मंगलबार, कात्तिक २६, २०७६

विचार

कम्युनिस्टका धेरै राजा : आखिर नांगै !

आम स्वाभिमानी नागरिकले राजनीतिको मूल प्रवाहको नेतृत्वका बारेमा 'राजा नांगै छ' भन्नुपर्ने बेला भएको छ । बादशाहको नयाँ लुगा भन्ने कथामा भनिए जस्तै असक्षम र उल्लुले मात्र नदेख्ने हावाको लुगा लगाइदिने ठगहरु, असक्षम र उल्लु भएर जागिर गुमाउन नचाहने आसेपासेहरु, तिनैका कुरा पत्याएर हावाको लुगा लगाएर नांगै बजार घुम्ने राजा र राजा नांगै देखेर पनि भन्ने आँट नगर्ने यो देशका सबै रैतीहरु यो अवस्थाका लागि जिम्मेवार छन् । 

कम्युनिस्टका धेरै राजा : आखिर नांगै !
तीन दशकको निरंकुश पञ्चायती कालरात्रिलाई परास्त गरेर बहुदलीय लोकतान्त्रिक दुनियाँमा प्रवेश गरेको पनि तीन दशक भएछ । नेपाली समाज र मुलुकका लागि यो अवधि लामो भन्न नसकिएला तर हाम्रो जीवनका लागि यो ६ दशक निकै लामो हो । यस अवधिभित्र भएका घटना र परिघटनाले हामीलाई कुनै न कुनै हिसाबले प्रभावित बनाएको छ । केहीको जीवनको रङ गाढा भएको छ भने धेरैको रङ फिका भएको छ । कति छेपारोले जस्तै रङ फेरेर लुटतन्त्रमा रमाएका छन् भने हजारांैकोे जिन्दगी नै समाप्त भएको छ ।
 
हामीले आआफ्ना तहमा आफ्नै, समाज र मुलुकको प्रगतिबारे सुन्दर सपना देखेका थियौं, छौं । ती सपना कसरी पूरा हुँदैछन्, फेरिँदैछन्, फेरिएका छन् या भंग भएका छन् ? विगत तीन दशकलाई फर्केर हेर्दा हाम्रो समाज रुपान्तरणको यात्रा र हाम्रो औकात कस्तो देखिन्छ ? यसबीचमा के भयो के भएन ? अर्थात् के हुनुपर्ने भएन के नहुनु पर्ने पो भयो कि ?  

हामीले चाहेर वा नचाहेर के कस्तो फेरबदल आयो । अहिले लोकतन्त्र आफैँ त महादेव भनेजस्तै उत्तानो परेको छ । पार्टी सरकार र समाजमा यो कतै देखिँदैन । आखिर यसलाई के भयो ? किन यसले तीन दशक नपुग्दै गति छोड्यो र कोमामा गयो ? यी सबाल सम्बोधन गर्न हामी सबैले के गर्न सक्थ्यौँ के गर्‍यौँ के गरेनौँ, अझै पनि के गर्न सक्छौँ? यस्तै पेचिला प्रश्नको जबाफ आफैँलाई र आगामी पुस्तालाई दिनुपर्ने बोझले हामीलाई थकित बनाउँदै लगेको छ । 

दुई तिहाइको दुहाइ दिने सरकार आफ्नै पिसाबको न्यानोमा रमाएर बरालिएको छ । योभन्दा ठूलो विडम्बना के होला र ? सरकार बनेको २० महिना छिमेकीको सहयोगमा काठमाडाैँमा रेल र नेपालसम्म पानीजहाज भित्र्याउने सपना बाँड्दैमा बितेको छ । 

पहिलो, यो आउनै कति लाग्छ ठेगान छैन, आई नै हाले पनि यो रेल र पानीजहाजमा के आउला र के जाला? अहिलेकै जस्तो आउने खानेकुरा र जाने युवा जनशक्ति हो भने हाम्रो समृद्धि कस्तो होला ? दोस्रो, गरिबी, अभाव र विपन्नतामा रातदिन बिताउन बाध्य नेपालीको जीविकोपार्जनका लागि रोजगारी र आम्दानी बढाउने कुनै ठोस योजनाबिना पानीजहाज र रेल चढेर समृद्धि आउने कुरा पञ्चायती राजको विकासको मूल फुटाउने कुराभन्दा कम छ र ? 
   
