बुधबार, कात्तिक २७, २०७६

समाचार

प्रदेश प्रमुखको दैनिकी : चार पाइला हिंडेर अफिस, दिनभर फुर्सद

झण्डै डेढ वर्षअघि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नियुक्त गर्दा प्रदेश प्रमुखहरु निकै चर्चामा थिए। 

प्रदेश प्रमुखको दैनिकी : चार पाइला हिंडेर अफिस, दिनभर फुर्सद
सुर्खेत– झण्डै डेढ वर्षअघि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नियुक्त गर्दा प्रदेश प्रमुखहरु निकै चर्चामा थिए। 

कार्यकाल सकिंदै गरेको सरकारले गरेका नियुक्ति अमान्य हुने भन्दै तत्कालीन एमालेले गरेको चर्को विरोधले त उनीहरुको चर्चा झन् बढाएको थियो। त्यसमाथि, संघीयताको भर्खरै अभ्यास सुरु भएका बेला प्रदेश प्रमुखको नियुक्तिप्रति सबैको चासो चुलिनु स्वभाविक पनि थियो।

३ माघ २०७४ मा तत्कालीन मन्त्रिपरिषदले नियुक्त गरेका प्रदेश प्रमुखहरु हिजोआज के गरिरहेका होलान् त ? यो जिज्ञाशाको उत्तर खोज्ने क्रममा हामीले कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाललाई भेट्यौं। 

धेरैलाई लाग्नसक्छ, उनलाई प्रदेशको कामले भ्याइनभ्याई होला। तर, खनालको व्यस्तता त्यती धेरै छैन। 

प्रदेश संसदले पारित गरेका कानून प्रमाणिकरण गर्ने, संसदको बैठक आह्वान र अन्त्य गर्ने, वर्षको एकदिन संसदमा गएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने। यस्तै सामान्य कामबाहेक कर्णालीका यि प्रमुख फुर्सदमै हुन्छन्।

राजनीतिक र सरकारी अधिकारीहरुसँगको भेटघाट, औपचारिक कार्यक्रमहरुमा सहभागिता जस्ता कामबाहेक फुर्सदको समयमा उनी पुस्तक पढ्छन्। 

संघीय सरकारको प्रतिनिधिका रूपमा रहेका उनको प्रदेशमा कार्यकारी भूमिका छैन। आवास र कार्यालय एउटै परिषरभित्र भएकाले समय अझ धेरै वचत भइरहेको छ।

अहिलेसम्म के–के गरे?

खनालले ७ माघ, २०७४ मा प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए। त्यसलगत्तै उनले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ ग्रहण गराए। करिब डेढ वर्षको अवधिमा उनले प्रदेश संसदले पारित गरेका विभिन्न २५ वटा कानुन प्रमाणिकरण गरेका छन्। यो अवधिमा प्रदेश सरकारले ल्याएका तीन वटा नीति तथा कार्यक्रम पनि उनले संसदमा प्रस्तुत गरे। 

यसबाहेक वर्षमा दुई पटक संसद बैठक आह्वान र अन्त्य गर्ने, औपचारिक कार्यक्रमहरुमा सहभागी हुने बाहेक उनको जिम्मामा धेरै कामहरु छैनन्। 

समाचारमा चासो 

खनाल फुर्सदको समयमा पुस्तक, पत्रपत्रिका पढ्न रुचाउँछन्। विज्ञान, दर्शन र राजनीतिमा उनलाई बढी चासो छ। 

विदेशी लेखकका पुस्तक धेरै पढ्ने उनी नेपालमा नपाइने पुस्तकहरु बाहिरबाट झिकाउँछन्। अमेरिकाबाट प्रकाशित हुने केही पत्रिका र पुस्तकहरु अमेरिकी दूतावासको समन्वयमा कार्यालयमै मगाउने गरेको उनी बताउँछन्। उनी भन्छन्, “विश्वमा भइरहेको परिवर्तन र समसामयिक अन्तर्राष्ट्रिय घटनाक्रमबारे पनि अपडेट हुनै पर्‍यो।” 

नियमित ‘मर्निङ्ग वाक’

७३ वर्षीय खनाल नियमित बिहान र साँझ केही बेर हिंड्छन्। ‘इभिनिङ्ग वाक’ ले दिनभरको थकान मेटाएर स्फूर्ति दिने गरेको उनको अनुभव छ। उनी भन्छन, “बिहान र साँझ केही बेर हिंडदा स्वास्थ्य तन्दरुस्त हुन्छ र मनमा शान्ति मिल्छ।”

यसरी हिंडदा उनीसँग एकजना अंगरक्षक बाहेक सुरक्षाकर्मीको दलबल हुँदैन।

सरल स्वभावका यि प्रदेश प्रमुखका स्वकीय सचिव र अन्य कर्मचारीहरु भए पनि आफूलाई आउने फोन आफैं ‘रिसिभ’ गर्छन्। भेटघाटका लागि पनि सहज छन्।
कार्यालय समय र प्रदेश बाहिर जानु परेको अवस्थामा बाहेक उनको समय धेरै जसो परिवारसँग वित्छ। 

विश्वास नलागेको समाचार ...

२०७४ माघ ३ गते राति ८ बजे उनी सधैँ झैं टेलिभिजनमा समाचार हेर्दै थिए। समाचारमा सातवटै प्रदेशमा प्रमुखहरुको नियुक्तिको खबरसँगै उनको नाम पनि आयो। 
उनी भन्छन, “टेलिभिजनले नाम भनिसक्दा पनि विश्वास लागेको थिएन, प्रधानमन्त्री कार्यालयदेखि पार्टी कार्यालयसम्म फोन लगाएँ, सबैले अब सपथ खान आउनु भनेपछि मात्र विश्वास लाग्यो।”

आफूले देश र समाजमा परिवर्तनका लागि निर्वाह गरेको भूमिकाका कारण सरकारले प्रदेश प्रमुख नियुक्त गरेको उनको बुझाई छ। 

डोटीमा जन्मिए, सुर्खेतमा हुर्किए

पुर्ख्यौली घर गोर्खा भए पनि खनालका बाजे जागिरको सिलसिलामा डोटी पुगेका थिए। बाजेसँग उनका बुवा पनि डोटी गए। २००३ सालमा चन्द्रकेशर खनाल र भागिरथीका काईंला सन्तान दुर्गाकेशर खनाल जन्मिए।
 
डोटीमा जन्मिए पनि उनको औपचारिक शिक्षा सुर्खेतबाट शुरु भयो। त्यसपछि उनी अध्ययनका क्रममा काठमाडौं हुँदै बनारससम्म पुगे। यसैक्रममा विद्यार्थी राजनीति शुरु गरेका उनी नेपाली कांग्रेसमा आवद्ध भए। 

२०२८ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र भेरी अञ्चल प्रतिनिधि रहेका उनी केही समय शिक्षक पनि थिए। २०३६ देखि २०४८ सालसम्म नेपाली कांग्रेसको सुर्खेत जिल्ला नेतृत्व सम्हालेका खनाल २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य थिए। 

‘कर्णालीको विकासमा जुटौं’

कर्णालीको आधाभन्दा धेरै जनसंख्या गरिबीको रेखामुनि छ। यसकारण पनि प्रदेशको विकासमा सबै राजनीतिक दल र नागरिक एक जुट हुनुपर्ने खनाल बताउँछन्।
 
उनी भन्छन्, “यहाँको गरिबी र अभावका बारे हामी नै जानकार छौं, बाहिरबाट आएर कसैले विकास गरिदिंदैन। त्यसैले यहाँका हामी जो जुन पदमा छौं, सबै एकजुट हुनुपर्छ।” 

यसमा सबैभन्दा ठूलो भूमिका राजनीतिक नेतृत्वको हुने उनको धारणा छ।
प्रतिक्रिया दिनुहोस्