शुक्रबार, मंसिर ६, २०७६

समाचार

गंगामायाको वेदना वीर अस्पतालको भित्तामा... 

गंगामाया अधिकारी विगत ६ वर्षदेखि अस्पतालको बेडबाट न्यायको याचना गरिरहेकी छन्। 

गंगामायाको वेदना वीर अस्पतालको भित्तामा... 
काठमाडौं– गंगामाया अधिकारी विगत ६ वर्षदेखि अस्पतालको बेडबाट न्यायको याचना गरिरहेकी छन्। 

तत्कालीन विद्रोही माओवादीले ०६१ जेठ २४ गते चितवनको बकुलहर चोकमा गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेको थियो।

अनेक प्रयास गर्दा पनि छोराका हत्यारालाई कारबाही नभएपछि कृष्णप्रसादका आमा गंगामाया र बुबा नन्दप्रसाद आमरण अनशन बसे। 

नन्दप्रसादको अनशनका क्रममै निधन भयो। नन्दप्रसादको मृत्युपछि गंगामायाको न्यायको लडाइँ एक्लो बनेको छ। 

गंगामाया झन्डै ६ वर्षदेखि वीर अस्पतालको क्याबिन नम्बर ७ मा छिन्। गंगामायाले अस्पतालमै लेखेको कविताले न्यायमाथि औंला उठाइरहेका छन्-  

तिमी नै थियौ सिन्दूरपोते 
तिमी नै थियौ गाजल 
तिमी नै थियौ जुन र घाम
तिमी नै थियौ बादल।

फुटेको मुटु सिउँदै धागोले 
आफ्नो र अर्काको भन्दैन आगोले 
दुखिरहेछ मुटु, पोलिरहन्छ छाती 
योभन्दा अपराध कति गर्छौ ममाथि 

दुःख पनि रोपियो सु:ख खोसियो 
बाँकी भएको रगत मैदानमै पोखियो
मन्दिरमा बनेका छन् ढोकाहरू 
त्यही ढोकामा मारिएका छन् बोकाहरू 

मन्दिरमा देउता छन् छन त 
रगतको भोग खान्छन् खान त 
काँक्रो त चोर्‍यौ सरकार झ्याल पनि राखेनौ 
इज्जत र धर्मको ख्याल पनि राखेनौ 

टाई र सुटमा के शपथ खायौ सरकार 
के गर्न खोज्नु भाको हो सरकार 
सभ्यमानी हुन सिक्नुस् सरकार 
असभ्य मानिस नहुनु सरकार 

जालझेल गरे लाग्ला नि पाप 
रातो रगतमा कालो छाप 
सरकारको मनमा रहेछ नि खोट 
म निर्दोषको मनमा दियौ नि चोट 

सरकारको मनमा रहेछ नि खेल 
न्याय माग्ने पीडितलाई हाल्यौ नि जेल 
धेरै अपराध नगर सरकार 
कालो मोसो लगाउनु नपरोस् सरकार 

काखको बच्चा अपराधीले मारिदिए 
सत्यको न्याय दिएनौ सरकार 
सत्य खोज्न म कहाँ जाऊँ सरकार ?
सत्य खोज्न म कहाँ जाऊँ सरकार? 

सरकारको मनमा रहेछ खोट 
निर्दोषको मुटुमा पारिदियो चोट 
न्याय नखोज्ने को होला लाटो 
निर्दोषको रगतले मुछिदियौ माटो

आफ्नो न्याय माग्दै छ बोलीले 
निर्दोष छोरालाई मारिदियौ गोलीले 
सरकारको मनमा रहेछ खेल
न्याय माग्नेलाई नै हालिदेऊ जेल 

सत्यको न्याय दिएनौ सरकार
न्याय खोज्न कहाँ जाऊँ सरकार 
न्यायको ढोका कतिसम्म कुर्ने ?
दुई जनालाई फाँसी दिएर पनि नपुग्ने ?

सिउँदोको सिन्दूर पुछिदियौ सरकार 
नाडीको चुरा फुटायौ सरकार 
गलाको पोते छिनाइदियौ 
श्रीमान्लाइ पनि मारेरै छाडयौ।


यो  पनि पढ्नुस्

सात नम्बर क्याबिनमा एक्लिएकी गंगामाया


गंगामाया अस्पतालभित्रै नजरबन्दमा !
प्रतिक्रिया दिनुहोस्