बुधबार, कात्तिक २७, २०७६

ब्लग

‘ह्याप्पी फादर्स डे मम्मी !’

‘ह्याप्पी फादर्स डे मम्मी !’
१० वर्षकी थिएँ, मम्मीले एक सयको नोट दिएर ‘राम्रोसँग पढे है नानी’ भनेर परदेश लाग्दा । पहिलो पटक समाएकी थिएँ, एक सयको नोट । 

मुठ्ठी पारेको हातभित्रको हरियो नोटले के के मात्र किन्न पाइएला ! अलिक परको बजार र साथीहरु सम्झेर रोमाञ्चित थिएँ, सायद । यो रोमाञ्चले मम्मीसँगको विछोडलाई मथ्थर पारिदिएछ क्यारे ।

११ वर्षपछि अहिले, सम्झन खोज्दा लाग्छ, आमा विदेश जाँदा म उती धेरै हतास थिइन् । बरु त्यसपछिका दिनहरु सम्झँदा अहिले पनि आँशु आउँछ । 

यो अवधिमा जम्माजम्मी एक पटक मात्रै अंगालो हाल्न पाएकी छु मम्मीलाई । मम्मीको शरीरको सुगन्ध, उहाँको हातको स्पर्श, नानीऽऽ भनेर उहाँले बोलाउँदा मनमा हुने बेग्लै हलचल... मैले धेरै महशुस गर्न पाएकी छैन । 

तर पनि मम्मीसँग टाढा छैन, मेरो मनभरी मम्मी मात्रै हुनुहुन्छ ।  अफिसको शान्त कोठामा ढोकाबाट पस्ने हावामा मम्मीको सुवास महशुस गर्न खोज्छु ।  बेलुका बत्ति बाल्ने बेला मम्मीको आवाज सुन्न खोज्छु । 

यो ब्यग्रतासँगै मेरी आमा छन्, कतै टाढा मेरै निम्ती पसिना बगाइरहेकी भन्ने यथार्थले पनि ठूलो सहारा दिन्छ ।  त्यसैले त बेलाबखत फोनमा कुरा हुँदा भन्न सक्छु, ‘मम्मी म ठिक छु ।’ 

‘नानी तिमीलाई को सँग बस्न मन छ ?” अदालतमा वकिलले सोध्दा मैले निर्धक्क भनेकी थिएँ, ‘मम्मीसँग अंकल’ । 

अहिले लाग्छ केही बुझेर वा नबुझेरै त्यसबेला मम्मीलाई रोजेका कारण मैले उहाँभित्र बाबा पनि पाएकी छु । 

उतीबेला हरियो नोटको रोमाञ्चमा हौसिए पनि समयवित्दै जाँदा भने मलाई परिवारको अभाव महसुस हुन थाल्यो । कहिलेकाहीँ त आमा–बुवा कोही सँगै नहुँदा, म चाहिँ किन छु जस्तो लाग्थ्यो । आफैंलाई चिथोरौं झैं हुन्थ्यो, आफ्नै अस्तित्व स्वीकार्न धौ हुन्थ्यो ।

‘प्यारेन्टस् डे’ मा साथीहरु आफ्ना आमा–बुवाको हात समाउँदै स्कुल आएको देख्दा म तडपिन्थेंं । 

स्कुलको वार्षिकोत्सवमा शिक्षकले घाँटीभरी मेडल लगाइदिएर हातमा सर्टिफिकेट थमाइरहँदा पछाडिबाट ताली पिटिदिने, स्याबास भन्दै ग्वामल्वांग अँगाल्नो हाल्ने कोही भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । हातमा बीस-तीस रुपैयाँ बोकेर स्कुल जाँदा, बरु टिफिन बट्टामा आमाले भुटेको भात लैजान मन लाग्थ्यो । 

‘घरमा को को छ ? तिम्रो बाबा के गर्नुहुन्छ?’ साथीका बुवा–आमा वा भेट भएका नयाँ मान्छेले सोध्ने सामान्य प्रश्न हो यो । अरुका लागि निकै सहज यस्ता प्रश्नहरु मेरा लागि भने कैयौं कोर्रा हाने सरह हुन्थे । 

