शुक्रबार, मंसिर ६, २०७६

समाचार

मर्जरका लागि २० बैंकले लेखे पत्र, सरकारी बैंकसहित ८ मौन

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगावै बिग मर्जरका लागि वाणिज्य बैंकहरुलाई दबाब दिन थालेपछि अहिलेसम्म २० वटा वाणिज्य बैंकहरुले मर्जरका लागि पत्र लेखेका छन् ।

मर्जरका लागि २० बैंकले लेखे पत्र, सरकारी बैंकसहित ८ मौन
काठमाडौं–नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगावै बिग मर्जरका लागि वाणिज्य बैंकहरुलाई दबाब दिन थालेपछि अहिलेसम्म २० वटा वाणिज्य बैंकहरुले मर्जरका लागि पत्र लेखेका छन् । तर सबै बैंकहरु मर्जरमा जान लागि तयार भएर पत्र लेखेका भने हैनन् । केही बैंकहरुले मर्जरको बारेमा रिजर्भेसन सहित पत्र लेखेका छन् ।

स्ट्यान्डर्ड चार्टड बैंकले मर्जरका लागि तयार नभएको स्पष्ट पारेको छ। उसले मर्जरका लागि विदेशी लगानीका बैंकहरुलाई दबाब नदिन पनि आग्रह गरेको छ । बैंकले आफ्नो बैंकसँग नेपालका कुनै पनि बैंकहरु ठिक नहुने भन्दै विदेशी लगानीका बैंकहरुलाई मर्जरमा जान दबाब नदिन राष्ट्र बैंकलाई आग्रह गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

नेपालका अन्य बैंकको भन्दा स्ट्यान्डर्ड चार्टड बैंकमा काम गर्ने संस्कार, सेवासुविधालगायतका कुराहरु धेरै नै फरक छ । त्यसैले पनि उसले आफूलाई नेपालका कुनै पनि बैंक फिट नहुने दाबी गरी राष्ट्र बैंकमा पत्र लेखेको हो । चार्टड बैंकमा करिब ७० प्रतिशत विदेशी लगानी छ ।

त्यस्तै यही लाइनमा नेपाल एसबीआई बैंक पनि रहेको छ । नेपालमा बैंकिङ क्षेत्रमै लेटेस्ट प्रविधि भित्र्याउने र पु्रडेन्ड प्राक्टिसहरु अलवम्बन गर्ने बैंकका रुपमा राष्ट्र बैंकले एसबिआईलाई लिँदै आएको छ । बंैकलाई मर्जरको निर्णय गर्न भारत सरकारको पनि सहमति चाहिन्छ । एसबिआई बैंकमा स्टेट बैंक अफ इन्डियाको ५४ प्रतिशत लगानी रहेको छ । एसबिआइ बैंकले मर्जरका लागि एभरेस्ट बैंकसँग अनौपचारिक कुरा गरिरहेको बैंक स्रोतको दाबी छ । एभरेस्ट बैंकमा पनि भारतको पन्जाव नेसनल बैंकको लगानी छ ।

त्यसैगरी हिमालयन बैंक पनि मर्जरका लागि तयार देखिएको छैन । राम्रो जोडी पाए मर्जरमा जाने आशयको पत्र लेखे पनि मर्जरका लागि तयार भने रहेको छैन । २० प्रतिशत विदेशी लगानी भएको हिमालयन बैंकले आफंैमा ठूलो आधार रहेकाले मर्जर आवश्यक छैन भन्ने आशयको पत्र राष्ट्र बैंकमा पठाएको छ ।

गत शुक्रबार जनता बैंक ग्लोबल आइएमइ बैंकमा मर्ज हुने सम्झौता भइसकेको छ। अझ थप बैंकहरु पनि मर्ज गर्न तयार रहेको भन्दै ग्लोबल बैंकले राष्ट्र बैंकमा पत्र पठाएको हो ।

बुधबारसम्ममा एनएमबी, सनराइज, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी, एनसिसी, सानिमा, सिभिल, माछापुच्छ्रे, सेन्चुरी,ग्लोबल आइएमइ, जनता, नेपाल इन्भेस्टमेन्ट, एनआइसी एसिया कुमारी, मेगा, प्रभु एसबिआई, हिमालयन स्ट्यान्डर्ड चार्टर्ड बैंकले मर्जरको विषयमा पत्र लेखी राष्ट्र बैंकमा बुझाएका छन् ।

तर तीनवटा सरकारी बैंक (नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक) ले भने मर्जरका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

त्यसैगरी निजी क्षेत्रको बैंकहरुमा एनबी बैंक, नबिल, सिद्धार्थ, बैंक अफ काठमाण्डू, एभरेस्ट बैंकले मर्जरको बारेमा आफ्नो धारणा राष्ट्र बैंकसमक्ष पेस गरेका छ्रैनन् ।

राष्ट्र बैंकमा पत्र पठाएका सबै बैंकहरुले बैंकर्स संघमा भएको छलफल अनुसार मर्जर समिति गठन गर्ने विषय उल्लेख गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘हामीले बैंकहरुले पठाएका पत्र अध्ययन गरिरहेका छौं’, ती अधिकारीले भने, ‘कतिपयले मर्जरमा जान अनौपचारिक कुरा भइरहेको र मर्जर आफ्नो प्राथमिकतामा रहेको बताएका छन् भने कतिपयले मर्जरका विषयमा केही रिजर्भेसनसहित पत्र पठाएका छन्।’

राष्ट्र बैंकमा पत्र नपठाएको नबिलले भने आफूहरु विदेशी बैंकसँग मर्ज गर्ने बताउँदै आएको छ । एक कार्यक्रममा अनौपचारिक कुराकानीमा बैंकका अध्यक्ष अनिल शाहले भने, ‘हाम्रो मर्जर विदेशी लगानीको बैंकसँग मात्र हुन्छ, त्यसका लागि गृहकार्य भइरहेको छ ।’

बैंकमा मर्जरका लागि कुनै प्रस्ताव नपठाएका बैंकहरुले भने मौद्रिक नीतिको प्रतीक्षामा छन् । मौद्रिक नीतिमा नै यस बैंकसँग यो बैंक भनेर तोकिएर आएमा मात्र मर्जरमा जाने दाउमा उनीहरु छन् ।

बैंकहरुकै आग्रहमा मर्जर नीति ल्याउन लागिएको भन्दै गत सोमबार राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीतिको छलफलमा गभर्नर डा.चिरञ्जीवी नेपालले बैंकका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई इंगित गर्दै भनेका थिए, ‘बैंकहरु मर्जरमा जानुपर्यो भनेर गभर्नरलाई नभनी अर्थमन्त्रीसमक्ष माग लिएर जाने तपाईंहरु नै हो, अहिले मर्जका लागि तयार हुनुपर्यो भन्दा किन विभिन्न बहाना बनाउनुहुन्छ ?’
प्रतिक्रिया दिनुहोस्