जडीबटी व्यवसायी सङ्घले हालसम्म जडीबुटीमा लिएको राजश्व बढी भएको भन्दै घटाउन आग्रह गरेपछि शुल्क घटाइएको हो ।

व्यवस्थापन परिषद्ले यार्सागुम्बा, सतुवा, वनलसुन र साधारण च्याउको राजश्व रकम घटाएको अपि नाम्पा संरक्षण व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिंह ह्याकीले जानकारी दिए । 

व्यवस्थापन परिषद्ले यार्सागुम्बाको प्रतिकिलोग्राम दुई हजार रुपैयाँ, सतुवा प्रतिकिलो ४० रुपैयाँ, वनलसुन प्रतिकिलो ३० रुपैयाँ र साधारण च्याउ प्रतिकिलो १० रुपैयाँ लिने भएको छ । 

यसअघि परिषद्ले जडीबुटी व्यवसायीबाट यार्सागुम्बामा प्रतिकिलो ग्राम दुई हजार पाँच सय, सतुवा प्रतिकिलो रु १०० वनलसुन प्रतिकिलो रु ३०० र साधारण च्याउ प्रतिकिलो रु ५० राजस्श्व लिँदै आएको थियो ।
-रासस
प्रतिक्रिया दिनुहोस्