मंगलबार, कात्तिक २६, २०७६

समाज

पाल्पा भैरवको इतिहास र फोटोफिचर

पाल्पाको नाउँ सुन्नेबित्तिकै पाल्पा भैरव हाम्रो मानसपटलमा आउने गर्छ। चारैतिरबाट शिखरिँदै गएको डाँडाको टुप्पो छ।

पाल्पा भैरवको इतिहास र फोटोफिचर
पाल्पा- चारैतिर अग्ला डाँडा छन्। डाँडाको टुप्पो घुमाउरो छ। समुद्री सतहदेखि १४७० मिटर उचाइमा रहेको सोही डाँडामा पाल्पा भैरवको मन्दिर छ।

पाल्पा भैरव सांस्कृतिक एवं ऐतिहासिक रूपमा जति प्रख्यात छ त्यसको धार्मिक महिमा उत्ति नै छ । सदरमुकाम तानसेनबाट नौ किलोमिटर पश्चिममा रहेको यो मन्दिर रिब्दीकोट गाउँपालिका-४ मा अवस्थित छ।

इसापूर्व २५०० वर्षदेखि सन् ७०० सम्म कुर्माचलमा कत्युरी वंशको राज्य रहेको थियो। कत्युरीहरुको मूल पुरुष हालिवाहन देव थिए। कत्युरी राजाको साम्राज्य सिक्किम, नेपाल र काबुलसम्म फैलिएको थियो । कत्युरी साम्राज्यभित्र उनीहरुको आफ्नो नामको पछाडि ‘पाल’ लेख्थे । ‘पाल’ माण्डलिक राजाहरूको पदवी थियो।

विराट कत्युरी साम्राज्य साना स्वतन्त्र राज्यमा विभक्त भयो र ती पाल राजाहरूको राज्य यस भेगसम्म पनि थियो । पालको राज्य विघटन भएपछि यस ठाउँको नाम पाल्पा रहन गएको विश्वास छ । 

पन्ध्रौं शताब्दको उत्तराद्र्धमा खास राज्यको विघटनसँगै कर्णाली प्रदेशमा बाइसे र गण्डकी प्रदेशमा चौबीसे राज्यको उदय हुन गयो । चौबीसे राज्यमध्ये पाल्पा पनि एक थियो।

सेन वंशका राजा रुद्रसेनका सन्तान मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार पूर्वमा काशी र पश्चिममा हरिद्वारसम्म गरेका थिए। उनको प्रशासनिक केन्द्र एवम् राजधानी पाल्पा थियो। उनले काठमाडौं खाल्डोमा आक्रमण गर्दा मच्छिन्द्रनाथको पटांगिनीमा रहेको भैरवको मूर्ति ल्याई स्थापना गरेका थिए।  यही भैरवलाई अचेल पाल्पा भैरव भनिन्छ।

तले शैलीको मन्दिर, सेनकालीन प्रसाद ब्लाइन्ड विन्डो, राणाकालीन, मल्लकालीन स्थापत्य कलाहरू एकै ठाउँमा देख्न पाइन्छ। चारैतिर मन्दिर र प्रासादले घेरिएको ठूलो चोक  छ।

चोकमा एसियाकै ठूलो एतिहासिक सुनौलो त्रिशूल १६ औं शताब्दी निर्माण गरिएको छ । मल्लकालीन कलाले निर्माण गरिएको गजुर छ । मन्दिरको माथिल्लो तलामा कीर्तमुख भैरव मूर्ति स्थापना गरिएको छ । मुख्य भैरवलाई हेर्न नहुने विश्वासले मूर्तिलाई मन्दिरको भुइँतलामा राखिएको छ। भुइँतलाको अर्को कोठामा कालीको मूर्ति छ ।

दस महाविद्याका दस भैरवका कालीको महाकाल भैरवसँग सम्बन्ध हुने भएकाले मुख्य भैरव मूर्ति महाकाल भैरव भएको मानिन्छ। अखण्ड धुनी चल्ने यो मन्दिरमा पूजा गोरक्षनाथ सम्प्रदायका योगीबाट हुन्छ ।

वैशाख, मंसिर र दसैंको नवरात्रमा यहाँ भक्तालुको घुइँचो लाग्छ । भैरव मन्दिरको परिसरबाट मनोरम पहाडी क्षेत्रको अवलोकन गर्न सकिन्छ । बढ्दो सहरीकरण,  मठमन्दिरमा भूमाफियाको चहलपहलले कतै यस्ता एतिहासिक ठाउँ हजुर हामी र आउने पुस्ताका लागि गुमनाम त हुने होइन ।












 
प्रतिक्रिया दिनुहोस्