सोमबार, मंसिर २३, २०७६

समाचार

भारतीय गाडीले यात्रु ओसार्दै, नियामक निकाय मौन 

वर्षमा ३० दिन नेपाल बस्न पाउने कानूनी सुविधाको दुरुपयोग गर्दै भारतीय नम्बर प्लेटका चारपांग्रे गाडीहरु वर्षौँसम्म नेपालमा घुमिरहेको पाइएको छ।

भारतीय गाडीले यात्रु ओसार्दै, नियामक निकाय मौन 
भैरहवा- वर्षमा ३० दिन नेपाल बस्न पाउने कानूनी सुविधाको दुरुपयोग गर्दै भारतीय नम्बर प्लेटका चारपांग्रे गाडीहरु वर्षौँसम्म नेपालमा घुमिरहेको पाइएको छ।

भारतबाट नेपाल आउन चाहने गाडी धनीले अस्थायी सवारी सुविधा प्रतिदिनको ४ सय ५२ रुपैया तिरेर भन्सारबाट लिन पाउने प्रावधान छ। सोही प्रावधानको दुरुपयोग गदै सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका गाडीहरुले खुलेआम अबैध कारोबार गरिरहेका छन्। भारतीय गाडीहरु व्यवसायिक रुपमा दिनहुं नेपालमा आई यात्रु ओसारपसार गर्ने गरिरहेका छन्। 

भारतीय नम्बर प्लेटका चारपांग्रे गाडीहरुले रुपन्देहीको सीमावर्ती क्षेत्र बेलहियामा अबैध कारोबार गरिरहँदा स्थानिय प्रहरी प्रशासन भने मुक दर्शक बनेर बसेको छ।  नेपालको कानुनले निजी नम्बर (रातो प्लेट) का गाडीहरुलाई यात्रु ओसारपसारमा रोक लगाएको छ। जसको कारण यात्रु बोक्ने साधनको रुपमा भाडाका गाडी (कालो प्लेट) तथा पर्यटक गाडी (हरियो प्लेट) का गाडी प्रयोग हुने गर्दछ। 
 
भारतीय नम्बर प्लेटका गाडीहरुले गैरकानुनी रुपमा नेपालमा यात्रु बोक्ने र रिजर्भमा हिड्ने गरेको पाईएको छ। नेपाली रातो नम्बर प्लेटका गाडीलेसमेत निजी यात्रु ओसार पसार गर्न नपाउने कानुनी प्रावधान छ। तर भारतीय निजी गाडीहरु भने नेपाली भूमिमा निर्वाध रुपमा यात्रु रिर्जभ गरेर हिँडिरहेका छन्। 

भारतीय गाडीहरुले भन्सार सहुलीयतको दुरुपयोग गर्दै ट्राभल्स व्यवसायीलेझै काम गरिरहेका छन्। उक्त कार्यमा सन्तोष चौधरीको यु पी ३२ डिएस ६६५८ (इन्नोभा), सुन्दर पान्डेको युपी १६, डि ११६८ (स्कारपीयो), होमनाथ लम्सालको युपी ६१ पी ४९९९ (इन्डीगो), लक्ष्मण पाण्डेको युपी ०७ भि ४५३५ (स्कारपीयो), सन्तोष जैसवालको युपी ५३ बि ६६७० (इटिअस), कौशल पण्डितको युपी ५३ अ २९९८ (इन्डीगो), देबिन्द्र हरिजनको युपी ५५ एच २९०० प्रयोग भईरहेका छन्।  

यी गाडीहरु भन्सार सहुलियतको दुरुपयोग गरी अवैध रुपमा नेपालमा बस्ने र नेपालमा रिजर्भमा सञ्चालन हुने गरेका छन्। भन्सार सहुलीयतमा आउने यी गाडीले गरिरहेको अवैध कृयाकलापलाई न ट्राफीक प्रहरीले देखेको छ नत नेपालको कुनै अन्य कुने सरोकारवाला निकायले। 

स्रोतका अनुसार ट्राफिक प्रहरीले भारतीय गाडीको अवैध कृयाकलापको ज्ञान भएता पनि प्रभावमा परेर केही गर्न नसकेको बुझिएको छ। भारतीय गाडीहरु नेपाल प्रवेश गर्दा प्रतिदिनको ४ सय ५२ रुपैया तिरेपछि अस्थायी सुविधा दिने गरिएको भैरहवा भन्सार कार्यलयका सूचना प्रमुख कलिराम पौडेलले बताए।

उनले भने, ‘वर्षभरीमा जम्मा ३० दिन नेपाल बस्न पाउने कानूनि प्रावधान हो। म्याद सकियो भने गाडीसहित भन्सारमा आएर पुनः म्याद थपेपछि मात्र नेपालमा चलाउन पाईन्छ। तर ३० दिन भन्दा बढी नेपालमा चलाउन पाइन्न वर्षभरीमा।’

भन्सार सुविधाको लागि कारको ४ सय ५२ र मोटरसाइकलको १ सय १३ रुपैयाँ राजस्व तिर्नुपर्छ । राजस्व तिरेर पास लिएका सवारी वर्षमा २९ दिनसम्म नेपालभित्र रहन पाउने प्रावधान रहेको भन्सारले बताएको छ। 

जिल्ला ट्राफीक प्रहरी कार्यलय रुपन्देहीका प्रमुख बेद पौडेलले भने भन्सार सुविधा लिएको गाडी कति पटक नेपाल आयो भन्ने कुरा आफुहरुलाई थाहा नहुने बताए। उनले भने, ‘हामीले कागज हेछौं, सुविधा हुन्छ अनि छाडिदिन्छौं।’
 
प्रतिक्रिया दिनुहोस्