शुक्रबार, मंसिर ६, २०७६

समाचार

आर्कटिकमा पनि हिउँसँगै प्लास्टिक कण झर्न थाले

हालै गरिएको एक अध्ययन अनुसार संसारको स्वच्छतम वातावरण भएको मानिने पृथ्वीको उत्तरी ध्रुव आर्कटिक क्षेत्रमा हिउँसँगै प्लास्टिकका कणहरु पनि झर्न थालेका छन् । 

आर्कटिकमा पनि हिउँसँगै प्लास्टिक कण झर्न थाले
हालै गरिएको एक अध्ययन अनुसार संसारको स्वच्छतम वातावरण भएको मानिने पृथ्वीको उत्तरी ध्रुव आर्कटिक क्षेत्रमा हिउँसँगै प्लास्टिकका कणहरु पनि झर्न थालेका छन् । 

आकाशबाट हिउँसँगै खसिरहेका प्लास्टिकका सुक्ष्म माइक्रोस्पिक कणहरु प्रतिलिटर १० हजारभन्दा बढी भेटिएपछि अनुसन्धानकर्ताहरु नै स्तब्ध भएका छन् । 

यसको मतलब त्यहाँ मानिसहरुले सास फेर्ने क्रममा प्लास्टिकका कणहरु पनि आफ्नो फोक्सोभित्र हुलिरहेका छन् । यो माइक्रोप्लास्टिकले स्वास्थ्यमा पार्ने असरबारे भने अझै स्पष्ट हुन सकेको छैन । 

आर्कटिक क्षेत्रलाई विश्वको सबैभन्दा स्वच्छ वातावरणहरु मध्ये एक मानिन्छ । 

जर्मन-स्विस अनुसन्धानकर्ताहरुको टोलीले गरेको अध्ययनको प्रतिवेदन साइन्स एडभान्स जर्नलमा प्रकाशित छ ।

वैज्ञानिकहरुले आर्कटिकको हिउँमा रबर कण र फाइबर समेत फेला पारेका थिए । 

अनुसन्धानकर्ताहरुले स्वाल्बार्ड टापुबाट संकलित हिउँका नमूना जर्मनीको अल्फ्रेड वेग्नर संस्थानको प्रयोगशालामा परीक्षण गर्दा अपेक्षा गरेभन्दा धेरै मात्रामा प्रदुषणका कणहरु भेटाए । 

यस्ता कणहरुमा बनस्पति सेल्युलोज, फर जस्ता जैविक उत्पादनदेखि प्लासिटकका कण रबर टायर, वार्निश, पेन्ट र सिन्थेटिक फाइबरका पनि थिए । 

अध्ययन समूहकी प्रमुख वैज्ञानिक डा. मेलानी बर्गम्यान भन्छन्, “हामीले हिउँमा केही प्रदुषणका कणहरु फेला पार्ने अपेक्षा गरेका थियौं, तर, अत्याधिक मात्रामा माइक्रोप्लास्टिक फेला परेपछि चकित भएका छौं ।”

उनले प्लास्टिकका कणहरु अन्य स्थानबाट हावाले उडाएर ल्याएको भए पनि कहाँबाट यती धेरै मात्रामा यि कण आइपुगे भन्ने खुट्टयाउन नसकिएको बताइन् । यस्ता कणहरु ५मीलीमीटरभन्दा सानो आकारका छन् । 

यस्ता कणहरुले मानव स्वास्थ्यमा कस्तो असर पार्ला त ?  डा. बर्गम्यान भन्छन्, “प्लास्टिक मानिसको स्वास्थ्यका लागि हानिकारक छ कि छैन त्यो हामीलाई थाहा छैन । तर, वातावरणप्रतिको हाम्रो व्यवहार भने स्वस्थकर छैन भन्न सकिन्छ, यसमा ध्यान दिन जरुरी छ ।”

वैज्ञानिकहरुले जर्मनी र स्वीट्जरल्याण्ड नजिकका क्षेत्रमा पनि हिउँको विश्लेषण गरेका थिए । यि ठाउँका हिउँमा प्लास्टिकको मात्रा आर्कटिकको तुलनामा अत्यधिक पाइएको थियो । 

प्लास्टिक प्रदुषण आर्कटिका कसरी पुग्यो ?

