शुक्रबार, मंसिर ६, २०७६

समाचार

आत्महत्या गर्ने पुरुष बढी, प्रयास गर्नेमा महिला धेरै

गत जेठ ३१ गते चितवनमा नारायणी नदीको पुलबाट हामफालेर एक महिलाले आत्महत्या गरिन्। नवलपरासीबाट दाजुसँगै स्कुटीमा चितवनस्थित घर जाँदै गरेकी ती महिलाले स्कुटीबाट ओर्लिएर नदीमा हाम फालेकी थिइन्। 

आत्महत्या गर्ने पुरुष बढी, प्रयास गर्नेमा महिला धेरै
काठमाडौं - गत जेठ ३१ गते चितवनमा नारायणी नदीको पुलबाट हामफालेर एक महिलाले आत्महत्या गरिन्। नवलपरासीबाट दाजुसँगै स्कुटीमा चितवनस्थित घर जाँदै गरेकी ती महिलाले स्कुटीबाट ओर्लिएर नदीमा हाम फालेकी थिइन्। 

गत शनिबार बुटवल उपमहानगरपालिका–२ का अध्यक्ष रमेश नेपालले आफ्नै कोठाको पंखामा झुन्डिएर आत्महत्याको प्रयास गरेका थिए। तर परिवारका सदस्यले बेलैमा देखेपछि ठूलो दुर्घटना टर्‍यो। 

३ भदौमा सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयभित्र नायब सुब्बा बच्चु केसीले विष सेवन गरी आत्महत्या गरे। 

बढ्दो आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौती बनेको छ। 

प्रहरी तथ्यांकअनुसार नेपालमा दैनिक १६ वटा आत्महत्याका घटना भइरहेका छन्। गत वर्ष ५ हजार ८१९ जनाले आत्महत्या गरेका छन्। यो संख्या बर्सेनि बढ्दो छ। आर्थिक वर्ष २०७१ र ७२ मा नेपालमा आत्महत्या गर्नेको संख्या ४ हजार ३३२ थियो। 

विश्वभर आत्महत्या गर्नेको संख्या वार्षिक ८ लाखभन्दा बढी छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संसारमा प्रत्येक ३ सेकेन्डमा एक जनाले आत्महत्या प्रयास गरिरहेका र ४० सेकेन्डमा १ जनाले आत्महत्या गरिरहेका छन्। 

आत्महत्याको यो दर बढ्दै जाने हो भने सन् २०२० सम्म प्रत्येक २० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने संगठनको अनुमान छ। 

गरिब देशमा बढी 

विश्वभर हुने आत्महत्यामध्ये ७५ प्रतिशतभन्दा बढी न्यून तथा मध्यम आयस्रोत भएका देशमा हुने गरेको डब्युएचओको तथ्यांक छ। विश्वभर हुने आत्महत्याका ८ लाख घटनामध्ये उच्च आय भएका देशमा २ लाखभन्दा थोरै छ। यही तथ्यांकका आधारमा डब्लुएचओले आत्महत्याको प्रमुख कारण कमजोर आर्थिक अवस्थालाई मानेको छ।

पुरुषको संख्या बढी 

विश्वभरमा हुने कुल आत्महत्याभन्दा २० गुणा बढी आत्महत्याको प्रयास मात्रै  हुने गरेको स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणीन्द्रप्रसाद बराल बताउँछन्। 

उनी भन्छन्, ‘आत्महत्यो प्रयास गर्नेमा पुरुषभन्दा महिला धेरै छन्। तर पनि आत्महत्या गर्नेमा चाहिँ पुरुषको संख्या बढी छ।’ पुरुषले बढी खतरनाक तरिका अपनाउने हुनाले यस्तो भएको डा बरालको भनाइ छ। 

डब्लुएचओका अनुसार विश्वमा आत्महत्याको जोखिम बढी भएका देशमध्ये नेपाल सातौं स्थानमा छ। तर महिला जोखिममा रहेको मुलुकमध्ये नेपाल तेस्रो स्थानमा छ। अरु देशमा जस्तै नेपालमा पनि आत्महत्याको जोखिममा महिलाहरु बढी भए पनि सन् २०१४ देखि २०१८ सम्मको तथ्यांक हेर्ने हो भने नेपालमा आत्महत्या गर्ने महिलाभन्दा पुरुषको संख्या धेरै छ। 

यसबीचमा ६ हजार ५११ महिला र ७ हजार ६६५ पुरुषले आत्महत्या गरेका छन्। 

किन हुन्छ आत्महत्या ?

