सोमबार, मंसिर ३०, २०७६

विदेश

विश्‍वमा आज : कहाँ के-के भयो ?

विश्‍वमा आज : कहाँ के-के भयो ?

विश्‍वमा आज : कहाँ के-के भयो ?
१. अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ। सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ।

अमेरिकी जल सेनाले ‘स्ट्रेट अफ होर्मुज’ भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गर्नुभएको थियो। उक्त ड्रोन अमेरिकी पानीजहाज भन्दा करिब एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले बताएको समाचारमा जनाइएको छ।
यस घटनाले इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी, सामग्री र स्वार्थको रक्षा गर्ने अधिकार अमेरिकासँग रहेको ह्वाइट हाउसस्थित राष्ट्रपति ट्रम्पले बताएका छन्।

२. डेमोक्रेटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ। तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ।

तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो। विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लीकनले विपक्षमा मतदान गरेका थिए। 

३. मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। घटनामा २१ जना घाइते भएका छन्।
नायारिट सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्। घाइतेहरुमा पनि धेरैजसो बालबालिका परेका छन्।

राज्यको राजधानी शहर टेपिक र पुर्टो भालार्टा जोड्ने राजमार्गमा उक्त दुर्घटना भएको हो। दुर्घटना स्थानीय समय अनुसार बिहान ७ बजे भएको थियो।
आगुवाकालिन्टेस राज्यबाट पर्यटक लिएर आइरहेको यात्रुबाहक बस कम्पोस्टेला शहरको नजिक पहाडी भेगमा दुर्घटनाग्रस्त भएको थियो। बस दुर्घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन।

४. संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ।
जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरुको संख्या ८ हजारबाट वृद्धि भएर दुई लाख १६ हजार पुगेको छ। यसैबीच, अघिल्लो साताको तथ्याँकमा संशोधन गरी बेरोजगार भत्तामा दाबी गर्नेहरुको संख्या २ लाख ८ हजार देखाइएको थियो।
श्रम विभागको तथ्याँकले बेरोजगारको दाबी गर्नेहरुको संख्या कम हुनुको अर्थ रोजगारीबाट बिमुख हुनेको संख्यामा कमी नआएको देखाउँछ। अमेरिकामा केही वर्षदेखि बेरोजगारको संख्या तीन लाखभन्दा कम देखिएको छ।

५. फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका समेत नौ जनाको मृत्यु भएको छ।
एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
ट्रकमा झण्डै ३० जना बालबालिका र उनीहरुका केही अभिभावक एवं शिक्षकहरु चढेका थिए। मध्य फिलिपिन्सको बोल्जून नगर बाहिरको भिरालो सडकमा ट्रकमा ब्रेक नलागेर खोल्सोमा झरेको थियो।
बोल्जून नगरका मेयर मर्लाउ डेरामाले ट्रक ड्राइभरले ट्रक रोक्न खोजेपनि अनियन्त्रित भई पल्टिएको बताए।
दुर्घटनामा ११ र १२ वर्षका आठ बालबालिका र एक जना अभिभावकको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनामा ट्रक चालक भने सकुशल रहेका छन्।

६.अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा बिमान ठोक्किएको प्रहरीले जनाएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार बिमानले समुद्र सतहबाट करिब २,३०० मिटरको उचाईमा रहेको हिमाली चट्टानमा ठक्कर दिएको थियो। 
कठिन भौगोलिक क्षेत्र भएकाले खोज तथा उद्धारमा कठिनाई भएको पनि प्रहरीले जनाएको छ। बिमान दुर्घटनाका सम्बन्धमा अनुसन्धान जारी छ।

७. अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ। यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठजना घाइते भएका छन्।
स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ। स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो। घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ। यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

८. युरोपेली संघका मन्त्रीहरु भूमध्ये सागरीय क्षेत्रबाट शरणार्थी बन्दै शरण खोज्न आउने सबैका लागि मिल्दो बहुदेशीय साझा अध्यागमन नीतिमा एकजुट हुन सकेका छैनन्। जसले गर्दा शरणार्थीहरुका लागि धेरै ठूला कानूनी ब्यवधानहरु सामना गर्नुपर्ने देखिन्छ।

९. संयक्त राष्ट्र संघका महासचिव आन्तोनियो खुतेरेसले द्वन्द्वबाट विस्तारै शान्ति प्रक्रियामा आउन थालेका मुलुककहरुका लागि द्वन्द्वत्तर शान्ति प्रक्रियामा आवश्यक बलियो साझेदारीका मौकाहरु प्रदान गर्नुपर्ने कुरामा जोड दिएका छन्।

१०. चिनियाँ प्रधानमन्त्री लि खछ्याङले हाल चीनभरी विभिन्न स्थानमा भइरहेका बाढी र पहिरोबाट उत्पन्न संकटहरुका लागि आवश्यक गतिलो उद्धार प्रयत्न र स्रोत साधनको बन्दोबस्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्