जवाफ नदिउँ अपमान गरेजस्तो हुने, दिएपछि ‘विचरा...’ सुन्नु पर्ने । त्यसमाथि प्रश्न सोध्नेको अनुहारमा यस्तो भाव हुन्थ्यो कि, मानौं हप्तौंदेखि भोकै, सर्वस्व लुटिएकी एउटी कमजोर केटी उनका सामुन्ने उभिएकी छ ।

यस्तो बेला लाग्थ्यो, बुवाले त छोड्नु भयो, मैले रोजेकी मम्मी पनि हामीलाई छोडेर किन विदेश गएको होला । 

तर, अहिले लाग्छ, मेरी मम्मीका पनि त रहर थिए होलन् । तीजमा छड्के तिलहरी लगाएर कम्मर भाँच्ने, छोराछोरीको हात समाउँदै स्कुल लैजाने, उनीहरुलाई आफ्नै हातले खुवाउने । यस्ता सबै रहर सर्लक्कै एकातिर पञ्छाएर विदेश जाँदा मम्मीलाई पनि कहाँ सहज थियो र !

आम्दानी केही नहुँदा साना दुई सन्तानलाई हुर्काउनु, बढाउनु र पढाउनु मम्मीलाई सहज थिएन ।  एक्ली महिला उहाँ, सामुन्ने चुनौतिका ठूल्ठूला पहाड देखेर आत्तिनु भएन । बरु त्यो पहाड उक्लिने आँट गर्नुभयो । परिवार पाल्नकै लागि, हाम्रो शिक्षादीक्षाका लागि विदेशिनुभयो । 

लाउँला खाउँलाकै उमेरमा डिभोर्सपश्चात् पुन विवाह गर्ने विकल्प पनि खुलै थियो उहाँसँग । तर, मम्मीले हाम्रो खुशीमै आफ्नो खुशी देख्नुभयो, हामीलाई नै रोज्नुभयो । 

अर्काको देशमा पसिना बगाएरै सही सन्तानलाई भौतिक अभाव हुन दिनुभएन । हाम्रो समाज र प्रचलन अनुसार बुवाको जिम्मेवारी पनि सबै उहाँले नै लिनुभयो । आफूले वर्षभरी एउटै लुगा लगाए पनि हाम्रा लागि महिनैपिच्छे सपिङ गरिरहनुभयो । 

आफूले जताततै चर्केको मोबाइल बोके पनि हाम्रो हातमा नयाँ मोबाइल दिनुभयो । आफू दैनिक १६ घण्टाको कामपछि साँघुरो ओछ्यानमा रात विताए पनि हाम्रो डस्नाको मोटाई कहिल्यै घट्न दिनुभएन ।  

अहिले म खुलेर भन्न सक्छु, ‘म एक्ली बहादुर आमाकी छोरी हुँ ।’ 

उहाँ घरमा नभएर के भयो त सधैं मेरो मनमा हुनुहुन्छ । परिवारमा बाबा नभएर के भयो त मम्मीले दुबैको जिम्मेवारी एक्लैले पूरा गरिरहनुभएको छ । मम्मीले आफ्ना इच्छा सबै थाँती राखेर हाम्रा लागि बाबु र आमा दुबै बनिदिन सक्नुहुन्छ भने म आज बुवाको मुख हेर्ने दिनमा उहाँकै मुख किन नहेरुँ ? 

म हुर्किएको समाजमा बुवाको जुन स्थान छ, त्यसलाई अतिक्रमण गरेर मम्मीले हामीलाई सही बाटो डोर्‍याउन कुनै कसर बाँकी राख्नु भएन । 

त्यसैले किन म उहाँलाई नभनूँ, ‘ह्याप्पी फादर्स डे मम्मी ।’ मेरी मम्मी मात्र होइन सबै एकल आमाहरुलाई ‘ह्याप्पी फादर्स डे !’ 

 
प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप