बुधबार, कात्तिक २७, २०७६

ब्लग
सीता मेडम र हेडसरको पिटाइ
अहिलेको जस्तो गाउँ नजिकै स्कुल थिएन हामी पढ्ने बेलामा। स्कुल टाढा हुँदा ६ वर्षको उमेर पछि मात्र कखरा चिन्ने अवसर मिल्यो। करिब आधा घण्टा हिँडेर पुगिने जनता मावि मेल्लेख अछाममा भर्ना त भैयो तर, नियमित जान भने सकिएन। 

घरायसी काममा आमाले मेसिन जस्तै चलेर काम गर्नुपर्ने। घरको काममा सघाउनु पर्ने भएर होला जेठो दिदीलाई स्कुलको अनुहार नै देख्ने अवसर जुटाइएन। बुबा आफ्नै गाविसमा रहेको दुर्गादेवी निमावि (हालको मावि) को हेडसर। बुवाले पढाउने स्कुल करिब १ घण्टाको दुरीमा रहेकाले मलगायत हाम्रो गाउँका सबै पढ्नलाई छिमेकी मेल्लेखको स्कुलमा जाने गर्दथ्यौँ। 

दिदीको काम बिहान घाँस दाउरा गरेर दिउँसो गाईबाख्रा चराउन जाने र बेलुकीपख पनि घरकै काममा लाग्नुपर्ने थियो। आमाले पनि बिहानैदेखि बेलुकीसम्म घर र मेलापातको काममै समय दिनुपर्ने हुँदा मेरो काम भने भाइको हेरालु बस्ने थियो। स्कुल जान्थें तर, कहिलेकाँही मात्र। नियमित स्कुल जान नपाउँदा दुई कक्षामा परीक्षा नै नदिएर एक वर्ष थप रोकिनुपर्‍यो। अर्को वर्षबाट स्कुल नियमित जाने अवसर मिल्यो। पढाइमा पनि राम्रै थिँए। कक्षामा म नै प्रथम हुन थालेँ।

नाम नै बहुदली

मेरो सानैदेखिको स्वभाव जिज्ञासु थियो। कुनै नयाँ मान्छे देख्यो कि उसबारे जान्न र बोल्न मन लागिहाल्थ्यो। नयाँ सामान देख्यो कि त्यसबारे जिज्ञासा राखिहाल्ने, केही नयाँ कुरा सुन्यो कि अरुलाई सुनाइहाल्ने बानि थियो। स्कुल नियमित जान थालेपछि स्कुलभित्र होस् या बाहिर बजारमा होस् केही नयाँ कुरा सुन्यो भने बेलुकी घरमा आएर छरछिमेकलाई सुनाइहाल्थेँ। 

टोलछिमेकमा दुईचार मान्छे पानीपँधेरो, बाटोघाटो कतै जम्मा भयो कि मलाई 'आज के नयाँ कुरा छ सुनाउ', भनेर सोध्ने गर्दथे। गाउँमा हजुर बा, हजुर आमा, काकाहरु सबैले मेरो नाम नै ‘बहुदली’ राखेर बोलाउँथे। किन बहुदली नाम राखेर बोलाउन थाले भनेर मैले धेरै पछि मात्र थाहा पाएँ। त्यो समय थियो, देशमा बहुदलीय व्यवस्था स्थापना भएको। ४६ सालको परिवर्तन पछि मान्छेले खुलेर बोल्न पाउने भएकैले मेरो नाम बहुदली राखेको रहेछ। जुनकुरा बुझ्न मलाई पाँच–छ वर्ष लाग्यो।
 
दाउरा बोकेर ट्यूसन

मैले दुई कक्षा उत्तिर्ण गरेपछि हाम्रो स्कुलमा प्रावि तहमा पढाउन एक जना मेडम आउनुभयो। घर अछामकै कालिमाटी, नाम सीता शाह, पढाउने विषय गणित र अंग्रेजी। मेडमका श्रीमान् मेल्लेखकै हुलाकमा खरिदार थिए। 

