आइतबार, जेठ २५, २०७७

z
समाज

कांग्रेसभित्र ‘किंगमेकर’ गच्छदार !

नेपाली कांग्रेसभित्र विभिन्न समूहहरुबीच शक्तिको संघर्ष चलिरहँदा विजय गच्छदार ‘किंगमेकर’ को भूमिकामा देखिन थालेका छन् ।

कांग्रेसभित्र ‘किंगमेकर’ गच्छदार !
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक संरचना गठन सम्बन्धी विवाद समाधान भएको छ। 

कांग्रेसको जारी केन्द्रीय समिति बैठकले सहमतिका आधारमा भदौ २० गतेभित्र संघीय ढाँचा अनुसार पार्टीको तल्लो तहसम्मको संरचना बनाइसक्ने निर्णय गरेको छ ।  त्यसका लागि निर्वाचन नहुने गरी अन्तरिम कार्यविधि समेत पारित भइसकेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीका हेरक निर्णय एकपक्षीय ढंगबाट गर्न लागेको भन्दै तीब्र असन्तोष व्यक्त गरिरहेका देउवाइतर समूहले आन्तरिक संरचना निर्वाचनबाट गठन गर्नु पर्नेमा जोड दिंदै आएका थिए । 

निर्वाचनमा गएको खण्डमा आफ्नो पक्ष बलियो बनाउन सकिने बुझाईका कारण देउवा इतर समूहका नेताहरुको प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल समेत भएको थियो । 
तर, पार्टी उपसभापति विजय गच्छदारले देउवालाई नै सहयोग गर्ने स्पस्ट संकेत देखाएपछि भने सबै कुरा सहमतिमै टुंगिएको छ । 

पार्टीभित्रको भागवण्डमा आफ्नो समूहलाई यथोचित स्थान नदिइएको भन्दै आएका गच्छदारलाई अर्का उपसभापति विमलेन्द्र निधि नेतृत्वको समायोजन समितिले यथेष्ट स्थान दिने गरी निर्णय गरेपछि गच्छदार देउवातर्फ ढल्किएका हुन् । 

 निधि नेतृत्वको समितिले गच्छदारलाई पार्टीको आन्तरिक संरचनामा १० देखि १२ प्रतिशतको हिस्सा दिने व्यवस्था मिलाएकोे छ। त्यसैले निर्वाचनमा जाँदा गच्छदार  देउवासँग मिलेको खण्डमा उनीहरु नै भारी पर्ने भएपछि देउवाइतर समूहले निर्वाचनको अडान छोडेको हो । 

किंगमेकर गच्छदार
अहिले कांग्रेसभित्रका सबै समूह गच्छदारलाई आफ्नो पक्षमा ल्याउने कसरतमा छन्।

सिटौला समूहका एक नेता भन्छन, “गच्छदारजीलाई पार्टीभित्र दोस्रो स्थान  दिन सबै तयार छन्। उहाँले जुन पक्षलाई सहयोग गर्नुहुन्छ त्यो पक्ष बलियो हुनेछ।”

तर गच्छदार तटस्थ भएर बसेको खण्डमा सम्मानित नेताको स्थान बनाउने भन्दै उनले थपे, “केन्द्रीय समिति बैठकमा गच्छदारजी सभापति निकट देखिनु भयो।  आफैंमा शक्तिशाली सभापतिसँग गच्छदारजी पनि मिसिने हो भने महाधिवेशन प्रभावित हुने सम्भावना देखिन्छ।”

आन्तरिक संरचनाको टुंगो लागेपछि कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुट्दैछ। सभापति देउवा भने महाधिवेशनको मिति एक वर्ष पछि सार्ने पक्षमा छन् । 

अहिले कांग्रेसभित्र महामन्त्री शंशाक कोइराला, नेता डा.शेखर कोइराला, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत सभापतिको आकांक्षी छन् । पार्टीभित्र सहमति हुन नसकेको खण्डमा प्रकाशमान सिंह र विमलेन्द्र निधिको पनि सभापतिमा दाबी रहनेछ । 

यस्तो अवस्थामा सम्पूर्ण संगठनमा १० देखि १२ प्रतिशतसम्म हिस्सा पाएका गच्छदार किंगमेकर भएको कांग्रेसकै नेताहरुको दाबी छ।
प्रतिक्रिया दिनुहोस्