मंगलबार, मंसिर २४, २०७६

समाचार

यस्तो छ नेपाल भारतबीच पानीको द्वन्द्व

जब जब जलस्रोतको कुरा आउँछ, नेपाल र भारतको सम्बन्ध कहिल्यै सहज भएन।

यस्तो छ नेपाल भारतबीच पानीको द्वन्द्व
जब जब जलस्रोतको कुरा आउँछ, नेपाल र भारतको सम्बन्ध कहिल्यै सहज भएन।

विवादास्पद अन्तरसीमा जलव्यवस्थापन सन्धिहरू - कतिपय त दशकौँ पुराना - तथा नयाँ आयोजना सुरु गर्न हुने अन्तहीन ढिलाइ यसका निम्ति जिम्मेवार छन्।

तर पछिल्ला समयमा दुई देशको सम्बन्ध बर्खायाममा- जुन महिना देखि सेप्टेम्बरसम्म - अझ खराब हुन थालेको छ।

यस वर्ष बाढीले सीमाको दुवैतिर एवं बाङ्ग्लादेशमा समेत दर्जनौँ मानिस मारिएका छन्। भारत र नेपालबीच झन्डै १८ सय किलोमिटर लामो खुला सिमाना छ।

नेपालबाट छ हजारभन्दा धेरै नदीनाला बगेर उत्तर भारत पुग्छन्। तिनले सुख्खा याममा गङ्गा नदीको जलप्रवाहमा ७० प्रतिशत योगदान दिन्छन्।

त्यसैले जब जब यी नदीमा जलप्रवाह अधिक हुन्छ तब तब बाढीको पानीले नेपाल र भारतका समथर मैदानमा विनाश ल्याउँछ। हालसम्म हुने गरेको त्यही हो।

संरचनाका परिणाम

तर पछिल्ला वर्षमा नेपालपट्टिको भूभाग नै अधिकांश डुबानमा पर्न थालेका छन्।

नेपालका अनुसार सिमानामा बनाइएको बाँधजस्ता संरचनाको अवरोधले बाढीको पानी स्वाभाविक रूपमा भारततर्फ बग्न नपाएका कारण यसो हुन थालेको हो। दुई वर्ष अगाडि पूर्वी नेपालमा गरिएको अनुसन्धानमा, बीबीसीले भारतीय क्षेत्रमा बाढीको पानी रोक्ने किसिमका संरचना बनाइएको देखेको थियो।

त्यो उही ठाउँ हो जहाँ निर्माण गरिएको तटबन्धलाई लिएर नेपालले आपत्ति जनाएपछि दुवैतर्फका स्थानीयबासिन्दाबीच झडप भएको थियो।

नेपाली अधिकारीहरूले करिब १० वटा त्यस्ता संरचना रहेको र त्यसका कारण नेपालको दशौँ हजार हेक्टर जग्गा डुबानमा पर्ने गरेको बताएका छन्।

भारतीय अधिकारीहरूले ती संरचनाहरूलाई सडक भन्ने गर्छन्। तर नेपाली विज्ञहरूले चाहिँ ती सीमावर्ती क्षेत्रमा रहेका भारतीय गाउँहरूलाई डुबानबाट जोगाउन बनाइएका तटबन्ध भएको बताउँछन्।

सीमावर्ती रौतहटको गौर अघिल्लो हप्ता तीन दिन डुबानमा पर्‍यो र त्यहाँ अधिकारीहरूले झडप हुनसक्ने लख काटे।

"ठूलै सकसपछि भारतीय तटबन्धको पछाडिपट्टि रहेका दुईवटा ढोका खुला गरिए र त्यसले हामीलाई मद्दत गर्‍यो," सशस्त्र प्रहरी बलका उपरिक्षक कृष्ण ढकालले बीबीसीसँग भने। भारतीय अधिकारीहरू प्रतिक्रिया दिन उपलब्ध भएनन्।

वर्षाले काठमाण्डू र वरपरका बस्तीहरूमा डुबानको स्थिति पैदा भएको थियो । दुई देशहरूले यस विषयमा वर्षौँदेखि बैठकहरू गरिरहेका छन् तर अहिलेसम्म अवस्था खासै फेरिएको छैन।

अधिकांश नेपाली वार्ताकार तथा कूटनीतिज्ञहरूले यो विषय आफ्ना भारतीय समकक्षीहरूसँग दह्रो गरी उठाउन नसकेको भनेर आलोचना खेपेका छन्।