स्कुल पढ्दा मलगायत चार जना मिल्ने साथी थियौँ। एउटा मेरै गाउँले दाई रुद्र र अन्य प्रेम र उनको भतिजी पशुपति। हामी चार सँगै बस्ने, सँगै हिँड्ने र सँगै खेल्ने गर्दथ्यौँ। एक जना कोही अनुस्थित भए अरु तीनलाई पनि स्कुलमा पढ्ने मन लाग्दैनथ्यो। 

पशुपति कक्षाभरको एक्लो छात्रा थिइन्। सानैदेखि केटा साथीहरुसँगको संगतले गर्दा होला उनी हरेक कुरामा फर्वाड थिइन्। सीता मेडमले हामीलाई पढाउन थालेपछि उहाँको पढाउने तरिका मनपर्‍यो। चारैजना साथीले मेडमसँग प्रत्येक दिन बिहान ट्युसन पढ्ने निधो गर्‍यौँ। मेडमले हामीलाई एक घण्टा ट्युसन पढाउने तर त्यसबाहेक हामीमध्ये कसैले दाउरा त कसैले हरियो साग ल्याईदिनुपर्ने सहमति भयो। 

हामी बिहान घरबाट आउँदा हातमा दाउरा बोकेर त कहिले हरियो साग टिपेर ल्याइँदिन्थ्यौँ। हिउँदयामको कठ्यांग्रिँदो जाडोले शरीर थररर काप्दै हामी एकाबिहानै मेल्लेख पुग्थ्यौँ। मेडमसँग ट्युसन पढ्न पाउने भएकाले जाडो सबै भुलिन्थ्यो। मेडम पनि खाना पकाउन दाउरा र हरियो तरकारी ल्याइदिँदा निकै खुसी हुनुहुन्थ्यो भने हामी पनि ट्युसन पढ्न पाएकोमा खुसी हुन्थ्यौँ। 

मेडमसँग सानो छोरा थियो जो हामीलाई निकै माया गर्थ्यो र हामी पनि उसलाई समातेर खेलाउन निकै मन पराउथ्यौँ।
 
हामी चार कक्षामा पढ्दै गर्दा सीता मेडम सरुवा मिलाएर गाउँ नजिकैको स्कुलमा जानुभयो। मेल्लेख बस्दा उहाँसँग भएको नजिकको घुलमिलले गर्दा हाम्रो आत्मीयता निकै गहिरो ढंगले गाँस्सिसकेको थियो। उहाँको बिदाइको दिन आउँदा हामीमा निकै नराम्रो महसुस भयो। बिदाइका हात हल्लाउँदै हामी चारै जना मिल्ने साथीका आँखाबाट आँसुका थोपा झरे। 

छोटो समयमै सबैको आत्मिए बन्नुभएकी सीता मेडमको बिदाइमा अन्य विद्यार्थी, शिक्षक र व्यापारी धेरैले नरमाइलो महसुस गरे। चार कक्षा पढ्दा हामीबाट छुट्टिनुभएकी सीता मेडमसँग मेरो करिब दुई दशकपछि मंगलसेनमा भेट भयो। म उहाँलाई भेट्दा जति खुसी भएको थिएँ उहाँ पनि त्यति नै खुसी हुनुभयो। विगत सम्झिँदै लामो सुखदुःख पनि भयो। जीवनको सिकाइका क्रममा थुप्रै गुरुहरुसँग भेट भयो तर सीता मेडमजस्ता थोरै मानिस मात्र कहिलै नभुल्ने गरी दिमागमा सेट हुने गर्दछन्।

हेडसरको त्यो पिटाइ

कक्षामा मिल्ने हामी चारैजना हापछुट्टी भयो कि दौडिएर मोजाको बल बोकेर बजारभन्दा तल राजाको दरबार क्षेत्रमा दगुरिहाल्थ्यौँ। म र दाइ रुद्र एकापट्टि, प्रेम र पशुपति अर्कोतर्फ लागेर डोरीको नेटमा मोजाको बल खेल्न सुरु गर्थ्यौं। हाम्रो खेल हेर्न धेरै जम्मा हुन्थे। कारण केटाहरुसँग केटी पनि खेल्ने गर्थिन्। कहिलेकाहीं कुनै पिरियड खाली भयो र सर अनुपस्थित छन् भने पनि हामी मोजाको बल बोकेर राजाको दरबारमा गैहाल्थ्यौँ।
 
