सोमबार, मंसिर ३०, २०७६

समाचार

अमेरिका : रंगभेद र जातीय विभेदको जालो

राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई १५ मा कांग्रेसका चार महिलालाई लक्षित गर्दै ‘तिमीहरूलाई यो देश मन पर्दैन भने जहाँबाट आएका हौ फिर्ता जान सक्छौ, बाटो खुला छ’ भनेपछि देशविदेशमा ठूलै तहल्का मच्चियो। 

अमेरिका : रंगभेद र जातीय विभेदको जालो
काठमाडौं - राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई १५ मा कांग्रेसका चार महिलालाई लक्षित गर्दै ‘तिमीहरूलाई यो देश मन पर्दैन भने जहाँबाट आएका हौ फिर्ता जान सक्छौ, बाटो खुला छ’ भनेपछि देशविदेशमा ठूलै तहल्का मच्चियो। 

यो त राष्ट्रपति तहको कुरा हो। तर तल्लो तहमा सर्वसाधारणमा रेसिजम (जाति भेद) को जालो कस्तो होला? म २०१५ सेप्टेम्बरमा न्युयोर्कको जेएफके एयरपोर्टमा अवतरण गरेर गन्तव्यसम्म जाने ट्याक्सी खोज्ने क्रममै मलाई ‘आर यु इन्डियन ?’ भनेर प्रश्न गर्न थालियो। स्पेनी मूलका ट्याक्सी चालकले त मुखै खोलेर भने, ‘यतिका पन्जाबी ड्राइभर छोडेर मेरो ट्याक्सीमा तिमी पक्कै चढ्दिनौं होला है ?’ 

त्यस बेला मलाई संसारकै सबैभन्दा शक्तिशाली र मानव अधिकार भएको देशमा जाँदैछु अनि यहाँका मानिस सभ्य, शिक्षित र सुसम्पन्न, संस्कार बोकेका होलान् भन्ने लागेको थियो। बाटाघाटा र संरचना हेर्दा पनि कति विकसित होला भन्ने मनमनै लाग्थ्यो। हुन पनि संसारका अधिकतम मान्छे अमेरिकालाई ‘ड्रिमल्यान्ड’ मान्छन्। 

मध्यम वर्गीय परिवारको एक प्रेमीले आफ्नी प्रेमिकालाई पक्कै पनि जीवनकालमा एकपटक न्युयोर्क घुमाउने र टाइम्स स्क्वायरमा फोटो खिचेर फेसबुक वा इन्स्टाग्राममा पोस्ट गरेर साथीभाइ र आफन्तलाई देखाउने इच्छा राखेकै हुन्छ।

अतिकम विकसित मुलुकबाट आएकी मलाई अमेरिकाको संस्कार सिक्न, काम गर्न, मनोरञ्जन गर्न, घुमफिर गर्न, खानपिन गर्न, बोलीचाली बुझ्न र रहनसहनमा भिज्न कठिन भयो। तर अहिले समुदायमा काम गर्न थालेपछि भने मेरो चाहना, सोचाइ र बानीव्यहोरामा परिवर्तन हुन थालेको छ।

२०१६ मा एउटा अफिसमा काम गर्न थालेको तेस्रो दिनमा मेरो अफ्रिकी–अमेरिकी सेवाग्राहीले एकाबिहानै कुराकानी सुरु गर्नअगाडि ‘ग्रेटिन्स’ गर्ने क्रममा मलाई ‘तिमी यो देशमा किन ?  जुन देशबाट आएको हो त्यहाँ नै तुरुन्त फर्केर गइहाल’ भनिन्। मेरो आत्मविश्वास पूरै खलबलियो।

हाकिमकहाँ गएर एक्कासि रुन थालेछु। ऊसित यो अफिसमा काम गर्न सक्दिनँ। राजीनामा गर्छु र अर्कै ठाउँमा काम खोज्छु भनें। हाकिमले ‘तँ नयाँ आप्रवासी हो’ भनेर सोध्यो। मैले ‘हो’ भनें। उसले ‘यो पहिलो ठाउँ हो काम गरेको ?’ भन्यो। मैले ‘होइन, तेरो अफिस तेस्रो हो’ भनें। उसले ‘किन छोडिस् त पहिलेको ?’ भन्यो। मैले ‘टाढा भएर छोडें’ भन्ने जबाफ दिएँ।

