एजेन्सी- चीनमा अचानक आएको ताइफुन आँधीले १३ जनाको मृत्यु भएको छ। लेकिमा नामको आँधीका कारण दशौं लाख मानिस विस्थापित भएका छन्।
आँधीसँगै आएको पहिरोमा परेर १६ जना हराइरहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।
लेकिमा आँधीले आज (शनिबार) बिहानैदेखि ताइबानसँगको सीमा जोडिएको आर्थिक राजधानी मानिने साङ्घाईको वेन्लिङ क्षेत्रमा बाढी र पहिरो निम्त्याएको अधिकारीहरुले जनाएका छन्।
तीब्र गतिमा आएको आँधीको बेग १८७ किलोमिटर प्रतिघण्टा रहेको समाचारहरुमा जनाइएको छ।
वेन्लिङ क्षेत्रमा ठूलो क्षति गरेपछि लेकिमको गति घटेको छ। अहिले लेकिमा आँधीको प्रभाव झेजियाङ प्रान्ततर्फ बढ्दै गएको छ।
आँधीपछि त्यहाँ थुप्रै घरहरु भत्किएका, सवारी साधनहरु बगेका र ठूला रुखहरु ढलेका अधिकारीहरुले जनाएका छन्। साथै धेरै क्षेत्रमा बिजुलीका पोलहरु ढलेपछि बत्ती र सञ्चार सेवासमेत अबरुद्ध भएको छ।
आँधीका कारण करिब १ हजार उडान तथा सयौं रेलको तालिका रद्ध गरिएको छ।