बुधबार, कात्तिक २७, २०७६

समाचार

कंक्रिटले भरिँदै वीरेन्द्रनगर, वार्षिक एक हजार नयाँ घर

कर्णाली प्रदेशको राजधानी बनेपछि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा नयाँ घर निर्माणको क्रम अत्यधिक बढेको छ।

कंक्रिटले भरिँदै वीरेन्द्रनगर, वार्षिक एक हजार नयाँ घर
सुर्खेत- कर्णाली प्रदेशको राजधानी बनेपछि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा नयाँ घर निर्माणको क्रम अत्यधिक बढेको छ। यसअघि क्षेत्रीय सदरमुकामका रुपमा रहेको वीरेन्द्रनगर प्रदेश राजधानी बनेसँगै सेवासुविधा बढ्ने आशमा घडेरी किन्ने र घर निर्माणको होडबाजी नै चलेको हो। जसका कारण वीरेन्द्रनगर उपत्यका दिनप्रतिदिन कंक्रिटले भरिँदै गएको छ।

प्रदेश राजधानी बनेपछि विषेशगरी कर्णालीका पहाडी तथा हिमाली जिल्लाबाट वीरेन्द्रनगरमा बसाई सरेर आउनेको संख्या बढेको छ। यस्तै व्यवसाय र रोजगारीको सम्भावना बढेसँगै जग्गा खरिद र घर निर्माण पनि बढेको छ। यसअघि पर्याप्त खेतियोग्य जमिन रहेको वीरेन्द्रनगर विस्तारै कंक्रिटमा परिणत हुँदैछ। घर निर्माणको क्रम बढेपछि खेतीयोग्य जमिन घट्दै गएको छ। 

विगतमा फाट्टफुट्ट बसाई सरेर आउने हरुले वीरेन्द्रनगरमा जग्गा खरिद गर्ने गरेका थिए। पछिल्लो समय अधिकांशले भविष्यमा थप मूल्य बढ्ने आशमा घडेरी खरिद गरिरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। नयाँ घर निर्माणका लागि नक्सा पास गर्नेहरुको नगरपालिका कार्यालयमा भीड नै लाग्ने गरेको छ।

राजधानी बनेको डेढ वर्षको अवधिमा सबैभन्दा बढी नयाँ घर वीरेन्द्रनगरको उत्तरगंगा र लाटीकोइली क्षेत्रमा बनेका छन्। त्यहाँ घडेरीको कारोबार बढी छ। कतिपयले नक्सा नै पास नगरेर घर बनाउने गरेका छन्। जसले गर्दा एक वर्षमा बनेका नयाँ घरको एकीन तथ्यांक नगरपालिकासँग छैन। 

जग्गाको कारोबार बढेसँगै आफूखुसी बाटो खन्ने र जग्गा पल्टिङ्ग गर्ने क्रम पनि बढेपछि उपत्यका कुरुप हुँदै गएको छ।

वार्षिक एक हजार नयाँ घर

गत आर्थिक वर्षमा मात्र वीरेन्द्रगरमा घर निर्माणका लागि नौ सय ७४ वटा नक्सा पास भएका छन्। यो अवधिमा पाँच सय ७५ वटा नयाँ घर निर्माण सम्पन भएको तथ्यांक नगरपालिकासँग छ।

कतिपयले नक्सा नै पास नगरेर घर निर्माण गरिरहेका छन्। प्रशासनिक झन्झट र खर्चिलो हुने भन्दै नगरपालिकामा नक्सा नै पास नगराएर घर बनाउनेको संख्या पनि धेरै छ। ‘पहिलाको भन्दा घर निर्माणको दर निकै बढेको छ’ नगरपालिकाको भवन तथा बस्ती विकास उपशाखाका अमिन मोहन कार्कीले भने, ‘राजधानी बनेपछि यहाँ सेवा र सुविधाको अपेक्षा धेरै छ, यसले बसाई सरेर आउनेको संख्या बढ्यो।’ उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा उपत्यकामा घर निर्माणका लागि आठ सय ३१ वटा नक्सा पास भएका थिए। त्यही वर्ष पाँच सय ७६ घर निर्माण सम्पन्न भएका छन्।

जग्गाको मूल्य बढेकोबढ्यै

धमाधम घर निर्माण र जग्गाको कारोबार वृद्धि भएपछि वीरेन्द्रनगरमा जग्गाको मूल्य पनि बढेको छ। मूल्य बढ्दा पनि जग्गा खरिद गर्नेहरुको संख्यामा कमी आएको छैन। अहिले मूख्य बजार क्षेत्र र राजमार्ग वरपर जग्गाको मूल्य प्रतिमिटर ७० लाखदेखि एक करोड रुपैयाँसम्म पुगेको छ।

यस्तै सहायक सडक र उपत्यकाका अन्य स्थानमा जग्गाको मूल्य बढेर प्रतिमिटर न्यूनतम तीनदेखि पाँच लाख रुपैयाँसम्म पुगेको छ। घडेरीको कारोबार बढेको र आफूखुशी जग्गा प्लटिङ हुन थालेपछि नगरपालिकाले केही समय अगाडि कित्ता काट गर्न प्रतिबन्ध लगाएको थियो। तर अहिले त्यसलाई केही खुकुलो बनाइएको छ।

बस्ती विकासको गुरुयोजना बनाउँदैछौं : मेयर सुवेदी

विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा बसाइ सरी आउनेको संख्या ह्वात्तै बढेको बताए। सुविधा र सेवा पाउने आशमा मानिसहरु दिनहुँ भित्रिरहेको उनको भनाइ छ। मेयर सुवेदीले भने, ‘नगरभित्र दिनदिनै ठूलठूला भवनहरु बनिरहेका छन्। हामीले नक्सा पास गराए मात्रै घर निर्माणको अनुमति दिने गरेका छौं। तर पनि आफूखुशी नक्साबिनै घर बन्ने क्रम पनि जारी छ।’

मेयर सुवेदीले यसरी जनसंख्याको चाप बढ्दै जाँदा आफूहरुले परिकल्पना गरेको सुन्दर वीरेन्द्रनगरमाथि चुनौती थपिएको बताए। वीरेन्द्रनगरमा थप व्यवस्थित बस्ती विकासको योजना बनाउन लागेको बताउँदै मेयर सुवेदीले अबको दुई महिनाभित्रै व्यवस्थित शहरीकरण र बस्तु विकासको गुरुयोजना तयार हुने बताए। ‘प्रदेश राजधानीलाई व्यविस्थत गर्न गुरुयोजना कार्यान्वयन गर्नेछौं। यसले नगरभित्रको खेतियोग्य जमिनलाई जोगाउँदै बस्ती रहने स्थानको निर्धारण गर्नेछ।’ 
प्रतिक्रिया दिनुहोस्