बुधबार, कात्तिक २७, २०७६

समाचार

हेटौंडामा पनि फैलियाे डेंगु र स्क्रबटाइफस, सचेत रहन अपिल

 प्रदेश ३ को राजधानी हेटौंडामा पनि डेंगु र स्क्रबटाइफसका बिरामी दैनिक भेटिन थालेका छन् । अलिहेसम्म हेटौंडा उपमहानगरभित्र ८ जनामा डेंगु र १ जनामा स्क्रपटाइफस फेला परेको ...

हेटौंडामा पनि फैलियाे डेंगु र स्क्रबटाइफस, सचेत रहन अपिल
हेटौंडा- प्रदेश ३ को राजधानी हेटौंडामा पनि डेंगु र स्क्रबटाइफसका बिरामी दैनिक भेटिन थालेका छन् । 

अलिहेसम्म हेटौंडा उपमहानगरभित्र ८ जनामा डेंगु र १ जनामा स्क्रपटाइफस फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको  छ।  कार्यालयका अनुसार  हेटौंडा बजार क्षेत्रका बिरामीमा विशेष गरी डेंगुको संक्रमण देखिएको छ ।

हेटौंडा अस्पतालको सिफारिसमा रगत परीक्षणका लागि स्वास्थ्य कार्यालयमा आएका २९ जनामध्ये चार महिला र चार पुरुषमा डेंगु र एक पुरुषमा स्क्रपटाइफस भेटिएको हो ।

उनका अनुसार स्वास्थ्य कार्यालयले निःशुल्क रूपमा परीक्षण गर्ने भएका कारण धेरै बिरामी डेंगुको शंका हुनेबित्तिकै त्यहाँ आउने गरेका छन् । तर जिल्ला जनस्वास्थ्य कार्यालयसँग परिक्षण गर्ने किटको अभाव देखिएको छ।  

डेंगु परीक्षण गर्ने किट दुई सय माग गरिएकोमा मुस्किलले ५० वटा प्राप्त भएकाले परिक्षणमा समस्या भएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयसँग अब २५ वटा मात्र किट बाँकी रहेको जनाइएको छ। 

डेंगुको परीक्षण निजी क्लिनिकले निकै महँगो शुल्कमा गर्दै आएका छन् । निजी क्लिनिकले ३ हजार २ सय रुपैयाँसम्म शुल्क लिनेको गरेका छन् । 

डेंगुका बिरामी भेटिएपछि उच्च सर्तकता अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । असार अन्तिम साता र साउनको पहिलो हप्तामा आएको अविरल वर्षासँगै जमेको पानीका कारण डेंगो र स्क्रफटाइफसको फैलिएको हुन सक्ने अनुमान गरिएको छ । 

यसअघि सुनसरीको धरान र झापामा डेंगुले भयावह रुप लिएको थियो । उक्त क्षेत्रमा डेंगु नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । 
प्रतिक्रिया दिनुहोस्