चिकित्सा शिक्षा विधेयक, एनसेल कर छली, वाइड बडी घोटाला, बालुवाटार जग्गा दलालीले हाम्रा मन र माइतीघर मन्डेलादेखि बानेश्वर चोक वरिपरिको सडक त तातेकै छ ।  त्यसमाथि भरखरै आएको गुठी विधेयकले हाम्रो मनलाई झनै कुण्ठित बनायो । लोकतन्त्र भनेको यस्तो संवादहीनता र अकर्मण्यता हो कि भ्रष्टाचारमा राष्ट्रिय सहमति हुनु नै लोकतन्त्र हो ? सायद नेकपाका स्वच्छ छवि बनाएका शालीन नेताहरुले यसको उत्तर समयमै देलान् नत्र भने तिनको शालीनता र स्वच्छताको मुकुण्डो उत्रन हुन धेरै समय लाग्दैन ।
 
भरखरै बेलायतको प्रधानमन्त्री मे को राजीनामासँगै नयाँ सरकार बनाउन कन्जरभेटिभ पार्टीको संसदीय दलमा आवेदन माग गरियो । यसमा १० जनाले निवेदन दिए । अहिले ५ जनाको बीचमा प्रतिस्पर्धा हुँदैछ । सँगै पार्टीका १ लाख ६० हजार सदस्यले मतदान गरी आगामी प्रधानमन्त्री को हुने भन्ने फैसला दिनेछन् । यो कुरा थाहा पाउने सचेत नेपालीको मनमा नेपालका मूल प्रवाहका राजनीतिक पार्टी र तिनले अख्तियार गरेको लोकतान्त्रिक अभ्यासका नमुना देख्दा कस्तो लाग्छ कुन्नि !  

राजनीतिक पार्टीहरुको इतिहासमा आन्तरिक लोकतन्त्र दुब्लाएको र रजौटा मोटाएको योभन्दा उत्कृष्ट नमुनाबारे अन्त कतै सुनेको छैन । संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र समाजवादको चर्को नारा लगाएर नथाक्ने पार्टी र तिनका नेताहरु यो लोकतन्त्रका रक्षक हुनुपर्नेमा अहिले यसैका भक्षक भएका छन् । यसबारे चूँ सम्म बोल्न नसक्ने रैती कार्यकर्ता दास युगका कमाराकमारी जस्तै निरीह देखिएका छन् । 



शीर्ष स्थानमा गद्दी जमाएका रजौटा लोकतन्त्रका मसिहा बनेका छन् । यिनले नै लोकतन्त्रको पाठ सबैलाई पढाइरहेका छन् । केही यसका आजीवन ठेकेदार छन् भने केही भरखरै खसीको टाउको देखाएर कुकुरको मासु बेच्न बसेका खुद्रा पसले जस्ता छन् । यी सबैका कार्यकर्र्ता फूलपाती समाएर पुराण सुन्न बसेका श्रद्धालु जस्ता देखिन्छन् । 

पहाडमा घिउ खाको मेरो हात सुँघ भनेका भरमा बटुलेको दुई तिहाई मत आममतदाताले फिर्ता लिइसके । मुख्यतः ललितपुर निवासीले माइतीघर मण्डलामा त्यसको प्रमाण भरखरै प्रस्तुत गरेका छन् । हिक्मत छ भने यिनले नमुना मतदान गराएर सरकार चलाउने र प्रतिपक्ष हैसियतको प्रमाणपत्र नवीकरण गरून् । हैन भने सार्वभौम नेपालीलाई यिनको आदेश मान्नुपर्ने किन?

यिनको लोकतन्त्रमाथिको इमानदारीमा अब कसैको भरोसा छैन । कसैले यिनले बाँडेका समृद्धिका सपना पूरा गर्न प्रयास गर्छन् भनेर पत्याएका पनि छैनन् । यो त यिनका घोषणापत्र र यिनले अहिले फेरेको बोलीबाट पनि प्रमाणित हुन्छ । यस्तो दिउँसै देखेका सपना बाँडेर ठगी गर्ने सरकारको नेतृत्व इमानदार नै छैन । 

इमानदार नै भएको भए पनि सरकार चलाउन यिनको योग्यता पनि पर्याप्त छैन । यसबीचमा सरकारले गरेका धेरै निर्णय र व्यवहारले यो सरकार आफ्नै असक्षमताको सिकार हुँदै असफलताको दिनगन्तीमा लागेको पुष्टि हुँदै गएको छ । मुख्यतः यिनीहरु देश र नागरिकप्रति इमानदार छैनन् किनकि यी सरकार सञ्चालन गर्न सक्षम नै छैनन् ।
 
नेपाली समाजले सात दशकभन्दा बढी समय अहिलेको संविधानले व्यवस्था गरेजस्तो जनताले गर्ने लोकतान्त्रिक शासनको परिकल्पनाको प्रतीक्षामा बितायो । विडम्बना ! श्रीपेच नलगाएका राजारजौटा बन्ने होडबाजीमा लागेर दुई तिहाइको बिरासत बोकेको क्रान्तिकारी नेतृत्व पूरै असफल हुने छाँट देखिएको छ । अब कुनै चमत्कार भएन भने यसलाई बचाउन यिनका रैतीले पनि सक्दैनन् ।
 
लोकतन्त्र भनेको मनपरीतन्त्र पनि त हैन नि जे पायो त्यही गर्न । अहिले जे भएको छ राम्रो विचार भएको पार्टी र नेताले गर्दैनन् अनि रैतीले जस्तो कार्यकर्ताले अन्धभक्त भएर बोकेर हिँड्दैनन् । एकआपसको सम्मान र सदभाव, परस्परको अन्तरनिर्भरता, नैतिक बल, अनुशासन, इमानदारीजस्ता सामाजिक सर्तहरुले यो समाज चल्छ । यिनै कुरामा कमी भएर नै हाम्रो समाज निरन्तर विघटनतर्फ उन्मुख हुँदैछ । मान्ने–नमान्ने बेग्ले कुरा, अहिलेका पार्टी, यिनको नेतृत्व र अहिलेकै जस्तो बुद्धि र विवेकले यो समाज र देश फेरिँदैन ।

रैती यो धेरै पाच्य छैन तर अहिलेका मूल प्रवाहका पार्टीका दसौँ लाख कार्यकर्ता जो अहिलेको सरकार र पार्टी नेतृत्वको मनपरी टुलुटुलु हेरेर बसेका छन् या यिनैले बाँडेको समृद्धि सपनामा हराएका छन् । यी रैती नै हुन् । यो नेपाली राजनीतिको आजको तितो यथार्थ हो । अब यिनको चेत फेरिएर यी पार्टी सुधे्रलान् र मुलुक फेरिएला भनेर पर्खिनु भनेको दिउँसै सपना देख्नु बराबर हो । 

मूल करा त आफ्नै घर राम्ररी समाल्न नसकेको नेतृत्वले यो देशको समृद्धिको नेतृत्व समाल्छ भनेर कति पत्याउने हो ? अहिले सबैतिर चिन्ता, चासो र दिक्दारी बढेको छ । चाखलाग्दो कुरा के छ भने, दुई पाइलटले चलाउने भनेको नेकपाको जेट एक वर्षदेखि धावनमार्गमै छ । यो उडाउने कुनै छाँट देखिएको छैन । यी दुई पाइलटको उडान प्रमाणपत्र खारेज गरेर नयाँ पाइलट खोज्न ढिला गरे यसका पार्टपुर्जा खिइएर मर्मत गर्न लायक पनि रहँदैन ।
 
हामी सबै मानिस सबै कुरामा उस्तै र उत्तिकै सक्षम छैनौं र हुँदैनौं पनि । एउटा पक्ष वा तहमा सक्षम मानिस सबै तहमा सक्षम हुँदैन । उदाहरणका लागि एउटा असल शिक्षक उस्तै अनुसन्धानकर्ता नहुन सक्छ र राम्रो अनुसन्धान गर्ने व्यक्ति राम्रो पढाउन सक्छ भन्ने हुँदैन वा राम्रो प्राध्यापक विभागीय प्रमुख नै पनि हुन नसक्ला । पार्टी वा गुट चलाउन सिपालु हुँदैमा सरकार चलाउन सक्छ भन्ने हुँदैन । यो ज्ञान, अनुभव र चासो अनि विनम्रतामा धेरै भर पर्छ । सक्षम मानिसहरु स्वाभिमानी हुन्छन् तर अहङ्कारी होइन । गुणी व्यक्ति नझुकेको कहाँ छ र? यस सरकारका हर्ताकर्ताको औकात र चुरीफुरी हेर्दा हग्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै भएको छ ।
 
अन्त्यमा, आम स्वाभिमानी नागरिकले राजनीतिको मूल प्रवाहको नेतृत्वका बारेमा 'राजा नांगै छ' भन्नुपर्ने बेला भएको छ । बादशाहको नयाँ लुगा भन्ने कथामा भनिए जस्तै असक्षम र उल्लुले मात्र नदेख्ने हावाको लुगा लगाइदिने ठगहरु, असक्षम र उल्लु भएर जागिर गुमाउन नचाहने आसेपासेहरु, तिनैका कुरा पत्याएर हावाको लुगा लगाएर नांगै बजार घुम्ने राजा र राजा नांगै देखेर पनि भन्ने आँट नगर्ने यो देशका सबै रैतीहरु यो अवस्थाका लागि जिम्मेवार छन् । 

तत्कालै कुनै चमत्कार भएन र यिनले सुध्रिने छाँट ल्याएनन् भने यिनले  आफ्नै इतिहासमा कालो पोत्ने लक्षण देखिँदैछ । यो भन्दा ठूलो दुर्भाग्य नेपाली समाजको के होला ? यो सरकार र यी पार्टीहरुको बिरासत बोक्ने या नबोक्ने सबैले 'यो भएन र अब यसरी हुँदैन' भन्ने आँट गर्न नसक्ने हो भने हाम्रो भविष्य यात्राको जहाज भ्वाङ पर्ने पक्का छ । यस्तो भयो भने यसमा सवार हामी सबै यिनीसँगसँगै डुब्ने हो । बेलैमा होस गरौँ । 
प्रतिक्रिया दिनुहोस्