बुधबार, कात्तिक २७, २०७६

समाचार

तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा

तिलोत्तमा नगरपालिका प्लाष्टिकका झोला निषेधित क्षेत्र घोषणा गरिएको छ।

तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा
भैरहवा – तिलोत्तमा नगरपालिका प्लाष्टिकका झोला निषेधित क्षेत्र घोषणा गरिएको छ। नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त घोषणा गरेको हो। घोषणा सभाका प्रमुख अतिथी संघीय सांसद घनश्याम भुसालले नगरबासीलाई अब उप्रान्त प्लाष्टिक झोला प्रयोग गर्दिन भन्ने सपथ समेत खुवाए।

नेकपाका नेता भुसालले मानव स्वास्थ्यमा अत्यन्तै प्रभावित गर्ने प्लाष्टिकका कप, प्लेट, चम्चा प्रयोग नगर्ने गरी नगरबासीलाई सपथ खुवाएका हुन्। सपथ खुवाएपछि उनले भने, ‘स्वस्थ वातावरण भए मानव स्वस्थ हुन्छ। मानव स्वस्थ भए परिवार, समाज हँुदै देश स्वस्थ हुने आधार तय हुन्छ। ’

नगरपालिकाले २०७५ वैशाख १ गतेबाट प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको थियो। प्लाष्टिक झोलासँगै नगरपालिकाले प्लाष्टिकका कप, प्लेट, चम्चा पनि निषेध गरेको हो। 

प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल असर पारेकाले न्यूनीकरणको अभियान स्वरुप प्लाष्टिकका झोला, कप, चम्चा र प्लेटको बिक्री—वितरण, प्रयोग, आयात, निर्यातलाई निषेध गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए।
  
नगरपालिकाले विकल्पमा कपडा, अल्लो, जुट वा अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला तथा वैकल्पिक साधन प्रयोग गर्न आग्रह गर्दै आएको छ। घोषणापूर्व सरोकारवालाहरुसँग पटक—पटक छलफल, अन्तरक्रिया गरेको नगरपालिकाले अब प्लाष्टिक झोलाको बिक्री—वितरण रोक्न कडाइका साथ बजार अनुगमन गरिने जनाएको छ।

नगरपालिकाले यस सम्बन्धमा पटक–पटक सार्वजनिक सूचना जारी गर्नुका साथै माइकिङसमेत गर्दै आएको छ। नगरपालिकाको आग्रहमा विभिन्न संघ—संस्था, सहकारी, टोल विकास संस्थाले नगरबासीलाई कपडाको झोला वितरण गर्दै आएका छन्।

यस्तै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अभियान चलाइएसँगै प्लाष्टिक झोलाको प्रयोगमा कमी आएको उल्लेख गर्दै सबैले प्रण गर्दा अभियान पूर्णतः सफल हुने बताए। 

यस्तै प्रदेश सांसद दधिराम न्यौपानेले नगरबासीको इच्छाशक्तिबाटै प्लाष्टिक झोलामुक्त गर्न संभव रहेको बताउँदै यसलाई नगरपालिकाले दृढताका साथ कार्यान्वयन गराउनुपर्ने बताए। नगर उपप्रमुख जागेश्वरी चौधरीले प्लाष्टिक सडेर वा गलेर नजाने र जलाउँदा पनि वायु प्रदुषण हुनेभएकाले यस्को नियन्त्रण अपरिहार्य भएको बताईन्।

अभियान सुरु भएको पन्ध्र महिनामा भए—गरेका कामको बारेमा जानकारी गराउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले यो अभियान नागरिकप्रतिको विश्वास र जनमतको सम्मानको जगमा आएको बताए।



प्रयोग गरे नगरपालिकाले के गर्छ  ?