त्यसपछि उसले मलाई ‘३० मिनेट ब्रेक ली। बाथरुम जा, फ्रेस हो। कफी ब्रेकफास्ट के के खाने भए खा’ भन्यो। मैले ‘हुन्छ’ भनें।

३० मिनेटपछि हाकिमले मलाई बोलायो र फाइल फिर्ता गर्दै भन्यो, ‘तँ काममा फर्की। यही कारणले चाहिँ तैले राजीनामा गर्नुपर्दैन। तँलाई पनि काम खोज्न समय लाग्छ र मलाई पनि हायर गर्न समय लाग्छ। मैले तँलाई तेरो देश फर्केर जा भन्नेसँग कुरा गरिसकें। अब सबै ठीकठाक हुन्छ। म पनि युरोपबाट आएको हुँ र बाँच्नलाई संघर्ष गर्दैछु। तेरो र मेरो हैसियतमा केही भिन्नता छैन। म तँलाई ट्रायल पिरियडभरि सजिला ‘क्लाइन्ट’ मात्र दिन्छु। तर तैले पनि म मानसिक बिरामीसँग काम गर्दैछु र यी बिरामीसँग काम गर्दा ‘मन–मुटु’ बलियो बनाउनुपर्छ।’

उसले मलाई निकैबेर सम्झायो र आफूले सकेसम्म सहयोग गर्ने वचन दियो। म काममा फर्कें। हुन पनि मलाई कामका लागि निवेदन हाल्न जाँदादेखि पनि आफूले पढेका कोर्सका थुप्रै प्रश्नको लिखित र मौखिक उत्तर दिनुपर्ने, ‘रिफरेन्सेस’ दिएका व्यक्तिले ठीक छ भनेपछि मात्रै काम दिने जस्तो झन्झटिलो प्रक्रियाबाट फेरि गुज्रन मन पनि थिएन।
 
अमेरिका आप्रवासीको देश हो। यहाँ काला–गोरा, धनी–गरिब, शक्त–अशक्त, मोटा–दुब्ला सबै वर्गका मानिस शिर ठाडो पारेर सम्मानसाथ बाँचिरहेका छन्। अर्कोतिर यहाँ हरेक मानिसमा रंग भेदकै समस्या छ। काला र गोराबीचको रंगभेदको जरा निकै गहिरो छ। गोरा जातिले आफूलाई उच्चकोटीको, पढेलेखेको र सभ्य भन्न रुचाउँछन् भने कालाहरू हेपिएको र दास बनाएको इतिहास सम्झन्छन्।
 
मेरो काम औषधि खाने मानसिक बिरामीसँगको कुरा थियो र समय बित्दै जाँदा मैले सजिलै पचाएँ। पछिपछि हुँदै जाँदा ती ‘क्लाइन्ट’ मेरा अभिन्न अंग बन्न पुगे। उनीहरुले नै काम, नियम, कानुन, रीतिरिवाज, संस्कार, चालचलन सबै सिकाए, माया पनि दिए र गाली पनि प्रशस्तै गरे। म यसैमा रमाउन थालें। तर मैले मेरो कार्यथलोमा रंगभेद थियो। मेरै ‘क्लाइन्ट’ ले एकअर्काको अस्तित्व स्वीकार नगरेको झगडामा म धेरैपटक सामेल भएँ। साथै आफ्नो डाक्टर र नर्सलाई अपमान गरेको, गाली गरेको सुन्दा अचम्म मान्थें र म नाथे त के हुँ र जस्तो लाग्थ्यो।
 
बीस महिनापछि मैले राजीनामा दिएँ।  अर्को ठाउँमा काम खोजें। नयाँ ठाउँ पक्कै राम्रो होला र ‘रेसिजम’ छैन होला, सबैले सबैलाई इज्जत गर्छन् होला भन्ने कुरामा म विश्वस्त थिएँ। तर पहिलो दिन देख्ने बित्तिक्कै तालिम दिने प्रशिक्षकले ‘तँ इन्डियन होस्’ भनिन्। म पहिला जस्तो ‘एस आइम इन्डियन’ भन्ने पक्षमा थिइनँ। उसलाई जबाफ दिएँ, ‘म न्युयोर्कमा बस्ने न्युयोर्कर हुँ। अहिलेलाई म को र कहाँबाट आएको भन्दा पनि तैँले के सिकाउने र मैले तँबाट कति सिक्छु भन्ने कुरा महत्त्वपूर्ण छ।’
 
