बुधबार, कात्तिक २७, २०७६

समाचार

भैरहवा भन्सारबाट २७ लाख बढीको जनै बनाउने धागो भित्रियो

जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्वको अवसरमा जनै बनाउनकै लागि वर्षेनी लाखौं मूल्य बराबरको धागो भारतबाट आयत गर्ने गरिएको छ।

भैरहवा भन्सारबाट २७ लाख बढीको जनै बनाउने धागो भित्रियो
भैरहवा – जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्वको अवसरमा जनै बनाउनकै लागि वर्षेनी लाखौं मूल्य बराबरको धागो भारतबाट आयत गर्ने गरिएको छ।

भैरहवा भन्सार कार्यलयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २७ लाख ८६ हजार ६ सय १४ रुपैयाँ बराबरको धागो आयत भएको कार्यलयका सूचना अधिकृत कलिराम पौडेलले बताए। 

भारतबाट आयात हुने धागोमा गत वर्षसम्म एक प्रतिशत भन्सार कर लाग्ने गरेकोमा चालु वर्षमा ५ प्रतिशत लाग्ने गरेको छ। भारतबाट आयातित धागोबाट जनै, ज्योति, बनाउने गरिन्छ।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।

ऋषि तर्पणी हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ऋषितर्पर्णी समेत भनिन्छ। 

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ। मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिने प्रचलन रहेको पण्डीत गोपाल अधिकारीले बताए।

पण्डीत अधिकारीका अनुसार दानवले विष्णु भगवानलाई थुनेर राखेको र लक्ष्मीले दानवलाई धागो बाधिदिएपछि उनको लक्ष्मी बहिनी भएको र  दानवले लक्ष्मीको आग्रहमा विष्णुलाई छाडिदिएको किंवदन्ति छ । उक्त कथा श्रीमद्भागवतमा उल्लेख छ।

पहाडी जिल्ला प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाची, पाल्पातिर ब्राहमणहरुले झोलाभरी डोरो बोकेर घरघरमा पुगेर मन्त्रीयको डोरो बाध्ने गर्दछन्। पहाडमा हातैभरी डोरो बाध्ने प्रचलन रहेको छ। यता शहर बजार र तराईमा भने यस्तो प्रचलन हराउदैं गएको छ । 

पहाडतिर ब्राहमणले मन्त्रीयको धागो बाध्ने प्रचलन रहेको छ भने तराईमा दिदीबहिनीले राखी बाध्ने प्रचलन रहेको छ । यस दिन क्वाँटी खाने प्रचलन पनि रहेको छ। 
प्रतिक्रिया दिनुहोस्