बुधबार, कात्तिक २७, २०७६

समाचार

कर्णालीको राजधानीमा चार लेनको सडक

अतिक्रमणले साँघुरिएको सडक। कालोपत्रे उप्किएर जताततै खाल्डाखुल्डी। घामलाग्दा धुलाम्य र पानी पर्दा हिलाम्मे।

कर्णालीको राजधानीमा चार लेनको सडक
सुर्खेत- अतिक्रमणले साँघुरिएको सडक। कालोपत्रे उप्किएर जताततै खाल्डाखुल्डी। घामलाग्दा धुलाम्य र पानी पर्दा हिलाम्मे।

केही समयअघिसम्म वीरेन्द्रनगरसम्मको धुलियाबिटदेखी बाङ्गेसिमलसम्म जोड्ने सडकको परिचय यस्तै थियो। यो अवस्थाले सवारी साधन र पैदल यात्रुले निकै सास्ती ब्यहोर्नु पथ्र्यो।

तर आज यही सडकको स्वरुप फेरिएको छ। चार लेनको फराकिलो र चिटिक्क छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै चार लेनको सडकले सहरको गौरव नै बढाएको छ। यतिमात्र होइन सडकमा यात्रा गर्न सजिलो पनि भएको छ।

विगतमा सवारी साधनको चाप अनुसार सडक फराकिलो नहुँदा धेरै दुर्घटना पनि भए तर अहिले यो खण्डमा दुर्घटनाको जोखिम पनि कम भएको छ।

‘वीरेन्द्रनगरमा सवारी जाम बढ्दो छ, तर चार लेन सडकका कारण दुर्घटना न्यूनिकरणमा केही सहज हुने छ’, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापती भन्छन्, ‘अब २० वर्ष पुराना सवारी सञ्चालन रोक लगाइयो र मनपरी रोक्नसके पैदल यात्रुलाई अझ सहज हुनेछ।’

अहिले पैदल यात्रु पहिलेको जस्तो मुख छोपेर हिड्नु पर्ने अवस्था छैन। सडकमा ढुक्कले घुमफिर र मर्निङवाक गर्ने वातावरण बनेको छ।

९० प्रतिशत काम सकियो

चारलेन सडकको काम अन्तिम चरणमा पुगेको छ। पहिलो र दोस्रो स्थानको काम सकिसके पनि अन्तिम चरणको काम थोरै बाँकी छ। तेस्रो चरणमा सिद्धार्थ होटलदेखि बाङ्गेसिमलसम्म १४ करोड ६३ लाख ३ हजार ८ सय ४१ रुपैयाँमा निर्माण सम्झौता भएको थियो।

सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर एवम् सूचना अधिकारी देवेन्द्र भट्टराईकाअनुसार सडकको ९० प्रतिशत काम सकिएको छ। यो खण्ड पनि आगामी एक महिनाभित्रै सकिने आशिष एण्ड शङ्कर जेभीले जनाएको छ।

बाँकी दुई खण्ड भने यस अघिनै निर्माण सम्पन्न भइसकेका छन्। करिब साढे ६ किलोमिटर सडकलाई चार लेन बनाउन तीन चरणमा विभाजन गरेर निर्माण थालिएको थियो। सडक डिभिजन कार्यालयले पहिलो चरणमा धुलियाबिटदेखी सञ्चयकोषसम्मको १४ करोड ३५ लाख ६४ हजार ५ सय ८० रुपैयाँ निर्माणको ठेक्का दिएको थियो। सूचना अधिकारी भट्टराईका अनुसार सञ्चयकोषदेखि सिद्धार्थ होटलसम्म १४ करोड ४० लाख ४१ हजार ५ सय ९१ रुपैयाँ ४० पैसामा निर्माण सम्पन्न भइसकेको छ।

एक वर्षभित्र सबै पुल बन्ने

चारलेन सडक बने पनि विभिन्न स्थानमा पुल बन्न भने अझै एक वर्ष लाग्ने भएको छ। चारलेन सडकका विभिन्न पाँच ठाउँमा पुल निर्माण भइरहेका छन्। सूचना अधिकारी भट्टराईका अनुसार सबै पुलहरू २०७७ साल माघ ११ गतेभित्र निर्माण गरिसक्नु पर्नेछ।

पक्की पुल निर्माणका लागि सडक विभागले सपना, आशिष, श्याम एण्ड शङ्कर जेभी कम्पनीलाई ३३ करोड १९ लाख ७७ हजार ६ सय १७ रुपैयाँ ३३ पैसामा ठेक्का दिएको छ। चारलेन सडक अन्तर्गत पर्ने गाग्रेताल खोला, नेवारेखोला, इत्राम खोला, खोर्केखोला र ढोडेखाली खोलामा पक्की बनिरहेका छन्। पुलको निर्माणमा समेत करिब ५० प्रतिशत काम सम्पन्न भइसकेका छन्।

सडकमै हरियाली बगैँचा !

वीरेन्द्रनगरमा निर्माण भएको चार लेन सडकको बीच भागमा अब हरियाली बगैचा निर्माण हुनेछ। बगैँचामा बिरुवा रोपिएपछि चारलेन सडक वातावरणीय हिसावले पनि वैज्ञानिक र सुन्दर देखिने अपेक्षा गरिएको छ। त्यसका लागि विभिन्न जातका करिब पाँच सय विरुवा रोप्न लागिएको छ।

यो सडकको बीचभागमा विरुवा रोप्न र बगैचा बनाउन झण्डै एक करोड रुपैयाँ खर्चिने योजना छ। प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत सुर्यप्रसाद शर्माले दिएको जानकारी अनुसार विरुवा रोप्न प्रदेश वन निर्देशनालयबाट ४५ लाख रुपैयाँ विनियोजन गरेको छ।

सोही सडकमा डिभिजन वन कार्यालयले पनि विरुवा रोप्न ५० लाख रकम छुट्याएको छ। गएको असारमै विरुवा रोप्ने काम सम्पन्न गर्नुपर्ने भए पनि ढिलागरी अख्तियारी आएका कारण काममा ढिलाइ भएको हो। विरुवा रोप्नका लागि अहिले सडकको बिचमा तारबारको काम थालिएको छ।

व्यापारिक चहलपहल बढ्यो

चार लेन सडक निर्माण भएसँगै यसको दायाँबायाँ व्यापारिक चहलपहल बढेको छ। यसअघि वीरेन्द्रनगरको मंगलगढीदेखि गणेशचौकसम्म मुख्य बजार थियो। अधिकांश चहलपहल र कारोबार त्यता केन्द्रित थियो। तर चार लेन सडक विस्तार बनेर आकर्षक भएपछि हिजोआज बजार मंगलगढीबाट पश्चिमतर्फ एरीचोक हुँदै बाङ्गेसिमलतर्फ अर्थात् जुम्ला रोडमा विस्तार हुन थालेको छ।

चार लेन सडक बनेपछि यसकै आसपासमा ठूला होटल, बैंक र अन्य व्यावसायिक प्रतिष्ठानहरु पनि केन्द्रित भएका छन्। पार्किङ्का लागि प्राप्त ठाउको सुविधा हुनु र दीर्घकालीन बजारक्षेत्र बन्नसक्ने देखेपछि उद्योग व्यवसायीहरु त्यहाँ सर्न थालेका हुन्।

चार लेन सडक विस्तार भएपछि धुलियाबिट हुँदै पिपिरा क्षेत्र, शान्तिनगर क्षेत्र, पुरानो बसपार्क र बाङ्गेसिमलमा पनि व्यवसायिक चलहपलह सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस्