सोमबार, मंसिर २३, २०७६

समाचार

सरकारप्रति आक्रमक बन्दै राजपा, संसद चल्न नदिने तयारी

प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सरकारप्रति आक्रमक बन्दै गएको छ। उसले संघीय संसद अवरुद्ध गर्ने निष्कर्षमा पुगेको छ।

सरकारप्रति आक्रमक बन्दै राजपा, संसद चल्न नदिने तयारी
काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सरकारप्रति आक्रमक बन्दै गएको छ। उसले संघीय संसद अवरुद्ध गर्ने निष्कर्षमा पुगेको छ।

दुई बुँदे सहमति गरेर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको राजपाले सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइएपछि समर्थन फिर्ता लिएको थियो।

समर्थन फिर्तापछि विभिन्न माग राखी सरकारलाई ध्यानाकर्षण गराउँदै आएको राजपा अहिले झनै आक्रमक बनेको छ।

संसदको अघिल्लो अधिवेशनबाटै राजपाले मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ। पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आवश्वासन प्रधानमन्त्री ओलीले दिए पनि हालसम्म प्रतिवेदन सार्वजनिक भएको छैन।

सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक रुलिङ्ग गरेका छन्। तर सरकारले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन।

आइतबारको प्रतिनिधिसभा बैठकमा आक्रमक हुँदै राजपाका नेताहरुले संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

सर्लाहीमा मारिएका सरोजकुमार सिंहको विषयमा आक्रमक हुँदै सांसद प्रमोद साहले आफूँहरु बाध्य भएर संसद अवरुद्ध गर्ने अवस्थामा पुग्न लागेको बताए।

राजपा संसदीय दलको प्रमुख सचेतक लक्ष्मणलाल कर्णले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिए अव संसद अवरुद्ध गर्ने चेतावनी दिए। कर्णले संविधान संशोधनको विषयलाई पनि ओझेलमा पारिएको दाबी गरे।

नेपालसमयसँग कुराकानी गर्दै प्रमुख सचेतक कर्णले भने, ‘सरकारले हामीसँगको दुई बुँदे सहमति पालना गरेन। हाम्रा निर्वाचिन सांसदलाई जेलमा हाले। संविधान संशोधनको कुरा सुन्नै मानेनन्। त्यसकारण हामीले त्यसबेला सरकारबाट समर्थन फिर्ता लियौं।’

मधेशी दलसँग यसअघि पनि भएका सम्झौताहरु सरकारले पालना नगरको स्मर्ण गर्दै कर्णले भने, ‘सरकारले पहिलेदेखि नै हामीलाई ठग्दै आएको छ। सरकारले नै गठन गरेको छानविन आयोगको प्रतिवेदनसमेत सार्वजनिक गर्न मान्दैन। प्रतिवेदन सार्वजनिक गर्न सरकार किन डराएको?’

सडक आन्दोलनमा जानुअघि संसदमै दबाब दिने तयारी आफूहरुको रहेको बताउँदै कर्णले भने,‘पहिलो चरणमा हामी संसदमा कठोर भएर प्रस्तुत हुँदैछौं। त्यसपछि सडक त छँदैछ।’

सरकारले आफूहरुको माग पुरा नगरे संसद अवरुद्ध गर्ने निष्कर्षमा पुगेको कर्णले भने,‘अव धेरै दिन टुलुटुलु बसेर, संसदमा कराएर सरकारलाई पुगेन। अव अवरुद्ध गरेर हामी अगाडि बढ्ने निष्कर्षमा पुगेका छौं। त्यसको जिम्मेवार सरकार स्वयम् हुनेछ।’

राजपाकै अर्का सांसद चन्दा चौधरीले पनि आक्रमक हुँदै संसद अवरुद्ध गरेर अगाडि बढ्ने चेतावनी दिइन्।

राजपाले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्दा मधेश आन्दोलनको छानविन गरी क्षतिपुर्ति, सहिद घोषणा तथा मुद्दा खारेजको विषयमा सहमति गरेको थियो। संविधान संशोधन गर्ने विषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड सहमत भएका थिए।

तर, हालसम्म मधेश थरुहट आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता भएको छैन भने टीकापुर घटनाका आरोपितहरुलाई जन्मकैदको फैसला सुनाइएको छ।

राजपाको मुख्य माग संविधान संशोधनका विषयमा सरकारले कुनै कदम उठाएको छैन। सरकारबाट समर्थन फिर्ता लिएपछि राजपा र सरकारबीचको सम्वाद पनि समाप्त भएको राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले बताएका थिए। 
प्रतिक्रिया दिनुहोस्