आत्महत्या ठ्याक्कै यही कारणले हुन्छ भन्न सकिँदैन, मानसिक रोग विषेशज्ञ डा. वासु कार्की भन्छन्, ‘मान्छेलाई आत्महत्या गर्न बाध्य तुल्याउने धेरै कारण छन्– डिप्रेसन, असफल वैवाहिक जीवन, बहुविवाह, अतृप्त महत्त्वाकांक्षा, सामान्य आवश्यकता पूर्ति नहुनु, मायाप्रेममा धोका, असफलताजस्ता कारणले आत्महत्या हुन्छ।’

चिकित्सक र मनोविद्हरु आत्महत्याको मुख्य कारण मानसिक रहेको बताउँछन्। उनीहरुका अनुसार विभिन्न कारणले मानिसमा आउने चरम निराशाले मानिस आत्महत्या गर्न उद्यत हुन्छ। 
साथै तनाव व्यवस्थापन गर्न नसक्दा युवायुवतीले आत्महत्याको बाटो रोज्ने गरेका छन्। 

किशोरावस्थामा धेरै खालका तनाव सजिलै व्यवस्थापन हुन नसक्दा निराशा उत्पन्न हुने र त्यस्तो बेला किशोरकिशोरीले आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको डा. कार्की बताउँछन्। 

'मृत्युसँग सबैलाई डर लाग्छ। तर पनि मानिस किन आफ्नै हत्या गरिरहन्छन् त ?' मनोविद् पदमराज जोशी भन्छन्, ‘पटक–पटकको असफलता, वैवाहिक सम्बन्धमा उतारचढाव, आवेग, न्यून आर्थिक अवस्था, अधुरो प्रेम, एक्लोपन र दीर्घरोगी भएपछि मानिसहरू आत्महत्यासँग डराउँदैनन्। उनीहरूलाई सधैं जिन्दगीसँग गुनासो रहन्छ र उनीहरूको विकल्प नै मृत्यु बन्न जान्छ।’
 
आत्महत्या गर्नुअघिको संकेत 

विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्ने ७० प्रतिशतभन्दा बढी मानिसले आत्महत्या गर्नुअघि केही संकेत दिएका हुन्छन्।
 
उनीहरुले आफ्नो परीवार, साथीभाइसँग ती आत्महत्याबारे कुरा गर्ने, मृत्युबारे सोचिरहने, दु:खी भइरहेको मान्छे अचानक खुसी भएजस्तो देखिने र मर्ने उपायबारे सोधखोज गर्ने जस्ता संकेत उनीहरुले देखाउँछन्। 

आत्महत्याको प्रयासअगाडि व्यक्तिले कुनै न कुनै रूपमा कसै न कसैलाई यस्तो भाव व्यक्त गरेको हुन्छ त्यसैले यस्ता व्यवहार देखाउने मानिसलाई विशेष निगरानीमा राखेर उचित परामर्श दिनुपर्छ।बेलैमा उचित परामर्श दिन सकिएमा धेरैलाई आत्महत्याबाट रोक्न सकिने मनोविद्हरूको दाबी छ।

भ्रम र यथार्थ

हाम्रो समाजमा आत्महत्याको प्रयास गरेका व्यक्तिसँग नजिकका आफन्तले समेत पुन: त्यसबारे कुरा गर्नुहुँदैन भन्ने सोचाइ छ। तर, नजिकका व्यक्तिले आत्मीयतापूर्वक कुरा गर्दा त्यस्तो व्यक्तिलाई जीवन बाँच्न प्रेरणा मिल्ने मनोविद्हरू बताउँछन्।
 
