शुक्रबार, कात्तिक २९, २०७६

समाचार

४२ बालबालिकाले एकै स्वरमा भने- 'ह्याप्पी फादर्स डे  बुवा'

नवजीवन बालविकास केन्द्रको आँगनमा बिहानै भेला भएका यी सबै बालबालिकाले एकै स्वरमा ह्याप्पी फादर्स डे बुवा भन्दा मोहनदास गुरुङका आँखा रसाइरहेका थिए । 

४२ बालबालिकाले एकै स्वरमा भने- 'ह्याप्पी फादर्स डे  बुवा'
सुर्खेत- आज शुक्रवार कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन । बुवा अर्थात असल अभिभावक, परिवारको हिम्मत र विश्वासप्रति श्रद्धा व्यक्त गर्ने विशेष दिन ।

अधिकांश छोराछोरीका लागि आफ्ना बुवा महान नै हुन्छन् । तर, केही यस्ता बुवा पनि हुन्छन् जसले सबै बालबालिकालाई आफ्ना सन्तान जस्तै स्नेह दिन्छन्, उनीहरुको अभिभावकत्व ग्रहण गर्न पछि हट्दैनन् ।

त्यस्तै हिम्मतिला र स्नेही अभिभावक हुन सुर्खेतका मोहनदास गुरुङ जसले ४२ बालबालिकालाई हुर्काइरहेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित नवजीवन बालविकास केन्द्रमा २१ छोरी र १९ छोरालाई अभिभाकत्व दिइरहेका छन् उनले । 

झट्ट हेर्दा होस्टेल जस्तै लाग्ने 'नवजीवन बालविकास केन्द्र' यि बालबालिकाको साझा घर हो । उनीहरु सबैका 'बुवा' हुन् मोहनदास, जसको दिनरात यिनै बालबालिकाको लालनपालनमै वित्छ ।

बिहीबार बालविकास केन्द्र पुग्दा मोहनदासको काखमा लडिबुडी गर्दै थिए करिब दर्जनभर बालबालिका । उनी भन्छन्, 'रक्त सम्बन्ध नभएर के भो, आफ्नै सन्तान जस्तै लाग्छन् यि सबै ।'

आज बुवाको मुख हेर्ने दिन यि ४२ बालबालिकाका बीचमा 'बुवाको मुख हेर्ने दिन' मनाइरहेका छन् उनी । केन्द्रको आँगनमा बिहानै भेला भएका यी सबै बालबालिकाले एकै स्वरमा ह्याप्पी फादर्स डे बुवा भन्दा उनका आँखा रसाइरहेका थिए । 

आमाबुवा गुमाएका, अभिभावकले अलपत्र छोडेका बालबालिकालाई संरक्षण र स्याहार दिइरहेका छन् मोहनदासले । उनले कुनै बालस्याहार केन्द्रको व्यवस्थापक जस्तो होइन, घरमा आफ्ना सन्तानलाई हुर्काए जसरी हुर्काइरहेका छन् यि केटाकेटी ।
 
डोल्पा, मुगु, हुम्ला, जाजरकोट, सुर्खेत, रामेछाप सहित १० जिल्लाबाट आइपुगेका बालबालिकाको पालनपोषण, शिक्षा आदि सबैको जिम्मेवारी उनकै काँधमा छ । केही बालबालिका गुरुङकै काखमा हुर्किएर जवान भइसके । 'आफ्नो जीवन आफैं सम्हाल्ने भएर गए उनीहरु, राम्रै गरिरहेका छन्,' मोहनदास भन्छन् ।


 
नदी किनारको परिवार

२०५४ सालतिर मोहनदास र उनका साथीहरुले भेरी नदी किनारमा वनभोज आयोजना गरेका थिए ।  त्यहाँ नजिकै छाप्रोमा दुई छोरी सहितकी एक महिला बसेका रहेछन् ।  उनीहरुले त्यो परिवारलाई पनि खान ख्वाए, बनभोजको रमाइलो गरे, फर्किए ।
 
त्यसपछि दुई तीन पटक नदी किनार पुग्दा त्यो परिवार उस्तै अवस्थामा त्यही छाप्रो देखेपछि मोहनदासले सोधखोज गरेछन् । थाहा भयो, भेरी नदीमा पुल बनाउने ठेक्का लिएकामध्ये कसैले ती महिलालाई विवाह गरे, निर्माणको काम सकिएपछि उनीहरुलाई अलपत्र छोडेर भागेछन् ।
 
उनीहरुका कुरा सुनेर फर्किएका गुरुङले करिव एक महिनापछिको एउटा विहान आफ्नै आँगनमा उनै तीन आमाछोरीलाई देखे । जीवन गुजाराको कुनै उपाय नभएको त्यो परिवार आफ्ना कुरा सुनिदिएका मोहनदाससँग सहयोग माग्न आएको रहेछ । कोमल हृदयका गुरुङले ती दुई बालिकाको भरणपोषणाको जिम्मा लिए ।
 
जिम्मा त लिइहाले तर, कसरी हुर्काउने ? आफूसँग प्रशस्त धनसम्पत्ति पनि थिएन । यसबीच गुरुङले बेसहारा दुई बालिकालाई साहरा दिएको कुरा गाउँघरमा फैलिसकेको थियो र थप तीन शिशु पनि उनको संरक्षकत्वमा आइपुगेका थिए । केही सिप नलागेपछि उनले आफूसँग भएको मोटरसाइकल ६० हजारमा रुपैयाँमा बेचेर २०५५ साल माघ महिनादेखि नवजीवन बालविकास केन्द्र स्थापना गरे ।
 
२०६४ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि केन्द्रले कानूनी मान्यता पाएको छ ।
 
अहिले करिव चार कठ्ठा जग्गामा बालविकास केन्द्र फैलिएको छ । त्यही जग्गामा गुरुङले भैंसीपालन र तरकारी खेती गरेका छन् ।  यसबाट हुने आम्दानी र गुरुङकै अभिभावकत्वमा हुर्किएर अहिले विभिन्न ठाउँमा काम गरिरहेकाहरुले गरेको सहयोगले केन्द्रको खर्च चलिरहेको छ । त्यसबाहेक बेलाबेला कोही मनकारीले सहयोग पनि गरिदिन्छन् । 

कसले सम्हालिदेला ?

गुरुङ अहिले ६८ वर्षका भए । चढ्दो उमेरसँगै गुरुङलाई यी बालिबालिकाको चिन्ताले सताउन थालेको छ । 

उनी भन्छन, 'मेरो उमेर ढल्किंदै छ, अब यी बालबालिकाको भविष्यबारे चिन्ता लाग्न थाल्यो । उनीहरुको बुवा भने पनि अभिभावक भने पनि म एक्लै हो, भोलिका दिनमा उनीहरुलाई कसले हेर्ला ?' 
आफूपछि यि बालबालिकाको जिम्मा यहीबाट हुर्किएका कसैले लिइदिए हुन्थ्यो भन्ने उनको चाहना छ । भन्छन, 'मलाई संस्थाको भन्दा पनि बालबालिकाको चिन्ता बढी छ ।' 

यहाँबाट हुर्किएर बाहिर गएका छोराछोरीले उनलाई कसरी सम्झन्छन् होला त ? हामीले यही प्रश्न सोध्यौं गुरुङलाई । उनले भने, 'मेरो संरक्षणमा हुर्किएकाहरु कोही विदेशमा छन्, कोही यतै रोजगारीमा छन्, बेलाबेला उपहार ल्याएर भेट्न आइराख्छन् ।'

हाल विभिन्न ठाउँमा रोजगारी गर्ने उनीहरुले केन्द्रको सहयोगार्थ दाजुभाई र दिदीबहिनी क्लबमार्फत कोष खडा गरेका छन् । संस्थामा रहेका बालबालिकालाई अप्ठेरो पर्दा त्यही कोषले भरथेग गर्छ ।
यद्यपि, यो कोष पनि पर्याप्त भने  छैन । 

आर्थिक अभावकै कारण एसईई परीक्षापछि राम्रो अंक ल्याएका जेहेन्दार बालबालिकालाई माथिल्लो कक्षामा पढाए पनि अरुलाई भने रोजगारमूलक प्राविधिक शिक्षा दिने गरेको गुरुङ बताउँछन् । 
थोरै खर्चमा पढ्न सकिने प्लम्बिङ, मोटर मेकानिक जस्ता प्राविधिक शिक्षा दिएर आत्मनिर्भर बनाइरहेको उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्