प्लाष्टिक झोला, कप, गिलास, प्लेट र चम्चाको प्रयोगमा कानूनतः नगरपालिकाले प्रतिबन्ध लगाएको नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए। उनले भने, ‘नगरपालिकाले कार्यबिधी नै बनाएर घोषणा गरेको हौं। सबै नगरबासी स्वतः यो निर्णयमा सहभागी हुनुभएको छ। कसैले अटेर गरेमा कानुनी कारबाही हुन्छ।’ उनले अगाडि भने, ‘केही दिनपछि निरन्तर अनुगमन गर्नेछ। त्यस क्रममा प्रतिबन्धीत सामग्री प्रयोग गरेको पाइए सामग्री जफत देखि नगद जरिवाना समेत हुन्छ।’ २४ हजार घरधुरी रहेको तिलोत्तमा नगरपालिका सबा लाख जनसंख्या रहेको छ।
 
प्लाष्टिक र वातवरणीय प्रभाव

आर्थिक वर्ष ०७६/०७७ को सुरुवातसंगै नगरपालिकाले थालेको कदमले वातावरणीय क्षेत्रमा केही राहत सृजना गरेको छ। प्लाष्टिक प्रदूषण यति सम्म खतरनाक हुन्छ की आणविक फोहोरपछि मानव जातिको लागि प्लाष्टिकजन्य फोहोर हुने गर्दछ। 

बढ्दो सहरीकरणसंगै प्लाष्टिक जन्य पदार्थको प्रयोग दिनानुदिन बढीरहेको छ। बजारदेखि भान्सासम्म प्रयोग भइरहेको प्लाष्टिकको उत्पादन खनिज तेल वा ग्यासलाई परिवर्तन गरी ठोस स्वरुपमा ल्याएर गरिन्छ। 

मूलरुपमा प्लाष्टिक सिंथेटिक पोलिमर हो, जस्मा धेरै कार्वनिक तथा अकार्वनिक यौगिक हुन्छन, जो धेरै जसो पेट्रो–केमिकल्सबाट प्राप्त हुन्छ।

प्लाष्टिकको कम घनत्वको स्वरुपलाई पोलिथिन व्याग जस्ता स्वरुपमा निर्माण गरिन्छ भने उच्च घनत्व भएको स्वरुपलाई विभिन्न प्लाष्टिकका समानहरु जस्तै बाल्टी, भाँडाकुँडा, बोरा, बोतल आदि रुपमा निर्माण गर्न सकिन्छ। 

एक टन प्लाष्टिक बनाउन करिब ११ ब्यारेल खनिज तेलको प्रयोग हुन्छ। प्लाष्टिक निर्माण एउटा जटिल कार्य हो र यो निर्माण गर्दा खतरनाक रसायनहरु प्रयोग गरिन्छ। प्लाष्टिक निर्माण गर्दा एथिलिन अक्साइड, जायालिन, बोन्जिन जस्ता रसायनहरुको प्रयोग हुन्छ र निर्माण प्रक्रियामा हानिकारक पदार्थहरु निष्काशन हुन्छ, जस्को व्यावस्थापन गर्नु एउटा समस्याको रुपमा रहेको पाइन्छ। 

संसारमा मूलभूत रुपमा क्यान्सरको कारण प्लाष्टिकजन्य पदार्थको उपयोगबाट हुन गइरेहको छ। यदि तातो खानेकुरा तथा पेय पदार्थको लागि प्लाष्टिकको भाँडा तथा कपको प्रयोग गर्दछौं भने यसबाट अति हानिकारक विषादी निर्माण हुन्छ। यसबाट क्यान्सर हुने सम्भावना बढी हुने विज्ञहरुको तर्क छ। प्लाष्टिक पानीमा मिसिंदा र घामको रापमा, रासायनिक प्रक्रिया भई हानिकारक पदार्थ निर्माण भई पानी नै दूषित हुन जान्छ।

सामान्य पातलो प्लाष्टिक नष्ट हुन कम्तिमा २ सय वर्ष र मोटो खालको प्लाष्टिक नष्ट हुन एक हजार वर्ष लाग्ने प्रदेश नं ५ वातवरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले बताए। उनले भने , ‘प्लाष्टिक यस्तो पदार्थ हो यो जहाँ हुन्छ त्यसैलाई नोक्सान पुर्याउछ।’ चौधरीका अनुसार प्लाष्टिकमा हुने सुक्ष्म रसायनहरुले मानवीय स्वास्थ्यमा ठूलो समस्या निम्त्याइरहेका हुन्छन्। अर्कातिर यसले पर्यावरणमा पनि समस्या निम्त्याउछ।

नगरपालिकाले सरोकारवाला संघ–संस्थाहरुसँगको साझेदारीमा २०७५ वैशाख १ गतेदेखि प्लाष्टिक निषेधित अभियान सञ्चालन गरी जनचेतनामूलक कार्यक्रम गरेको थियो।
प्रतिक्रिया दिनुहोस्