अनुसन्धानकर्ताहरुको अनुमान अनुसार माइक्रोप्लास्टिकलाई हावाले उडाएरै यहाँसम्म ल्याइपु¥याएको हो । तर, पूर्ण रुपमा बुझ्न नसकिने यो प्रक्रियामा माइक्रोप्लास्टिक निकै लामो दूरी पार गरेर आइपुगेको अनुसन्धानकर्ताको अनुमान छ । 

गएको अप्रिल महिनामा बेलायतीफ्रान्सेली टोलीले प्रकाशित गरेको अर्को अध्ययनले देखाए अनुसार, माइक्रोप्लास्टिक कण फ्रान्सेली हिमालमा पनि हिउँमा मिसिएर खसिरहेका छन् । 
यसभन्दा पहिले वैज्ञानिकहरुले चीन, इरानको तेहरान र फ्रान्सको पेरिसका वायुमण्डलीय सतहमा प्लास्टिक भेट्टाएका थिए । 

वार्निसका कणहरु पनि आर्कटिकमा कहाँबाट आइपुगे भन्ने कुरा अझै निश्चित भइसकेको छैन । प्रदूषण कहाँबाट आइरहेको छ भन्नेमा पनि अनिश्चितता नै छ । 

अनुसन्धानकर्ताहरुले केही प्रदुषण बरफ चिर्दै हिंडने जहाजबाट आएको हुनसक्ने र केही हावाले उडाएर ल्याएको अनुमान गरेका छन् । 

डा. बर्गम्यान भन्छन्, “प्रदुषणको यो हद देखिसकेपछि हामीले सोच्नै पर्छ, के हामीलाई यति धेरै प्लास्टिक प्याकेजिङ चाहिएको छ? के हामीले प्रयोग गर्ने रङमा पोलीमर यती जरुरी छ? के हामी फरक तरिकाले डिजाइन गरिएका टायरहरु बनाउन सक्दैनौं?  यी सबै महत्वपूर्ण मुद्दाहरु हुन् ।”

नर्वेली इन्स्टिच्युट अफ एयर रिसर्चका डा. एल्डजर्ग सोफी हेमस्टाड, जो पछिल्लो अध्ययनमा संलग्न थिइनन्, उनी भन्छिन, “हामीलाई थाहा छ, त्यहाँको प्रदूषण यूरोप, एसियाकासाथै संसारभरिबाट लामो दूरी पार गरी आएको प्रदुषण हो ।”

उनले यो प्रदुषण इकोसिस्टम र जीवित जनावरहरको लागि खतरनाक भएको पनि बताइन् । 

आर्कटिकको लागि यसको अर्थ के हो?

गत वर्षकोे प्रतिवेदनले आर्कटिक समुद्रको बरफमा अत्यधिक प्लास्टिक फेला पारिएको बताएको थियो । 

संसारभरमा प्रयोग गरेर मिल्काइएका प्लास्टिक फोहोरहरु सयौं वा हजारौं किलोमिटर टाढा आर्कटिकको दुर्गम समुद्री तटमा अवतरण भइरहेका छन् । 

सुदूर उत्तरलाई पृथ्वीको निर्मल वातावरण भएको क्षेत्र मान्नेहरुका लागि यो निराशाजनक समाचार हो । 

नर्वेली आर्कटिक नजिकै ‘डग स्लेडिङ सेन्टर’मा काम गर्ने एक कर्मचारी भन्छन, “कुनै बेला संसारमै सबैभन्दा स्वच्छ वातावरण रहेको मानिने आर्कटिकको समुद्री बरफमा प्लास्टिक मिसिएको छ।

अब हिउँबाट समेत प्लास्टिक झर्न थाल्यो । अब यो क्षेत्र पनि दागी हुन थाल्यो– अरुकै कारणले ।”

बीबीसीबाट अनुवाद/साभार गरिएको
 
प्रतिक्रिया दिनुहोस्