भ्रम : महिलाको दाँजोमा पुरुषले बढी आत्महत्याको प्रयास गर्छन्।

यथार्थ : आत्महत्या गर्ने पुरुषको संख्या बढी भए पनि आत्महत्याको प्रयास भने महिलाले बढी गर्छन्।

भ्रम : एकपटक आत्महत्याको सोच वा प्रयास गर्ने व्यक्तिले सधैँ त्यस्तै सोच राख्छ। कसैले आत्महत्याको निर्णय गरिसकेको छ भने उसलाई कसैले रोक्न सक्दैन।

यथार्थ :  एकपटक आत्महत्याको निर्णय वा प्रयास गरेको व्यक्तिले सधैं त्यस्तै सोच राख्छ भन्ने सत्य होइन। यो संकटको अवस्था पार नहुँदासम्म मात्रै रहन्छ। यसलाई रोकथाम गर्न सकिन्छ। 

भ्रम : आत्महत्या रिस, राग, बदला र कायरताको परिणाम हो।

यथार्थ : आत्महत्या गर्ने धेरै व्यक्तिहरुले आफू अरुका लागि केही काम नलाग्ने अथवा आफू अरुका लागि बोझ भएको महसुस गर्छन् र आफ्नो अन्त्य भए आफन्तलाई सजिलो हुन्छ भन्ने सोचेर आत्महत्या गर्छन्।

भ्रम : आत्महत्या गर्ने व्यक्तिले अरुलाई थाहा नदिई सुटुक्क आत्महत्या गर्छन्।

यथार्थ : आत्महत्या गर्ने व्यक्तिले आत्महत्या गर्न सक्ने सम्भावनाहरु देखाएका हुनन्छन्। ७५ प्रतिशत मानिसहरुले आत्महत्यापूर्व विभिन्न संकेत दिएका हुन्छन्। 

आत्महत्याको जोखिममा को ?

गरिबी, एक्लोपन, बिछोड, डिप्रेसन जस्ता कुराले मानिसलाई आत्महत्याको लागि प्रोत्साहन गर्दछ। निम्न आय भएका, निराश र मानिसक रोग लागेका व्यक्तिमा  आत्महत्याको जोखिम हुने मनोचिकित्सक बताउँछन्। 

–उदासीन र लागूपदार्थको कुलतमा फसेका व्यक्ति
–भावनात्मक रुपमा विचलित भएका जस्तै– नजिकका व्यक्तिहरु गुमाएका, सम्बन्ध विच्छेदबाट विक्षिप्त आदि
–कुनै दीर्घरोगबाट ग्रसित
–समाजबाट बहिष्कृत
–कमजोर आर्थिक अवस्था भएका 

रोकथाम कसरी ?

–आत्महत्याको प्रयास गरेका वा त्यस्तो संकेत देखाएका व्यक्तिलाई राम्रो पारिवारिक सम्बन्ध कायम गर्ने, ऊसँग आत्मियतापूर्वक कुरा गर्ने, दैनिक क्रियाकलापमा सक्रिय र व्यस्त रहन सहयोग गर्ने। 
– कुनै व्यक्ति आत्महत्याको जोखिममा छ भने त्यसलाई एक्लै नछोड्ने र उचित परामर्श दिने। 
– जोखिममा भएको व्यक्तिको नजिक हातहतियार, औषधी तथा बिषादीहरु रहन नदिने। 

सरकारले यस वर्षबाट पहिलोपटक आत्महत्या रोकथाम तथा न्यूनिकरण सचेतनाका लागि बजेट छुट्ट्याएको छ। स्थानीय निकाय र प्रदेशहरुले समेत यो शीर्षकमा बजेट विनियोजन गरेका छन्। तर, यसको कार्यान्वयनको पाटो भने हेर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्