सोमबार, मंसिर २३, २०७६

समाचार

भागबन्डाले भताभुंग कांग्रेस : केन्द्रीय समितिमा आज के होला ?

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । महाधिवेशन भएको तीन वर्षसम्म पनि आन्तरिक भागबन्डा र विवादमा अल्झिएको कांग्रेसको आइतबार बस्ने बैठकमा महत्वपूर्ण एजेन्डामा  गहन छलफल र ठोस निर्णय हुने संभावना कम छ ।

भागबन्डाले भताभुंग कांग्रेस : केन्द्रीय समितिमा आज के होला ?
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । महाधिवेशन भएको तीन वर्षसम्म पनि आन्तरिक भागबन्डा र विवादमा अल्झिएको कांग्रेसको आइतबार बस्ने बैठकमा महत्वपूर्ण एजेन्डामा  गहन छलफल र ठोस निर्णय हुने संभावना कम छ ।

बैठकको पूर्वसन्ध्यामा देखिएको असन्तुष्ट पक्षको भेला, गुटगत सक्रियता र संस्थापन पक्षको बचाउ रणनीतिका कारण केन्द्रिय समिति अनिर्णयको बन्दी हुँदै आएको छ । आन्तरिक कचिगंलमा बढी अल्झिँदा कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिमा समेत कमजोर हुँदै गएको चिन्ता कांग्रेसका नेता कार्यकर्ताबाट व्यक्त हुन थालेको छ । 

गुटबन्दी र आन्तरिक भागबन्डाका कारण कांग्रेसको आन्तरिक जीवन अस्तव्यस्त भएको छ भने संगठन लथालिंग जस्तै भएको छ । महाधिवेशन भएको दुई महिनामा गठन हुनुपर्ने विभाग र समिति तीन वर्षसम्म पनि पूर्णता पाउन सकेको छैन । विधानमा ३० वटा विभागको व्यवस्था छ ।संघीय संरचनाअनुसारको नयाँ विधान पारित भए पनि कार्यान्वयन हुन सकेको छैन । 

१३औं महाधिवेशन सम्पन्न भएको  तीन वर्ष बितिसकेको छ । कांग्रेसको २० देखि २३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो । विधानअनुसार आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने प्रावधान छ । त्यसका लागि कुनै तयारी भएको छैन र संरचना पनि तयार गरिएको छैन । संगठनको ढुकढुकीका रुपमा क्रियाशिल भातृसंस्थाहरु विघटन भएर निश्कृय अवस्थामा अलपत्र अवस्थामा छन् । 

केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन् ।  कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ । तर,जिल्ला समिति र केन्द्रीय समितिबाहेक अरू संरचना बन्न सकेको छैन । 

कांग्रेसले गत ८ पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पार्टीको विधानलाई टुंगो लगाएर गत १२ फागुनमा बसेको पार्टी केन्द्रीय समिति बैठकबाट अन्तिम रूप दिए कार्यान्वयन हुन सकेको छैन । महासमितिले गरेको निर्णय उल्टाएको भन्दै असन्तुष्ट पक्षले विरोध गर्दै आएको छ । 

आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशनका लागि नयाँ विधानअनुसार पार्टी संरचना तयार गर्नुपर्ने, भातृ संस्थाहरुलाई क्रियाशिल बनाउनुपर्ने, महासमितिको बैठकका बेला भएको समझदारीको कार्यान्वयन गर्नेलगायतका विषयलाई प्रमुख एजेन्डाका रुपमा उठाउने तयारी गरेको छ । महाधिवेशनलाई सकेसम्म टार्ने खेल संस्थापन पक्षबाट भइरहेको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।

केन्द्रीय समिति बैठकका एजेन्डा

भ्रातृ र शुभेच्छुक संस्थाको महाधिवेशन, 

तत्कालीन विजयकुमार गच्छदार पार्टीसँग भएको एकताको बाँकी काम, 

जागरण अभियानको प्रतिवेदन बुझ्ने, 

समय सकिएका भ्रातृसंस्थालाई समय थप्ने 

महाधिवेशनको तयारीका विषयमा समेत छलफल गर्ने एजेन्डा छन् ।  

पौडेल–सिटौला पक्षका एजेन्डा

नेविसंघको महाधिवेशन पार्टीले गर्नुपर्ने

नेविसंघमा तदर्थ समिति बनाउनुभन्दा पाँच महिनाभित्र कांग्रेसले नै निर्वाचन समिति बनाएर १२औँ महाधिवेशन गर्नुपर्ने हो । तदर्थ, समिति बनाउँदा फेरि चार वर्ष जाने र नेविसंघमा झन् अन्योल छाउने मत । 

६ महिनाभित्र महाधिवेशन

कांग्रेसका गठन गर्न बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने ।

महाधिवेशन समयमै गर्ने वा सार्ने तय गरिनुपर्ने १४औँ महाधिवेशन सार्ने हो वा समयमै गर्ने हो यसको घोषणा तत्काल गरी त्यसैअनुसार अघि बढ्नुपर्ने उनीहरूको माग छ। 

संरचनामा निर्वाचन

पार्टीका वडादेखि प्रदेशसम्मका संरचना विधानमा संक्रमणकालीन खण्डमा व्यवस्था भएको निर्वाचनअनुसार नै पूरा गर्नुपर्ने । 

विभागमा भागबन्डा
​​​​​​
विधानअनुसार गठन गर्नुपर्ने ३० केन्द्रीय विभागमध्ये मुख्यमा भागबन्डा गर्नुपर्ने । संगठन, प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, संघीय मामिला तथा स्थानीय, पेसागत तथा बुद्धिजीवीसहितका महत्वपूर्ण  विभागमा सम्मानजनक सहभागिता भन्दै भागबन्डा खोज्ने । 

क्रियाशील सदस्यका लागि नीति

क्रियाशील सदस्यता वितरणका लागि नीति नै पास गर्नुपर्ने मत यो पक्षको छ । हचुवाको भरमा सदस्यता वितरण नगरी मापदण्ड बनाउनुपर्ने माग उनीहरूको छ । 

केन्द्रीय सदस्य निर्वाचनबाट आउनुपर्ने

यसअघि महासमिति बैठकको समापनमा सभापतिसहित नेता पौडेलले केन्द्रीय सदस्य पनि निर्वाचित भएर आउनुपर्नेमा सहमति जनाएको भन्दै पौडेल–सिटौला पक्षले यो विषयलाई फेरि उठाउने तयारी गरेको छ । 
प्रतिक्रिया दिनुहोस्