शुक्रबार, मंसिर ६, २०७६

समाचार

नबिल बैंक रकम लुटपाटबारे प्रहरीले फेरि थाल्यो अनुसन्धान 

केही दिनपहिले कैलालीको धनगढीबाट पक्राउ परेको अपराधिक समूहको संलग्नता नबिल बैंकको रकम लुटपाटमा हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। 

नबिल बैंक रकम लुटपाटबारे प्रहरीले फेरि थाल्यो अनुसन्धान 
धनगढी- केही दिनपहिले कैलालीको धनगढीबाट पक्राउ परेको अपराधिक समूहको संलग्नता नबिल बैंकको रकम लुटपाटमा हुन सक्ने आशंकामा प्रहरीले फेरि अनुसन्धान थालेको छ। 

प्रहरीले धनगढी उपमहानगरपालिका-६, मटियारीका सञ्जय राणा भनिने सञ्जय समशेर राना, सोही ठाउँका कमलबहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीकाे साथबाट चार पेस्तोलसहित सुनका गहना र सरकारी कार्यालयका नक्कली छाप, ट्राफिक प्रहरीले प्रयोग गर्ने सेतो बेल्ट, सिट्टीकर्ड, आर्मब्याज, चेस्ट नेम प्लेट र प्रहरीले प्रयोग गर्ने निलो चुस्तासमेत बरामद गरेकाे छ ।  

नबिल बैंकको रकम लुटपाटमा प्रयोग गरिएका सामान र बरामद् गरिएका सामानसँग मिलेकाले त्यसबारे अनुसन्धान केन्द्रित पारिएको प्रहरी स्रोतले जनाएको छ। 

२०७० मंसिर २६ गते कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न ल्याउँदै गरिएको दुई करोड ३० लाख ६० हजार रुपैँया र दुई सय अमेरिकी डलर पूर्व-पश्चिम राजमार्गस्थित कैलालीको मालाखेती जंगलमा दिउँसै लुटिएको थियो। हतियारसहित ट्राफिक प्रहरीको भेषमा रहेका लुटेरा समूहले बैंकका कर्मचारी सवार म१च १४६ नम्बरको जिपलाई नियन्त्रणमा लिएर रकम लुटेका थिए। 

कैलाली प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सुदीप गिरीले उक्त समूहबाट प्रहरीले प्रयोग गर्ने पोसाकसहितका विभिन्न सामग्री फेला पारेकाले नबिल बैंकको रकम लुटपाट प्रकरणतर्फ पनि अनुसन्धान केन्द्रित भएको बताए। ‘हतियारसहित पक्राउ परेकाले यो समूह ठूलै अपराधिक गतिविधिमा संलग्न हुनसक्छ’, गिरीले भने, ‘प्रहरीले प्रयोग गर्ने पोसाकसहितका सामग्री पनि फेला परेकाले नबिल बैंकको रकम लुटपाट प्रकरणको कनेक्सनबारे खोजी भइरहेको छ।’ 

यो समूहको संलग्नता मिटर ब्याजमा मात्र सीमित नभएर थुप्रै अपराधिक गतिविधिमा देखिएको प्रहरीले जनाएको छ।  

नबिल बैंकको रकम बोकेको उक्त जिपमा चालक वीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र अडिटर शुक्रराज भट्टराई रहेका थिए। बैंकका कर्मचारीकै मिलेमतो हुन सक्ने आशंकामा प्रहरीले केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि गरेको थियो। तर, प्रहरीले अनुसन्धान सफल हुन सकेको थिएन। प्रहरीले थुपै्र पटक अनुसन्धान टोली गठन गरे पनि कुनै अपराध नजिक पुग्न सकेनन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गर्दासमेत केही पत्तो लागेको थिएन। 

पक्राउ परेका व्यक्तिमध्ये राना हतियार, सुन, मिटरब्याज, ढुकुटी लगायतका अवैध धन्दामा संलग्न भएको प्रमाण भेटिएको छ। केही वर्षअघि मृत्यु भएका धनगढी गाउँका खेम रानाको मृत्युमा पनि राणाको नाम जोडिएको छ। उनकै कारण धनगढी चौराहाका व्यापारी मनिष शर्मा धनगढीबाट फरार भएको स्रोतले जनाएको छ।  

प्रहरीले बरामद् गरेका सामान 

ट्राफिक प्रहरीले प्रयोग गर्ने सेतो बेल्ट  १ थान

सिट्टीकर्ड, आर्मब्याज,चेस्ट नेम प्लेट   १-१ थान

प्रहरीले प्रयोग गर्ने निलो चुस्ता           १ जोर

बा२०च ४२२० नम्बरको कार             १ थान

से२प ३१२४ नम्बरको मोटरसाइकल    १ थान

अन्य विभिन्न कागजात तथा खाली लेटर प्याड, चेक बनाउन प्रयोग हुने पेपर लगायतका सामग्री    
 

 
प्रतिक्रिया दिनुहोस्