धादिङ- धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगाएको छ।
तीन दिनदेखिको वर्षाका कारण सोमबार राति खोलामा आएको बाढीले उद्योग बगाएको हो ।
ताल्तीस्थित खोलालाई नियन्त्रण गरी सिमेन्ट उद्योगको निर्माण थालिएको थियो। अकस्मात उर्लिएको खोलाले उद्योग नै बगाई दिएको छ।
रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमै फसेका थिए । उनीहरुलाई स्थानीय र प्रहरीले सोमबार बिहान उद्दार गरेका छन् । दुबैतर्फ खोला बगेकोले बिच भागमा रहेको फलामका पोलहरुमा समातेर उनीहरु बचेका थिए ।
१५ अर्वको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले उद्योग निर्माण सुरु गरेको ४ महिना भएको छ । उद्योग ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।