एक दिनको कुरा हो। हामी सायद ६ कक्षामा थियौँ। विज्ञान पढाउने सर अनुपस्थित हुनुहुन्थ्यो। हामी चारैजना कसैलाई नसोधेर राजाको दरबारतिर गयौँ। फर्किदा हेडसर हरिप्रसाद ज्ञवालीले देखिसक्नुभएछ। प्रेमलाई अगाडि देखेर उनैका नामले बोलाउँदै छिटो आऊ भन्दै गाली गर्नुभयो। म अगाडि भएकाले घरले छेकेर मलाई देख्नुभएन। बाँकी तीन जनासँगै हिँडिरहेको देख्नुभयो। हामी सबै आज हेडसरको हातबाट राम्रैसँग पिटाइखाइनेभो भनेर डरले काप्न थालिसकेका थियौं। मलाई नदेखेकाले पानी पिउन गएको हुँ भन्ने पार्नलाई सरले प्रेमलाई बोलाएको सुन्नेवित्तिकै नजिकैको धारामा पानी पिउँनथाले। 

उनीहरु डरले काप्दै हेडसरको नजिक गए म भने पानी पिउँदै बिस्तारै गएँ। हेडसर त त्यो बेलासम्म हातमा मोटो लौरो समातेर पिट्न तयार भएर उभिनुभएको थियो। चारै जनालाई कक्षा कोठामा अगाडि उभ्याएर सोध्न थाल्नुभयो,‘तिमीहरु कसलाई सोधेर बजार घुम्न गएको?’ तीनैजनाले केही बोल्न सकेनन् र टाउको निहुराए। 

तीनैलाई पालैपालो हात थाप्न लगाउँदै निकै जोरसँग एक–एक डन्डा हान्नुभयो। डन्डा खाने साथीहरु ऐय्या मरें भन्दै आँखा पिलपिल गर्न थाले। म भने पानी पिउन गएको भनेपछि पिटाइ खानबाट बचें। कसैले मलाई पनि उनीहरुसँगै गएको हो भनेर हेडसरसँग कुरा नलगाउँदा आफू पिटाइ खानबाट बचेकोमा केही खुसी भए पनि हेडसरले भएभरको बल लगाएर साथीहरुलाई पिटेको देख्दा ज्यादै दुःख लाग्यो।
 
हेडसरले साथीहरुको हातमा जोरले पिट्दा निस्केको आवाज अहिले पनि मानसपटलमा ताजै छ। हेडसरको त्यो दिन साथीहरुलाई दिएको सजायबाट पाठ सिक्दै उनीहरु पनि त्यसपछि कहिल्यै सजायको भागिदार भएनन् भने म झन् हुने कुरै भएन। अनावश्यक रुपमा स्कुलमा घुमेको देख्यो कि हेडसर रिसाइहाल्नुहुन्थ्यो। बिदाको दिन या बिदापछिको समयमा बजारतिर आयो भने पनि कतै हेडसर भेटिनुहुन्छ कि, भेटिनुभो भने कताबाट आएको, किन आएको भनेर सोध्नुहुन्छ कि भन्ने डर मनमा लागिरहन्थ्यो। कक्षामा प्रथम हुने विद्यार्थी भएकाले होला मलाई उहाँ निकै माया पनि गर्नुहुन्थ्यो।

गुल्मीमा जन्मिएर मेल्लेखबाटै शिक्षण पेसामा लागेका ज्ञवाली सर मेल्लेखबाट नै सेवा निवृत हुनुभएको छ। मेल्लेख क्षेत्रमा शिक्षाको ज्योति छर्नमा ज्ञवाली सरको महत्त्वपूर्ण योगदान छ। सेवा निवृत्त भए पनि उहाँलाई चिन्नेजान्ने सबैले सधैं सम्झिरहनेछन्। 
प्रतिक्रिया दिनुहोस्