उनले उदास हुँदै भनिन्, ‘तैले तेरो भारतीय राष्ट्रियता भन्न गाह्रो मानिस्। यो अफिसमा काम गर्दै जाँदा पछि थाहा पाउँछेस्।’ त्यसबेलादेखि उनीसँग अहिलेसम्म पनि मेरो सम्बन्ध राम्रो छैन। यहाँ पनि ‘रेसिजम’ रहेछ। मलाई नै धेरै पटक नाम थाहा नहुँदा ‘इन्डियन लेडी’ भन्छन् भने कति ले त्यो काली अग्ली आइमाईलाई बोला त भन्छन्। कोही होची गोरीलाई बोला भन्छन्। कसैले कसैको अस्तित्व स्वीकार गरेको म पाउँदिन र ६० प्रतिशत झगडा कालो, गोरो र चिनियाँ वा स्पेनिसकै नाममा हुन्छ। 

एकले अर्कालाई पहिरन, खानपान, संस्कारलगायतका विषयमा प्रहार गरिरहेका हुन्छन्। कति आफैं साम्य हुन्छन् कतिपयलाई मध्यस्थता गरेर मिलाउनुपर्छ। 

अमेरिकामा नाक थेप्चो भएकाजति सबैलाई चिनियाँ भनिन्छ। मेरो जस्तो गहँगोरो अनुहार भएका सबै इन्डियन र काला जति अफ्रिकी अनि गोरा जति सबै अमेरिकी भन्ठान्छन् उनीहरू। 

अमेरिका आप्रवासीको देश हो। यहाँ काला–गोरा, धनी–गरिब, शक्त–अशक्त, मोटा–दुब्ला सबै वर्गका मानिस शिर ठाडो पारेर सम्मानसाथ बाँचिरहेका छन्। अर्कोतिर यहाँ हरेक मानिसमा रंग भेदकै समस्या छ। काला र गोराबीचको रंगभेदको जरा निकै गहिरो छ। गोरा जातिले आफूलाई उच्चकोटीको, पढेलेखेको र सभ्य भन्न रुचाउँछन् भने कालाहरू हेपिएको र दास बनाएको इतिहास सम्झन्छन्।
 
विश्वका दुई सय हाराहारीमा स्वतन्त्र भनिएका राष्ट्रहरू आफ्नो इतिहासको कुनै न कुनै कालखण्डमा बेलायत, फ्रान्स, स्पेनलगायतका युरोपेली मुलुकका उपनिवेश थिए। अंग्रेजीको कोलोनाइजेसन (औपनिवेशीकरण) भन्ने शब्द मैले राजनीतिक र शासन सत्तामाथि नियन्त्रणको अर्थमा मात्र बुझेकी थिएँ। तर भाषा, संस्कृति, रहनसहन, आर्थिक पद्धति र जीवन पद्धतिमाथि पनि यसको छाया पर्छ भन्ने कुरा व्यावहारिक रूपमा थाहा थिएन।
 
मैले नेपाल कहिल्यै कसैको पराधीन राज्य भएन भनेर पढेकी थिएँ। म भाषिक, धार्मिक, सांस्कृतिक स्वतन्त्रता र सम्मान भएको समाजमा हुर्कें र बढें। मसँग पाँच हजार वर्ष पुरानो संस्कृति छ। तर अमेरिका धेरै जवान देश हो। सयौँ वर्षको दासता र दमनले गर्दा पीडित बनेका मानिस स्वतन्त्रताको गलत उपयोग गर्न खोज्ने एउटा प्रवृत्ति बनेको छ।
 
अर्कातिर पारिवारिक समस्या, भनेजस्तो जीवनयापन गर्न नसक्नु, लागूपदार्थ सेवन, नैराश्यजस्ता अनेक समस्याबाट मानिसले मन, सोचाइ, विचार, भावना, चाहनाजस्ता मानसिक क्रियालाई प्रभावित पारेको हुँदो रहेछ। बहुसंख्यक जमातमा यस्ता समस्या हुँदो रहेछ। अनि उनीहरू आफू काम गर्ने ठाउँमा वा आफू बसेको समुदायमा दोस्रो व्यक्तिमा आएर पोख्ने वा खन्याउने गर्दा रहेछन्। यसरी ममाथि रंगभेदमा आधारित भएर उनीहरूले असन्तुष्टि पोखेको निष्कर्ष निकालें।

( ब्लग लेखिका तारा भट्टराई अमेरिकास्थित 'ग्लोवल प्रेस, नेपाल चाप्टर'की पूर्व सम्पादक हुन् )
प्रतिक्रिया दिनुहोस्