भारतले ब्यारेज सञ्चालन गर्छ

जब कोशी र गण्डकी जस्ता गंगाका ठूला सहायक नदीहरूमा बाढी आउँछ, त्यसले भारतको पूर्वी राज्य बिहारमा सबैभन्दा बढी असर गर्छ। र, कोशी ब्यारेजका ढोकाहरू खोलिदिएको र तल्लो तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई जोखिममा पारिदिएको आरोप नेपालमाथि बारम्बार लगाइने गर्छ।

तर नेपालमा रहे पनि दुवै नदीमा रहेका ब्यारेज सञ्चालन भारतले गर्ने गर्छ।

सन् १९५४ मा हस्ताक्षरित कोशी र सन् १९५९ मा हस्ताक्षरित गण्डक सम्झौताले भारतलाई त्यस्तो अधिकार दिएको हो।

ती ब्यारेजहरूको निर्माण भारतले मुख्यगरी बाढी नियन्त्रण सिँचाई र जलविद्युत उत्पादनका लागि गरेको थियो। तर स्थानीय समुदायलाई खासै लाभ दिएको नदेखिएकाले तिनीहरू नेपालमा विवादित छन्।

तर भारतीय सरकारले त्यसलाई अन्तरसीमा जल सम्बन्धी सहकार्य र व्यवस्थापनको उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेको छ।

कोशी ब्यारेज मात्रैका ५६ वटा ढोका छन्। प्रत्येक चोटी बर्खायाममा कोशीको पानी खतराको तहमा पुग्दा नेपाली अधिकारीहरू भारतले सबै ढोका खुल्ला नगर्दा नेपाली बस्तीहरू जोखिममा परेको भन्दै आलोचना गर्छन्।

बिहारको दु:ख भनेर लामो समयदेखि परिचित कोशी नदीको बाढीले कैयौँ पटक ठूलो धनजनको क्षति गराएको छ। सन् २००८ मा कोशीको तटबन्ध फुट्दा हजारौँले ज्यान गुमाएका थिए भने नेपाल र भारतका ३० लाख मानिस प्रभावित भएका थिए।

अहिले ब्यारेज निर्माण भएको ७० वर्ष भएको छ र ठूलो बाढीले त्यसलाई क्षति गराउने चिन्ताहरू पनि व्यक्त हुने गरेका छन्।

भारतले ब्यारेजको उत्तरमा बाँध बनाउने तयारी गर्दै आएको छ जुन नेपाली भूमिमा नै निर्माण गरिनेछ।

नेपाल: बाढी नियन्त्रणको प्राकृतिक प्रतिरक्षा गुमाउँदै

नेपालका धेरै नदीहरु जटिल पर्यावरण र जोखिममा परिसकेको चुरे पर्वत श्रृंखला हुँदै बग्ने गरेका छन्।

ती पर्वतहरूले कुनै बेला नदीको जल प्रवाहलाई नियन्त्रण गर्थे र भारत र नेपालमा बाढीले ल्याउनसक्ने क्षतिलाई कम गराउँथे। तर वन विनाश र भू-उत्खननले उक्त पर्वतलाई अस्थिर बनाएको छ।

हालैका वर्षमा निर्माण क्षेत्रमा देखिएको तीव्र वृद्धिका कारण नदीबाट ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्ने क्रम निकै बढेको छ। भारतको उत्तर प्रदेश र बिहारका पूर्वाधार उद्योगहरूले पनि सो क्षेत्रका प्राकृतिक श्रोतको विनाशलाई प्रोत्साहन गरिरहेका छन्।

र यी प्राकृतिक रक्षाकवचहरूको विनाशसँगै बर्खायामका बाढीहरू नियन्त्रण बाहिर पुगेको अधिकारीहरू बताउँछन्।

केही वर्षअघि एउटा बहुचर्चित संरक्षण अभियानको घोषणा गरिएको भएपनि त्यो त्यसै सेलाएको थियो। अहिले प्राकृतिक श्रोतको दोहन भयावह तहमा पुगेको छ।

उक्त क्षेत्रको पर्यावरण नेपालको अन्न भण्डारका रूपमा परिचित तराईको भविष्यका लागि मात्र नभई भारतको उत्तर प्रदेश र बिहारका लागि पनि महत्त्वपूर्ण रहेको छ।

वन विनाश र उत्खनन नियन्त्रण नगरेर नेपालले बाढीको जोखिम थप बढाएको भारतको आरोप छ।

अहिले जलवायु परिवर्तनले बर्खा स्वयंलाई अनिश्चित बनाउँदै गर्दा यी दुई छिमेकीबीचका मुद्दाहरू अझ पेचिलो बन्नसक्ने विज्ञहरू चेतावनी दिन्छन्।
प्रतिक्रिया दिनुहोस्